बुटवल उपमहानगरपालिका वडा नं. ९ मिलनचोक शिखरपथको सानो गल्ली। झुरुप्प घरहरूको बीचमा रहेको एउटा घरको तेस्रो तलामाथि पूजाको मण्डप बनाइएको छ।
हिन्दु धर्ममा पूजा गरिने सबैजसो देवीदेवताका मूर्ति र तस्बिरसँगै १८ महापुराण, वेद र गीताका पुस्तकले मण्डप सजाइएको छ।
७२ वर्षीय नागेन्द्र प्रसाद शर्मा पौडेल बिहान ६ बजेदेखि नै पूजा सामग्री तयार गरी दिनभरिको पूजा, महापुराण र वेदको पाठको लागि तयार भइसक्छन्। नागेन्द्रलाई उनकी श्रीमती ६६ वर्षीय नीता शर्माले सघाउँछिन्।
नागेन्द्रले वाचन गर्ने महापुराणको कथा सुन्न शनिवार छरछिमेकी, आफन्त तथा छोराछोरीको जमघट हुन्छ। अरु दिन भने श्रीमती नीता बाहेक बाहिरी व्यक्तिहरूको उपस्थिति त्यति बाक्लो हुँदैन। यो क्रम सुरू भएको एक वर्षभन्दा बढी भइसक्यो।
नागेन्द्रले २०७५ साल भदौ २८ गतेदेखि सुरू गरेको महापुराण आगामी बडादसैंको कोजाग्रत पूर्णिमामा समापन गर्ने तयारी गरेका छन्।
एक वर्षको अवधिमा दैनिक बिहान ७ बजेदेखि दिउँसो ४ बजेसम्म यस्तै पूजा पाठ चलिरह्यो। यो अवधिमा उनले १८ महापुराण, ८/९ उपपुराण, ४ वटा वेद र ६/७ वटा गीता वाचन गरिसकेका छन्।
हिन्दु धर्ममा पुज्दै आएका वेद र वेद अन्तर्गत उल्लेख गरिएका कर्मज्ञान र उपासना काण्डलाई आम नागरिकले महशुस गरी चारै वर्णलाई सुमार्गमा लगाई मोक्ष्य प्राप्ति होस् भन्ने उद्देश्यसहित १८ महापुराण पाठ सुरू गरेको उनले जानकारी दिए।
‘पछिल्लो समय वैदिक कालदेखि नै चलिआएको सनातन हिन्दु धर्मलाई कमजोर बनाउने दुस्प्रयास भए, देशमा धार्मिक द्वन्द्व सृजना गराउने गरी हिन्दु धर्मविरूद्ध भ्रम फैलाउन खोजियो, व्यक्तिगत रूपमै भए पनि हिन्दु धर्मको रक्षाको लागि १८ महापुराण सुरू गरेको हुँ’,शर्माले भने।
एक वर्ष पहिले १८ महापुराण सुरू गर्दा हिन्दुत्वको रक्षा, नेपाल र नेपालीको कल्याणको लागि भन्दै संकल्प लिएको बताउँछन्।
‘सबैले आफ्नो धर्मको रक्षा गरुन्, तर हिन्दुत्वप्रति प्रहार नगरीदिए हुने थियो,’ उनी भन्छन्।
हिन्दु शास्त्र अथाह ज्ञानको सागर भएकोले पनि हिन्दु धर्म र भगवानप्रतिको श्रद्धा, भक्ति र विश्वास अझै बढेको बताउँछन् उनी ।
नागेन्द्र हेटौंडा कपडा उद्योगका सेवा निवृत्त पूर्वकर्मचारी।
कपडा उद्योगको क्षेत्रीय कार्यालय पोखरामा क्षेत्रीय प्रबन्धकबाट सेवा निवृत्त भएका उनी २०२६ सालदेखि वामपन्थी संगठनमा आवद्ध भए।
त्यसैको प्रभाव स्वरूप बामपन्थी निकट बुद्धिजीवी संगठनको जिल्ला सचिव समेत भए। तर पछिल्लो समय पार्टी र संगठनमा गुटबन्दी सुरू हुन थालेपछि राजनीतिप्रति नै वितृष्णा जाग्न थाल्यो। विस्तारै उनी राजनीतिक संघसंगठनबाट पाखा लाग्दै गए।
‘मलाई कुनै पछुतो छैन, जागिरे अवधिमा काममै व्यस्त भइयो अहिले पूरै समय आध्यात्मतर्फ लगाउने गरेको छु,’ उनले भने ।
१८ महापुराणको लागि आवश्यक पुराण, वेद, गीता लगायतका पुस्तक संकलन गर्न नै चारवर्ष लागेको उनले बताए।
‘किताब संकलन गर्न मात्रै चार वर्ष लाग्यो, भारतको बनारस, दिल्ली, गोरखपुर, काठमाडौंसम्म पुगेर १८ महापुराण प्राप्त गरे पनि उपपुराण भने पाउन सकिनँ,’ उनी भन्छन्।
वृद्धअवस्थामा एक वर्ष लामो कठिन महापुराण सुरू गरे पनि परिवारका अन्य सदस्यहरूको सहयोगको कारण कुनै वाधा व्यवधानबिना निरन्तर चलिरहेको शर्मा दम्पत्तिले बताए।
१८ महापुराण व्रतकै कारण एक वर्षसम्म घरको गेटदेखि बाहिर नगएको शर्माले बताए।
यसअघि सामूहिक रूपमा विभिन्न मठमन्दिरमा १८ महापुराण हुने गरे पनि हिन्दु धर्मको रक्षा तथा नेपाल र नेपालीको भलाइको लागि व्यक्तिगत रूपमा आयोजना गरेको भने यो पहिलो भएको उनले दाबी गरे। तर स्थानीय स्तरमा भने यसप्रति त्यति ध्यान नदिइएकोमा उनले दुखेसो पोखे।