पप्पु कन्स्ट्रक्सन भन्ने नाम सुन्नेबित्तिकै अलपत्र पुलहरूको दृश्य याद आउँछ। संघीय समाजवादी फोरमका नेता हरिनारायण रौनियार सञ्चालक रहेको पप्पु कन्स्ट्रक्सनले ठेक्का लिएका तीन दर्जनभन्दा बढी पुलसहित दर्जनौं योजना अलपत्र छन्। तिनैमध्ये रुपन्देहीका दुईवटा पुल पनि पर्छन्।
हुलाकी राजमार्गअन्तर्गत भैरहवा-लुम्बिनी सडकखण्डको तिनाउ र डण्डा नदीका दुई पुल निर्माण सुरू भएको पाँच वर्ष भयो। तीन वर्षमै सक्ने गरी २०७१ असार २५ गते पप्पु कन्स्ट्रक्सन र बागमती निर्माण सेवाले पुलको ठेक्का सम्झौता गरेका थिए। सम्झौताअनुसार २०७४ असारमा निर्माण पूरा गर्नुपर्ने थियो। काम नसकिएपछि एक वर्षका लागि म्याद थप भयो। तैपनि पुलको काम सुरू भएको छैन।
थपिएको म्याद २०७५ असारमा सकिएको छ। त्यसपछि १९ महिना बितिसक्दा पनि पुल निर्माणतर्फ कुनै चासो दिइएको छैन। भैरहवा-लुम्बिनी जोड्ने प्रमुख सडकको पुल नै अलपत्र हुँदा लुम्बिनी आउने पर्यटक तथा सर्वसाधारणले सास्ती बेहोरेका छन्।
तिनाउ खोला पुलको लम्बाइ ९०.२ मिटर छ। यो पुल ५ करोड ३३ लाख २४ हजार ४२ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। यस अवधिमा कम्पनीले चारपटक गरी करिब ३ करोड भुक्तानी लगिसकेको छ। पुल निर्माणका लागि डाइर्भसन बनाउन भन्दै थप १ करोड १५ लाख माग गर्दै गत वर्षदेखि नै कम्पनीले काम बन्द गरेको छ।
उसले डाइभर्सन निर्माणका लागि थप रकम नदिएको बहानामा काम बन्द गरेको हो। हुलाकी राजमार्ग कार्यालय कपिलवस्तुले निर्माण कम्पनीलाई सम्पर्कमा आउन पटक-पटक ताकेता गरे पनि कम्पनीले अटेर गर्दै आएको छ।
त्यही मितिमा ठेक्का सम्झौता गरेको सोही सडकको डण्डा खोलाको पुलको अवस्थामा पनि उस्तै छ। ९०.२ मिटर नै लम्बाइ रहेको डण्डा खोला पुलका लागि कम्पनीले ५ करोड ५६ लाख ८० हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। तीन वर्षमा निर्माण पूरा गर्ने गरी ०७१ सालमा ठेक्का सम्झौता गरिएकोमा ०७४ सालमा एकपटक म्याद थप गरियो। थपिएको म्याद ०७५ असारमा सकिएको छ। यो अवधिमा पुलको कुनै काम अगाडि बढेको छैन।
पुलका लागि खोलामाथि तीनवटा पिल्लर ठड्याएर ढलान गरिएको छ। वारिपारि दुवैतर्फ जोडिएको छैन। कम्पनीले डण्डा खोलाको पुल निर्माणका लागि भन्दै तीनपटकमा आधा रकम लगिसकेको छ। संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागले हुलाकी सडक आयोजनामार्फत् पुल निर्माणको जिम्मा दिएको हो।
पुल अलपत्र हुँदा प्रदेश ५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्षलाई समेत अप्ठ्यारो पर्ने देखिएको छ। गौतमबुद्ध विमानस्थल निर्माण सम्पन्न हुन लागेको र लुम्बिनी भ्रमण वर्ष मनाइरहेको अवस्थामा लुम्बिनी जाने पर्यटकलाई अलपत्र पुलले असहज बनाउने अवस्था छ।
निर्माणाधीन व्यस्त सडकमा रहेका अलपत्र पुलका कारण सवारी साधनको दैनिक जाम हुन्छ। साँघुरो र कमजोर रहेको पुरानो पुलमा दुईतर्फी सवारी साधनमा रोक लगाइएको छ। यसले दुईवटै पुलको मुखमा आधा घन्टाभन्दा बढी समय सवारी जाम हुने गरेको छ।
प्रदेश ५ सरकारका भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले संघीय सरकारमार्फत् बनिरहेको योजना भएकाले प्रदेश सरकारले केही गर्न नसके पनि निर्माण कम्पनीलाई ताकेता गर्न संघीय सरकारलाई आग्रह गरिरहेको बताए।
‘यो प्रदेश सरकारभन्दा जेठो पुल हो, प्रदेश सरकार गठन हुनुभन्दा पहिल्यैदेखि पुल बन्न सुरू भएको थियो, प्रदेशअन्तर्गतको पुल नभए पनि संघीय सरकारलाई यसबारे जानकारी गराइएको छ,’ मन्त्री चौधरीले सेतोपाटीसँग भने।
संघीय सरकारले पटक-पटक ताकेता गरे पनि निर्माण कम्पनीले अटेर गरेका कारण सरकार ठेक्का सम्झौता तोडेर अर्को कम्पनीलाई जिम्मा दिने प्रक्रियामा रहेको उनले बताए। ‘अहिलेको निर्माण कम्पनीसँग सम्झौता तोडेर नयाँ कम्पनीलाई दिएर भए पनि छिटो सम्पन्न गर्न संघीय सरकारले प्रक्रिया सुरू गरेको छ,' उनले भने, 'एक-डेढ वर्ष समय त लागिहाल्छ।’
निर्माण कम्पनीले कम रकममा ठेक्का पार्ने र वर्षौंसम्म योजना अलपत्र पार्ने गरेपछि सार्वजनिक खरिद ऐन संशोधन गरेर समयमा योजना सम्पन्न नगर्ने कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको मन्त्री चौधरीले बताए।
बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाट पुल भत्किएपछि पप्पु कन्स्ट्रक्सनका बदमासी सार्वजनिक भएका हुन्। साढे १६ करोड लागतको यो पुल निर्माण भएको केही दिनमै भाँच्चिएको थियो। हरिनारायण र उनका छोरा सुमित लगायतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दासमेत दायर गरेको थियो। फोरमबाट सांसद बनेका उनी यही कारणले सांसदबाट निलम्बित भएका थिए।
देशभरिमा ११ अर्ब रुपैयाँ बराबरका दर्जनौं पुल तथा योजना निर्माणको ठेक्का लिए पनि पप्पुले कुनै योजना समयमा पूरा गरेको छैन। सडक विभागका अनुसार पप्पुले ठेक्का लिएका पुलमा सबभन्दा धेरै लापरबाही गरेको छ।