फ्रान्सका सिल्भाँ लेभी कुनै समय नेपाल आएका थिए। पूर्वीय संस्कृति र इतिहासका ज्ञाता उनले नेपालको संस्कृतिमा पनि चासो देखाए।
यहाँको अध्ययन क्रममा उनले भनेका छन्, ‘नेवारहरू मासु धेरै मन पराउँछन्। विशेषगरी राँगाको मासु खान्छन्।’
नेवार समुदायमा देवीदेवतालाई राँगा चढाइने हुँदा यसलाई प्रसादका रूपमा पनि लिइन्छ।
यो समुदायले राँगाको मासु कसरी खान थाले त?
किम्बदन्तीअनुसार भारतका राजा हरिसिंह देव नेपाल आउँदै थिए। बाटैमा उनका सेना भोकले छट्पटाउन थाले। मर्न थाले। राजाले आफ्ना संरक्षक तलेजू भवानीलाई प्रार्थना गरे। तलेजूले भोलिपल्ट बिहान जे फला पार्छौ, त्यही खानू भनिन्।
राजाले बिहानै एउटा राँगा देखे। त्यो राँगा तलेजूलाई चढाए। सेनालाई पनि खुवाए। त्यही समयबाट राँगा खाने परम्परा बसेको संस्कृतिविद्हरू बताउँछन्।
राँगाको टाउकोदेखि पुच्छरसम्मैको परिकार बनाइन्छ। केही खेर जाँदैन।
यहीमध्ये एक हो ‘बुल्ला’, अर्थात् सुप। बुल्ला राँगाको हड्डीबाट बनाइने परिकार हो।
बुल्लालाई नेवार समुदायले विशेष सुप मान्छन्। यसमा राँगाको हड्डीसँगै ‘कः’ को विशेष भूमिका हुन्छ। ‘कः’ जाँड बनाइसकेपछि बाँकी रहेको पदार्थ हो। यसले पनि नेवार समुदायका परिकारमा कुनै खानेकुरा खेर नफालिने संकेत गर्छ।
नेवार समुदायको यो परम्परागत सुप कसरी बन्छ?
हामी सौगल, पाटनस्थित 'रैथाने' खाजा घर पुग्यौं। काठमाडौं नरदेवीकी सोभिता महर्जनलाई रैथानेको भान्छामा बुल्ला बनाइदिन आग्रह गरेका थियौं। उनैले परम्परागत तरिकामा बुल्ला पकाउन सिकाइन्।
सुरुमा सोभिताले फोसी (कसौंडी आकारको तामाको भाँडा) मा भुटेको तोरीको तेल तताइन्। त्यसमा तेजपात हालिन्। यसले मिठो बास्ना बाहिरसम्मै आइरहेको थियो।
त्योभन्दा अगाडि नै राँगाको कुरकुरे हड्डी (मुरमुर क्वें) र खुट्टातिरको हड्डी (स्यः क्वे) स–साना टुक्रा बनाइएको थियो। स्थानीय नेवार पसलमा ‘बुल्ला’ पकाउने मासु भनेर माग्दा सजिलै किन्न सकिन्छ।
ती हड्डीका स-साना टुक्रासँगै अदुवा, लसुन, प्याज, नुनका साथै अन्य मरमसला हालेर केहीबेर सोभिताले रातो हुञ्जेल पकाइन्।
त्यसपछि जाँडको कः मा पानीको मात्रा मिलाएर फोसीमा हालिन्। फोसी माथिसम्मै भरिनेगरी। कः पनि जाँड बनाउने ठाउँहरूमा किन्न पाइन्छ। कः र पानी मिसाएर हालेपछि नछोपी पाक्न दिइन्। करिब दुई घण्टा पकाएपछि पानी सुक्दै फोसीको घाँटीसम्म पुग्यो। यसरी चार खण्डमा एक खण्ड सुकेपछि सुप अर्थात् बुल्ला तयार भयो।
यसको स्वादलाई 'माकु' भनिने सोभिता बताउँछिन्। सामान्य भाषामा बुझ्दा 'न्यूट्रल' हो। जस्तो काजुको। काजुको स्वादलाई जसरी कुनै शब्दमा व्याख्या गर्न सकिन्न, त्यसरी नै बुल्लाको स्वाद व्याख्या नहुने सोभिता बताउँछिन्।
‘बुल्ला खाएमा टाउको दुखेको, रुघा लागेको निको हुन्छ,’ सोभिताले सुप पकाउँदै भनिन्, ‘माइग्रेनसम्म निको हुने मान्यता छ।’
यो सुप उनको घरमा हुने श्राद्ध कार्यमा नभइ नहुने रहेछ। विशेषगरीः कोही बितेको १२ दिन, १३ दिन, ४५ दिन, ६ महिना, पहिलो र दोस्रो वर्षमा यो सुप अनिवार्य पकाएर चढाइने र प्रसाद स्वरुप खाने परम्परा रहेछ।
सोभिताले ‘बुल्ला’ पकाएको हेर्न रैथाने खाजा घरमा हामीसहित अरू केही व्यक्ति पनि भेला भएका थिए। परिकारको विषयमा उनीहरुले आफ्नो धारणा साटासाट गरे। त्यसैमध्येकी काठमाडौं किलागल निवासी सुनिता तुलाधरको बुल्ला खाने चलनचल्ती सोभिताको भन्दा फरक थियो।
‘हाम्रोमा भने दसैंमा टिका लगाएपछि बुल्ला खानुपर्छ,’ सुनिताले भनिन्, ‘त्यो दिनको पूजामा देवतालाई बुल्ला चढाउनुपर्छ। त्यसपछि प्रसादका रुपमा खाने चलन छ।’
सोभिताकोमा यो परम्परा छैन। बरु दसैंमा जाँड बनाउदा कः बाँकी हुने भएकाले बुल्ला बनाउन सकिने उनी सुझाउँछिन्। जाडो महिनामा तातो सुप जीउलाई फाइदाकारी हुनाले झन् बढी बुल्ला पकाइन्छ। ठूलो भोजमा पनि जाँड बनाउँदा कः धेरै हुन्छ। त्योबेला पनि बुल्ला पकाउन पकाउन सकिन्छ।
सोभिता र सुनिताको बुल्ला खाने चलनचल्ती फरक हुनुले नेवार सभ्यताको विविधता प्रस्ट्याउँछ। त्यही विविधता बुल्लाको नाममा पनि छ। यो सुपलाई डंगोल, महर्जन लगायत थरिले बुल्ला भने पनि शाक्य र बज्राचार्यहरूले ‘काजी क्वाः’ भन्दा रहेछन्। पाटनका केही स्थानीय बुढापाकासँग कुरा गर्दा उनीहरूले बुल्लालाई ‘कमः ला’ भन्ने गरेको बताए।
यो विषयमा थाहै नहुने पनि धेरै स्थानीय नेवार छन्। उनीहरू नामै सुनेर तर्किन्छन्।
यस्तै एक थिए, राजविक्रम महर्जन। बुल्ला भनेको के रहेछ? भन्ने कौतुहलताले उनी सोभिताले पकाएको बुल्ला खान सहभागी थिए।
‘बुल्ला भनेको कस्तो हुन्छ भन्ने लागेको थियो। यहाँ आएपछि त ‘ए त्यो पो रहेछ’ जस्तो भयो,’ उनले भने, ‘खान त खाएकै रहेछु। तर नाम थाहा थिएन।’
आजकल नेवार खानेकुरा भन्ने बित्तिकै छोयला, कचिला जस्ता नाम चलेका खाना मात्रै थाहा हुन्छ। तर नेवार परम्परामा धेरै परिकार हुने राजविक्रमले बताए। 'मैलाई त खाएको कुराको नाम थाहा रहेनछ,' उनले हाँस्दै भने, 'यस्ता खानाको प्रचार हुन जरुरी छ।’
खानाका विविध परिकार पकाउन र अध्ययन गर्न रुचाउने प्रशान्त खनाल पनि बुल्ला पाकिरहँदा सँगै थिए। उनी रैथाने खाजा घरको व्यवस्थापनमा छन्। उनलाई भने जाँड बनाएर रहेको पदार्थबाट सुप बन्दो रहेछ भन्दा अचम्म लागेको बताए।
‘मैले धेरैपटक जाँड खाएको छु। तर कः बाट कुनै परिकार बन्ला भनेर सोचेको पनि थिइनँ,’ प्रशान्तले भने, ‘हाम्रोतिर जाँड बनाएर बचेको कुरा गाई, भैंसीलाई खुवाइन्छ। यहाँ त्यसैबाट यस्तो सुप बन्नु मेरा लागि नौलो हो।’
नेवार समुदायको यो सुप त्यही समुदायबाटै हराउन लागिसकेको छ। त्यस्तो अवस्थामा अन्य समुदाय र नयाँ पुस्तालाई नौलो लाग्नु स्वाभाविक हुने सोभिता बताउँछिन्। आधुनिकीरणसँगै परम्परा र त्यसैमध्येका खाना संस्कृति हराउँदै गएको छ। यसमा ध्यानाकर्षण हुनपर्ने उनी सुझाउँछिन्।
‘हामीले धेरै परम्परा भुलिसक्यौं। ढलान घर छ। आधुनिकताबीच सुहाएन भनेर परम्परागत सामान प्रयोग गर्न छाडिसक्यौं,’ उनले भनिन्, ‘त्यस्तो अवस्थामा बुल्ला लगायतका रैथाने खानेकुराको चर्चा नहुनु वा हराउनु नौलो कुरा भएन। हामीले विविध संस्कृतिसँगै खानेकुरा संस्कृति पनि जोगाउन जरुरी छ।’
खानेकुराले मानिसलाई कहीँ न कहीँ जोडेकै हुन्छ। त्यसैभित्र जोडिएका हुन्छन्, इतिहास र संस्कृतिका कथा। हामीले त्यही संस्कृति एकअर्कालाई आदानप्रदान गरेर आत्मियता र सम्बन्ध विस्तार गर्न सक्छौं।
‘नेवार सुप बुल्लामा नै हामीले नेवार संस्कृति र समुदायबीच भिन्नता देख्छौं। खानेकुरा मात्रै अध्ययन गर्ने हो भने पनि हामीले संस्कृतिका विविध पाटा उधिन्न सक्छौं,’ सोभिताले भनिन्।
उनको घरपरिवारमा हुने श्राद्ध कार्यमा बुल्ला पाक्छ।
काठमाडौं किलागलकी सुनिताको घरमा दसैंमा यही बुल्ला पाक्नेछ।
दसैंमा नेवारहरूले थ्वँ (जाँड) पनि धेरै बनाउँछन्। अनि बजारमा कः सजिलै पाइन्छ।
हामी पनि दसैंमा बुल्ला पकाउने कि?
सबै तस्बिरहरूः नारायण महर्जन