सुर्खेतको भेरीगंगा–१२ हटारुखोला नजिकै बस्ने बाढीपीडित देउरुपा विक मंगलबार आफ्नो टहरो पोत्दै थिइन्। खरले छाएको उनको अस्थायी टहरो उनले दसैँका लागि सिंगारेकी थिइनन्। चिसो समय आउन लागेकाले टहरोभित्र न्यानो बनाउन लिपपोत गरेको उनले बताइन्।
‘दशैँ त आएपनि नआएपनि हामीलाई केही छैन, कमाई नहुनेलाई दशैंमा पनि उही बिहान, बेलुकाको छाक टार्ने कसरी भन्ने झर्को,’ देउरुपाले भनिन्, ‘यो त अब चिसो हुनेबेला भयो, भित्र बस्न सजिलो होला भनेर पोत्न लागेकी हुँ ।’
२०७१ साउन २९ गतेको बाढीले घर, जग्गा सबै बगाईदिएपछि साविकको अवलपराजुल–९ का देउरुपाको परिवार अस्थायी शिविरका रुपमा रहेको हटारूखोलामा आएर बसेको हो। हटारुखोलामा अहिले ७ घरपरिवार टहरोमा बस्दै आएका छन्। ती कुनै परिवारलाई दसैँको माहोल छाएको महसुश भएको छैन।
‘पहिले बस्दै आएको घर बाढीले बगायो, यहाँ त दिन बिताउनै कष्ट छ,’ सोही ठाउँमा बस्दै आएकी लिला विकले भनिन्, ‘यहाँ छाक टार्नै धौधौ भएका बेला दसैँ मनाउने तयारी त परको कुरा हो।’
२०७१ साउन २८ र २९ गते आएको बाढीबाट प्रभावित घरपरिवारहरु अहिले विभिन्न ६ वटा शिविरमा बसिरहेका छन्। उनीहरुले त्रिपाल र टहरोमुनि मनाएका दसैँ यो पटक छ वटा पुग्ने छन्।
त्रिपालमुनि पाँच पटक दसैँ मनाईसकेका तुलाराम सुनार र उनको परिवारलाई पाँचैपटक दसैँले खुसी दिएन। ईत्राम खोला नजिक बस्दै आएका उनको घरजग्गा २०७१ साउनमा आएको बाढीले बगाएको हो।
‘यहाँ त हाम्रो विजोग छ, यो बर्षसहित यही पालिमुनि मनाएका ६ वटा दसैँ हुन्छ,’ वीरेन्द्रनगरस्थित महिला प्रशिक्षण केन्द्रको जग्गामा बस्दै आएका सुनारले भने, ‘घरमा हुँदा जस्तो दसैँ आएका बेला परिवारमा देखिने खुशी अहिले पाइँदैन ।’
२०७१ मा आएको बाढीका कारण सुर्खेतका ११५ जनाको मृत्यु भएको थियो भने १०४५ घरपरिवार पूर्ण रुपमा विस्थापित भएका थिए। त्यो वर्ष सुर्खेतमा २० बर्षयताकै भीषण वर्षा भएको थियो। यी सबै परिवार अस्थायी शिविरमा बस्दै आएका छन् ।
आधालाई पहिलो किस्ता
२०७१ को बाढीबाट विस्थापित भएर अस्थायी शिविरमा बसेका १०४५ परिवारमध्ये आधालाई सरकारले पहिलो किस्ता राहत उपलब्ध गराएको छ। कर्णाली प्रदेश सरकारले २०७६ असारमा पहिलो किस्ताबापत १ लाख ५० हजार रुपैयाँ राहत दिएका हो।
कर्णाली प्रदेश सरकारले बाढीपहिरोबाट विस्थापित भएका परिवारका लागि ३१ करोड ३५ लाख रुपियाँ छुट्याएको कर्णाली प्रदेश बाढीपहिरो समस्या समाधान उच्च स्तरीय समितिका संयोजक रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले बताए।
‘प्रत्येक परिवारका लागि तीन लाख रुपैयाँ छुट्याएका छौं,' उनले भने, ‘जग्गा भएका ५१४ जना बाढीपीडितहरुका लागि पहिलो किस्तावापतको रकम स्थानीय तहमार्फत दिइसकिएको छ।’
असारमा वीरेन्द्रनगरका एक सय ८३, पञ्चपुरीका ७, बराहतालका २९, लेकवेसीका १२ र गुर्भाकोटका ३२ परिवारले पहिलो किस्ताबापतको रकम बुझेका छन्।
पहिलो किस्ता बुझेका बाढीपीडितलाई कार्यप्रगतिको आधारमा दोस्रो र तेस्रो किस्ता उपलब्ध गराइने बाढीपीडित समस्या समाधान समितिले बताएको छ।
समितिका संयोजक मन्त्री भण्डारीका अनुसार घरको जगसहित झ्याल–ढोका तयार गरेपछि अनुगमन गरेर दोस्रो किस्ताबापतको एक लाख रुपैयाँ दिइने छ भने घर निर्माण भईसकेपछि तेस्रो किस्तावापतको ५० हजार रुपैयाँ उपलब्ध गराइनेछ।
सुर्खेतका नौ स्थानीय तहमध्ये सात स्थानीय तहमा २०७१ सालका बाढीपहिरो पीडितहरुको बसोबास छ। वीरेन्द्रनगर नगरपालिकामा तीन सय २२, पञ्चपुरीमा २१४, बराहताल गाउँपालिकामा २९५, चौकनेमा ६, भेरीगंगामा १९८, गुर्भाकोटमा ३४ र लेकवेशीमा १२ परिवार विस्थापित भएर विभिन्न अस्थायी शिविरहरुमा बसिरहेका छन्।