भारत, कोलकाताका रुवी पाल र राजु खुडाइ हरेक वर्ष साउन–भदौतिर सपरिवार काठमाडौं आउँछन्। कुपन्डोलमा बस्छन्। यहाँ आएदेखि नै उनीहरूको व्यस्तता बढ्छ- रातो माटो ल्याउँछन्। वर्षाले खाएको बलेसी सिनित्त र समतल पार्छन्। कमेरोले घरको शिरपुच्छार रंग्याउँछन्।
दसैंमा हामी सबै कुन लुगा लगाउने वा के खाने सोचिरहेका बेला उनीहरूलाई पिरलोले ढ्यांग्रो ठोक्छ– कसरी समयमै काम भ्याउने!
‘राति १ बजेसम्म काममा लाग्छौं, बिहान पनि ६ बजेबाटै काम सुरू गर्छौं,’ रुवी भन्छन्, ‘वर्षमा यही दुई महिना त हो राम्रो कमाइ हुने, काम त खटिएर गर्नुपर्यो।’
रुवी र राजु माटोको मूर्ति बनाउने मूर्तिकार हुन्। विभिन्न देवीदेवता र विशेषगरी दुर्गा माताको मूर्ति बनाउन तल्लीन उनीहरू यो समय दिनरात एक बनाएर खटिन्छन्।
युएन पार्क पार गरेपछि बागमतीको पुल नपुग्दै सडकबाटै उनीहरूको कारखाना देखिन्छ। प्लास्टिकको टहरामुनि रहेको ‘कारखाना’ मा कोही बाँसको भाटामा पराल जोडेर बुख्याँचा बनाइरहेका हुन्छन्। कोही माटो मुछ्दै हुन्छन्। कोही मूर्तिलाई देवदेवताको रूप दिँदै हुन्छन् भने कोही सिँगार्दै।
अझ कोही बुख्याँचाका हातगोडा सुडौल बनाउँछन्। जीउको बान्की कस्छन्। अनुहारमा शृंगार घस्छन्। चहकिला लुगाफाटा र प्रशस्त गरगहनाले सजाउँछन्। अनुहारको भावमा विशेष जोड दिँदै मन्द मुस्कान पनि थप्छन्। ती मूर्तिका आँखा चम्किला र ठूला हुन्छन्। हातमा चक्र, शंख, खुँडा र कमलको फूल। यति भएपछि बुख्याँचाले भगवानको रूप पाउँछ। जुन भगवान बनायो, छेउमा उसको बहान पनि बन्छ- विशेषगरी सिंह र मुसा।
'भगवानअनुसार स्वरूप बनाउनुपर्यो नि,' परालको बुख्याँचालाई मूर्तिको आकार दिइरहेका रुवी भन्छन्।
दसैंका लागि मूर्ति बनाउने उनीहरू हिन्दु नेपालीहरूले जस्तो टीका थाप्दैनन्। न दुर्गा माताको प्रसाद लगाउँछन्। तर पनि नौरथा नलाग्दै उनीहरूलाई दसैंको चटारोले बसेर खुइयय गर्ने फुर्सद पनि दिँदैन।
रुवी र राजुको मात्र होइन, यो बेला परिवारका पूरै सदस्यको हात खाली हुन्न। ‘पोहोर चारवटा ठूलो मूर्ति अर्डर आएको थियो, यसपालि छवटा आएको छ,’ खुट्टाले माटो मुछ्दै राजुले भने, ‘नवरात्रिको अघिल्लो दिन सबै तयार पार्नुछ।’
उनीहरूको व्यस्तता भदौ अन्तिमदेखि नै बढेको हो। असोजमा विश्वकर्मा पूजाका लागि विश्वकर्मा बाबाको मूर्ति बनाउन तल्लीन थिए। टहरामा भरिभराउ थरीथरीका आकृतिले सजिएका विश्वकर्मा बाबाका मूर्ति बिक्न एक दिन नलागेको राजु बताउँछन्।
अब फेरि यी कालिगढका हातहरू दुर्गा, गणेश, लक्ष्मी, सिंह आदिको आकृति बनाउन लागिपरेका छन्। राजुलाई थाहा छ, नौरथा सुरू भएपछि यी मूर्ति उस्तैगरी बिक्नेछन्।
विश्वकर्मा पूजाको एक महिनाअघिबाट उनीहरू माटो, पराल, भुस, रङ लगायत सामग्री जोहो गर्छन्। मूर्ति बनाउन प्रयोग हुने धेरैजसो सामान नेपालकै प्रयोग गर्छन्। बाहिरी भागमा पोत्ने माटो भने भारतबाटै ल्याउनुपर्ने राजुले बताए। ‘मूर्तिको बाहिरी भागमा लगाउने माटो भारतको नदीको राम्रो हुन्छ, त्यहाँको माटो लेस्याइलो भएकाले उतैबाट ल्याउँछौं,’ राजुले भने।
यसरी अनेक ठाउँबाट कच्चापदार्थ जुटाएपछि पनि मूर्तिको काम सजिलो छैन। सबभन्दा पहिले कत्रो मूर्ति बनाउने निश्चित गर्छन्। त्यसैअनुसार बाँस र पराल मिसाएर हातखुट्टा र सिंहसहितको बुख्याँचा बनाउँछन्।
‘माटो मुछ्नै दुई-तीन घन्टा लाग्छ, नत्र माटो र पानीको मात्रा मिल्दैन। सुक्न नपाउँदै फुट्न थाल्छ,’ रुवीले मूर्ति बनाउँदाको झन्झट सुनाए।
यसरी तयार गरिएको माटो परालको बुख्याँचामा पोतिसकेपछि एक–दुई दिन घाममा सुकाइन्छ। अहिलेजस्तो बेलाबखत झरी परिराख्ने मौसम भए अझै केही दिन लाग्न सक्छ।
‘सबैतिरको माटो राम्ररी सुकेपछि त्यसमाथि भारतबाट ल्याइएको चिल्लो माटो लगाइन्छ र फेरि एक दिन सुक्न दिइन्छ। मूर्ति राम्ररी सुक्यो भनेपछि रङ, लुगा, ध्वजापताका लगाउने काम हुन्छ। रङ पनि सुकेपछि मूर्ति तयार हुन्छ,’ मूर्तिको तयारीबारे राजुले संक्षिप्त जानकारी दिए।
‘यो माताको मूर्ति हो, यसमा सजावट धेरै हुन्छ, रङ चढाएपछि यी मूर्ति पहिलेभन्दा गज्जब देखिन्छन्,’ रुवीले थपे।
मूर्ति आकारप्रकार हेरेर प्रतिगोटा १० हजारदेखि २५ हजारसम्ममा बिक्री हुन्छ। खर्च कटाएर एउटा मूर्तिबाट ५ देखि १२ हजारसम्म नाफा लिन सकिने उनीहरूले बताए। ग्राहकको ‘बार्गेनिङ’ गर्ने बानीले भने उनीहरूलाई सधैं दिक्क बनाउँछ।
‘कहिलेकाहीँ त बहुत गाह्रो हुन्छ, भगवानको मूर्तिमा पनि धेरै बार्गेनिङ गर्न थाल्छन्। यसरी त धर्म कमाइँदैन नि भन्दिन्छु,’ राजुले हाँस्दै सुनाए।
सबै तस्बिरः नारायण महर्जन/सेतोपाटी