जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज पन्तले नियमविपरित सेवाग्राहीबाट रकम लिएमा बर्खास्त गरिने बताएका छन्।
बिहीवार आयोजित एक कार्यक्रममा उनले आफू मातहतको कोही पनि प्रहरीले सेवाग्राहीबाट नियमविपरित नगद तथा जिन्सी सामग्री लिएमा बर्खास्त हुने बताएका हुन्।
‘पछिल्लो समय प्रहरीले विभिन्न सेवाग्राही तथा सवारी चालकसँग रकम असुल्ने गरेको खबर आएको छ,’ उनले भने, ‘यदी त्यस्तो हो भने मलाई सूचना दिनुस्, तत्कालै बर्खास्तको लागि कारबाही प्रक्रिया अगाडि बढाउँछु’ पन्तले सूचना दिने व्यक्तिको नाम गोप्य राख्ने समेत बताएका छन्।
प्रहरी उपरीक्षक पन्त असोज १ गतेबाट जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रमुख भएर आएका हुन् । उनले आफूले बनाएका योजनाहरु व्यवहारमा कार्यान्वयन गर्ने प्रतिबद्धता पनि जनाएका छन्।
चाडपर्वका बेला विभिन्न खालका आपराधिक घटना, जुवातास खेल्ने कार्य नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयले विशेष सुरक्षा संयन्त्र अपनाएको जानकारी दिएका छन्। उनले भने, ‘नजिकै ठूला चाडपर्व आउँदैछन्, यस्तो बेलामा खुला सिमाका कारण आपराधिक घटना हुने गर्छन्। यसलाई नियन्त्रण विशेष सुरक्षा संयन्त्र अपनाएका छौं।’
शान्ति, सुव्यवस्था कायम राख्नका लागि सबैले आफ्नो तर्फबाट सूचना दिएर सक्दो सहयोग गर्न प्रहरी प्रमुख पन्तले आग्रह गरे। प्रदेश राजधानी भएसँगै सुर्खेतमा लागुऔषध दुव्र्यसनी तथा कारोबारको अवस्था बढेकाले यसको नियन्त्रणका लागि पनि जिल्ला प्रहरी कार्यालयले विशेष योजना बनाएको उनले जानकारी दिए।
बसपार्कमा यात्रु सहायता कक्ष
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरेको छ। चाडपर्वका बेला यात्रा गर्ने यात्रुका गुनासाहरु सुन्न सहायता कक्षा सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उदयसिंह सिजापतिले जानकारी दिए।
चाडपर्वमा यात्रु बढी राख्ने र तिव्र गतिमा सवारी चलाउँदा दुर्घटना हुन सक्ने भएकाले रोक्न यात्रु र सवारीधनीलाई सजकता अपनाउन उनले आग्रह गरे।
यात्रु सहायता कक्षमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म यात्रुको गुनासा सुन्ने प्रहरी राखिने उनले जानकारी दिए।