'सासु पनि ठिस, ससूरा पनि ठिस, छोरी भने वन पिस ।।'
'काठमाडौंका सुकुल गुण्डा, पोखराको गाइने,
अचेलका केटीलाई ट्यापे केटा चाहिने ।।'
'गाडी हो छ चक्के युरो थ्री, दाइ चढे भाडा बहिनी चढे फ्री ।।'
'लोग्ने हिँड्यो साउदीको खाडीमा, स्वास्नी हिँडी अर्कैको गाडीमा फुल्यो निमपत्ता, तिन सालमा फर्किंदा बुढी बेपत्ता ।।'
'ड्राइभर हुँ नेपालको देखाउँछु जोस, दुनियाँको स्वास्नी पोइला जान्छन् ड्राइभरलाई के को दोष।।'
'उकाली होस् या ओराली होस् डाँडैमा एउटा ससुराली होस्, काली होस् या गोरी होस् ससुरालीमा एउटा साली होस्।।'
यी माथिका हरफहरू नेपालका सडकमा चल्ने सवारीसाधनको पछाडि लेखिएका साहित्य हुन्।
विशेषगरी यात्रुवाहक साधनमा भन्दा मालवाहक साधनहरूमा यस्ता साहित्य धेरै लेखिएका हुन्छन्। कतिपय गाडीहरूमा देशभक्ति, प्रकृत्तिप्रेमी, बेरोजगारी तथा श्रृङगाररसले भरिएका साहित्य लेखिने गरे पनि मालवाहक ट्रक, टिपर, ट्याक्टर, लरीहरूमा महिलालाई अपमान गरी यस्तै सायरी, कविता, गजल, तथा मुक्तकहरू लेखिएका हुन्छन्।
तर अब प्रदेश पाँचमा भने महिला, बालिबालिका तथा सीमान्तकृत समुदायको मानमर्दन र अपहेलनाको संकेत समेत हुने गरी सायरी, कविता, गजल, तथा मुक्तकहरू राख्न नपाइने भएको छ।
सवारीसाधनमा पछाडि लेखिएका यस्ता उच्छृङ्खल तथा असभ्य भाषाका सायरी तथा मुक्तकहरूले महिला, बालबालिका तथा सीमान्तकृत समुदायको अपमान हुनुको साथै महिला हिंसालाई बढावा दिएको भन्दै यस्ता साहित्य राख्न नदिने निर्णय गरिएको हो।
पाँच नं. प्रदेशस्तरीय सार्वजनिक यातायात व्यवस्थापन अनुगमन समितिको बुधबार बसेको बैठकले यातायातका साधनमा महिला, बालबालिका तथा सीमान्तकृत समुदायको अपमान हुने गरी यस्ता साहित्य नराख्न निर्देशन दिएको हो।
प्रदेश ५ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव शंकर प्रसाद खरेलको संयोजकत्वमा गठित उक्त समितिको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले यातायातका साधनमा लेखिएका यस्ता साहित्य हटाउन निर्देशन दिएका हुन्।
महिलाको अपमान हुने गरी यातायातका साधनमा लेखिएका यस्ता साहित्यले महिला हिंसालाई बढावा दिएको भनेर महिला अधिकारकर्मीले पहिलेदेखि नै हटाउन माग गर्दै आएका थिए।
सडकमा कुदिरहने सार्वजनिक यातायातका साधनमा गाली र अश्लिल शब्दहरू लेखिने गरे पनि यसअघि त्यसलाई हटाउने पहल भएको थिएन।
यस्तै, समितिको बैठकमा दसैंलाई लक्षित गरी भारतीय सीमानाका कपिलवस्तुको कृष्णनगर र रुपन्देहीको बेलहियामा सवारीसाधनको रुट र समयको बारेमा जानकारी गराउने उद्देश्यले तालिकासहितको सूचना पार्टी राखिएको जानकारी गराइएको थियो।