शीरमा चाँदतोडा, ज्यानमा कालो दौरासुरुवाल। कम्मरमा खुकुरी, पहेँलो पाउपोश (मोजा) माथि टलक्क टल्केका काला जुत्ता। र, हातमा पुरानो भरूवा बन्दुक।
गोरखा दरबारमा हिजोआज यस्तै भेषभूषाका सिपाही भेटिन्छन्।
पृथ्वीनारायण शाह पालाको सैन्य पोसाक लगाएका यी सिपाहीलाई हामीले काठमाडौंको हनुमानढोका दरबारमा मात्र देख्दै आएका थियौं। 'गुरूज्यूको पल्टन' भनिने यी सेनालाई यसपालि दसैंबाट नेपाल एकीकरणको सम्झनाका रूपमा गोरखा दरबारमा तैनाथ गरिएको हो।
गोरखा पृथ्वीनारायण जन्मे-हुर्केको दरबार हो। विसं १७९९ मा २० वर्षका पृथ्वीनारायणले यही दरबारबाट राजकाज सुरू गरी बाइसे-चौबिसे राज्य एकीकृत गरेर सिंगो नेपाल बनाएका थिए। उनी जन्मिनुभन्दा सय वर्षअघि राम शाहका पालामा १६१६ तिर गोरखा दरबार बनेको थियो, जुन २०७२ को भुइँचालोपछि जगैदेखि पुनर्निर्माण हुँदैछ।
इतिहास पुनर्जीवित गर्ने अभियानअन्तर्गत दुई सय ५० वर्षपछि गोरखा फर्केको पृथ्वीनारायण सेना दरबारमा भने बस्न पाएको छैन। पुनर्निर्माणको काम नसकिएकाले दरबारको पश्चिममा रहेको गोरखकाली मन्दिरमा बस्दै आएको छ।
पृथ्वीनारायणले काठमाडौं जितेर हनुमानढोका दरबारबाट राजकाज सुरू गरेपछि ती सेना काठमाडौं गएको मानिन्छ। अहिले ११ जनाको समूह हनुमानढोकाबाट गोरखा दरबारको 'ड्युटी' मा फर्केको छ। उनीहरू आलोपालो गरी दुई जनाका दरले तीन-तीन घन्टा दरबारमा खटिन्छन्।
दरबार रेखदेख गर्न यहाँ पुरातत्व विभागअन्तर्गत हेरचाह अड्डा छ, जसले दरबार, गोरखकाली मन्दिर र गोरखनाथ गुफामा हुने नियमित पूजापाठदेखि व्यवस्थापन हेर्छ।
‘गुरूज्यूको पल्टन अहिले गोरखकाली मन्दिरको सुरक्षामा खटिएको छ। दरबारमा खटिनुपर्ने हो, तर दरबार भत्काएर पुनर्निर्माण हुँदैछ,’ हेरचाह अड्डाका प्रमुख रामेश्वर कट्टेलले सेतोपाटीसँग भने, ‘पुनर्निर्माण सकिएपछि दरबारमै खटाइन्छ।’
गुरूज्युको पल्टन दरबार नजिकै वन क्षेत्रमा रहेको फूलबारी ब्यारेकमा बस्छ। पुनर्निर्माण सकिएपछि दरबारकै एक छेउमा राखिने कट्टेलले जानकारी दिए।
ठेकेदारले खुरूखुरू काम गरिदिएको भए अहिलेसम्म दरबार पुनर्निर्माण भइसक्थ्यो। भर्खर भुइँतलाको ढोका राखिएको छ।
गुरूज्यूको पल्टन गोरखा फर्किनुमा सुरक्षा मात्र जोडिएको छैन। सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। गोरखा दरबार पुरातात्विक, धार्मिक मात्र नभएर ऐतिहासिक महत्वको ठाउँ हो। यहाँ दिनहुँ स्वदेशी तथा विदेशी पर्यटकहरू पुग्छन्।
‘पर्यटन वर्षको पूर्वसन्ध्यामा पृथ्वीनारायण शाहकालीन सेना मुलथलो फर्कनु राम्रो हो,’ कट्टेलले भने, ‘ऐतिहासिक क्षेत्रमा ऐतिहासिक सेना खटिनुले गोरखाको शोभा बढेको छ।’
एकीकरण क्रममा पृथ्वीनारायणले सबभन्दा पहिले विसं १८१९ मा श्रीनाथ गण, गोरखगण, कालीबक्स गण, बर्दबहादुर गण र सबुज गण नामका पाँच एकाइ बनाएको इतिहास छ।
दरबारमा खटिएका यी गुरूज्यू पल्टनसँग पर्यटक तथा सर्वसाधारणहरू चाख मानेर 'सेल्फी' खिच्छन्।