दसैंको नवमीमा भक्तपुर, याछेंस्थित 'नवदुर्गा बनाउने घर'मा भिड लाग्छ। नवदुर्गा देवगणका १३ ख्वापा (मुकुण्डो) लाई लश्करै राखेर प्रदर्शन गरिएको हुन्छ। यसलाई नेपाल भाषामा 'ख्वपा ब्वयकेगू' भनिन्छ। त्यो दिन कर्माचार्यहरूले मुकुण्डोमा प्राणप्रतिष्ठा गर्छन्, अनि मुकुण्डो जीवित देवदेवी हुन्छन् भन्ने विश्वास छ।
नवदुर्गा नाच नाच्ने 'बनमाला'हरू मुकुण्डो लिन खपर्न लिएर आउँछन्। दिनभरिको प्रदर्शन सक्किएपछि रातितिर खर्पनको एकातिर ६ वटा र अर्कोमा ७ वटा मुकुण्डो राखेर लैजान्छन्। मुकुण्डो देवगणलाई हस्तान्तरण गरेपछि खःमेय् जात्रा हुन्छ, जसमा राँगो बलि दिइन्छ।
भोलिपल्ट (दशमी) ब्रह्मायणीमा मुकुण्डो प्रदर्शन गरेर भव्य मेला लाग्छ। राति देवगणहरू भक्तपुर दरबारस्थित तलेजु मन्दिर पुग्छन्। तान्त्रिक रुपले देवदेवी बनेका नवदुर्गा देवगणलाई तलेजुले विधि पुर्याएर थप सिद्धि दिएपछि उनीहरू पूर्णतः देवदेवी हुन्छन् भन्ने मान्यता छ। यी देवगणले दरबार क्षेत्रसँगै टौमडीस्थित स्वतुङ्ग भैरव मन्दिरको तलेजुसँग पनि सिद्धि लिनुपर्छ।
७४ वर्षीय पूर्ण चित्रकार नभई यी सबै काम सम्पन्न हुँदैनन्। याछेंको नवदुर्गा बनाउने घरमा प्रत्येक दसैंमा उनलाई एउटै दौडधुप हुन्छ, मुकुण्डो बनाइसक्ने। उनले मुकुण्डो नबनाए भक्तपुरको यो भव्य नवदुर्गा नाच सम्पन्न हुँदैन।
भक्तपुरमा नवदुर्गाको कति महत्व छ भने, ती देवगण नभई धेरैले दसैंको आभाष नै गर्दैनन्। दसैंको नौ दिनसम्म त यी देवदेवीको शक्तिपीठमा पूजा हुन्छ।
चित्रकारको दौडधुप भने घण्टाकर्णको दिनदेखि नै हो- यो दिन श्रृष्टिको सुरुआत हुन्छ। अरु चाडपर्व सापारु, गुलाँ, येँया पुन्हि, दसैं लगायत चाडपर्व धमाधम सुरू हुन्छन्। त्यो दिन १३ वटा मुकुण्डो बनाउने कालो माटो भाग लगाएर पूजा गरिन्छ।
माटोको विधिवत् पूजा गरेपछि मुकुण्डो बनाउने तयारी चल्छ। सबभन्दा पहिला महादेवको सिर्जना हुन्छ अनि अन्य देवता। त्यसका लागि माटोमा कपास, नेपाली कागज, पीठो लगायत सामग्री हालेर मुछिन्छ।
रङका लागि जडिबुटीदेखि सुनसम्म प्रयोग हुन्छ। यो सबै प्रक्रिया सकेर मूर्ति तयार गर्न करिब ३ लाख रूपैयाँ खर्च हुन्छ।
'मेहनतको मूल्य त कता हो कता,' अहिलेसम्म कामको उचित मूल्यांकन भने नभएको चित्रकार बताउँछन्।
गत वर्ष भने नगरपालिकाले मुकुण्डो बनाउन १० लाखको अक्षयकोष स्थापना गरिदिएको छ। गुठी संस्थानबाट ४० हजार र अक्षयकोषको ब्याज ७० हजार रूपैयाँ मुकुण्डोका लागि हुन्छ। त्यो पुग्ने पैसा होइन।
'पहिले पहिले त माटो कुट्न पनि टोलका छिमेकी आउँथे। अहिले व्यस्त हुन थाले, त्यो सहयोग पनि छैन,' उनले भने।
नवदुर्गाका १३ मुकुण्डोमा ब्रह्मायणी, महेश्वरी, कुमारी, वैष्णुवी, बाराही, इन्द्रायणी, महाकाली, गणेश, भैरव, दुम्ह, सिंह र स्वेतभैरव हुन्छन्। चित्रकारले यी १३ देवीदेवता जसरी पनि नवमीसम्म बनाइ सक्नुपर्छ।
'अन्य काम पो आज सकिएन भोलि गरौंला भन्ने हुन्छ। भगवानको काम टार्न पनि मिलेन,' उनलाई भ्याइनभ्याइ हुन्छ।
यही टार्न नमिल्ने 'भगवानको काम' लाई चित्रकारले निरन्तरता दिएकै ६ दशक भइसक्यो। यसको महत्व बुझेकाले उनले १३ वर्षको उमेरबाटै यो काम अंगाल्नुपर्यो। काका विष्णुबहादुरको सीप उनीबाहेक कसैले सिक्न सकेनन्। दमको व्यथाले थलिन थालेपछि विष्णुबहादुरले आफ्नो निर्देशनमा चित्रकारलाई नै यो काम सुम्पिए।
'हातमा भएको सीप छोड्न पनि मिलेन,' उनी सम्झिन्छन्, 'काका अगाडि बस्ने अनि उहाँले अह्राएको काम मैले गर्ने। ३६ सालमा काका बित्नुभएपछि सबै काम मेरो जिम्मामा।'
यो जिम्माको निरन्तरता सायद उनले सकुन्जेल मात्रैलाई हो! उनी पछि त बनाउन जान्ने पनि कोही छैनन्।
चित्रकारले आफ्नो पछिल्ला पुस्तालाई यो सीप सिकाउन नचाहेका होइनन्। उनको दुःख देखेरै छोराहरू विरक्तिएछन्। दुःख गरेर बनायो, आयस्ता शून्य। उल्टै बनाउनका लागि पैसा जोहो गर्न ठाउँ–ठाउँ माग्दै हिँड्नुपर्ने। नवदुर्गा बनाउन उनीहरूको टक नै बसेन।
चित्रकारले बनाएको मूर्तिलाई अन्तिममा रंगरोगन गर्न भने उनीहरू सघाउँछन्। केही दिनअघि चित्रकारसँग छोराहरू राजेश र सागर मुकुण्डो रंगाइरहेका भेटिएका थिए।
'यतिका दुःख हुन्छ, रातदिन नभनी सबै काम छाडेर मुकुण्डो बनाउनुपर्छ। आयस्ता भने केही हुन्न,' चित्रकारका छोरा राजेशले भने, 'सायद बुवापछि यो काम निरन्तरता दिने काेही हुँदैनन्। कमाइ नै नहुने भएपछि हामीले पनि सिक्ने चासो देखाएनौं।'
संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगका अनुसार हरेक वर्ष नवदुर्गा नौ महिनासम्म जीवित रहन्छिन्। भलभल अष्टमीमा उनीहरूको मृत्यु हुने मान्यताका साथ उनीहरूलाई एक साथ राखेर मानिसको लास जसरी नै जलाइन्छ।
'यसले सृष्टिमा भगवानसहित सबै कुराको अन्त्य हुन्छ भन्ने संकेत गर्छ,' उनले भने।
नवदुर्गा नाच लिच्छिविकालीन मानिन्छ। लिच्छवि राजाहरूले नेपाल मण्डलका चारै दिशामा अष्टमातृका स्थापना गरी नगर रक्षा गर्न नवदुर्गा नाच सुरू गरेका थिए।
याे नाच भक्तपुरका २२ टोलसँगै अन्य ठाउँमा पनि प्रदर्शन गर्नुपर्छ। भक्तपुर इलाकामा नै नाच कहिले तल्लो टोल त कहिले माथिल्लो टोलबाट सुरू हुन्छ। यसलाई च्वे न्यायगु/क्वे न्यायगु भनिन्छ। तल वा माथि जाने भन्ने निर्णय पायो जात्रामा तलेजुबाट निस्कने सेतो घोडाले गर्छ। घोडा जुन दिशामा हिँड्छ, त्यहीको टोलबाट नवदुर्गा नाच सुरू हुन्छ।
मंसिरमा जयबागेश्वरीमा काम सकेर थिमी, नगदेश, वोडे; माघमा साँखु, चागुँनारायण लगायत ठाउँ जान्छ। त्यहाँ नाच्न सक्किएपछि फेरि भक्तपुरमै प्रदर्शन हुन्छ। पूर्वतिर साँगा, नाला, धुलिखेल, श्रीखण्डपुर, चौकोट हुँदै भक्तपुर नै ल्याउँछन्। चैत, वैशाखतिर बनेपा, पनौती नाचेर भक्तपुर मै ल्याएर नाच भलभल अष्टमीमा समापन हुन्छ।
यो नाच विविध कारणले नेपाल सम्वत् ६३३ सम्म रोकिएको थियो। भक्तपुरका राजा सुवर्ण मल्लले पुनः सञ्चालनमा ल्याएको संस्कृतिविद् ग्वंग बताउँछन्।
नयाँ पुस्ताले मुकुण्डो बनाउन नसिक्ने वा कसले बनाउने भन्न निर्क्यौल नहुने हो भने पूर्ण चित्रकारपछि नाचको भविष्य नरहने सम्भावना छ।
चित्रकार आफैं पनि भन्छन्, 'पछिको कुरा मलाई थाहा छैन। मैले सकेसम्म भगवानको काम रोकिन्न।'