पाल्पा र रुपन्देहीको सीमानामा पर्ने सिद्धबाबा मन्दिर परिसरमा सोमबारदेखि भिक्षा माग्न निषेध गरिएको छ।
प्रदेश ५ सरकारले सिंगो प्रदेशमा नै भिक्षा माग्ने कार्य निषेध गर्ने अभियान अन्तर्गत सिद्धबाबा मन्दिरबाट यसको सुरूआत गरिएको हो।
प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेश सरकारले सिंगो प्रदेशलाई नै भिक्षा माग्ने र सडक मानवमुक्त प्रदेश बनाउन आफ्नो नीति तथा कार्यक्रममै योजना समावेश गरेकोले सोही अनुरूप सिद्धबाबा मन्दिरबाट यसको सुरूआत गरिएको बताए।
'आजदेखि बुटवल सिद्धबाबा मन्दिरबाट भिक्षा माग्ने कार्य निषेध गरिए पनि यो कार्यलाई प्रदेशका सबै मठमन्दिर र सार्वजनिक स्थानमा पनि क्रमश: कार्यान्वयन गर्दै लैजान्छौं,' मन्त्री बरालले भने।
शारीरिक रूपमा अशक्त, वृद्धवृद्धा तथा रोगीहरू भन्दा पनि काम गरेर खाने उमेरका युवासमेत मठमन्दिरमा भिक्षा मागेर बस्ने गरेको भन्दै उनले प्रदेश सरकारले प्रदेशका कुनै पनि स्थानमा भिक्षा मागेर बस्न निषेध गर्ने तयारी गरेको बताए।
‘माग्ने काम अहिले पेशा जस्तै बन्दै गएको छ। यो कार्यलाई रोक्नुपर्छ,’ बरालले भने, ‘यसको अन्त्यको लागि प्रदेश सरकारले नीति बनाएरै भिक्षा माग्न निषेध गर्छ।’
मन्त्री बरालले काम गर्न सक्नेले काम गरेरै खानुपर्ने र अशक्त, बेसहारा तथा कुनै कारणवश घरबारविहीन भएर सडकमा आएकाहरूको जिम्मेवारी प्रदेश सरकारले लिने बताए।
उनले साधुसन्त, अशक्त, रोगी तथा वृद्धवृद्धाहरूको नाममा मठमन्दिर तथा सार्वजनिक स्थलमा यस्तै भिक्षा माग्न छोडिदिने हो भने काम गर्न मन नलागेपछि सडकमा गएर माग्नेहरूको संख्या बढ्दै जाने बताए।
‘यस्तै छोडिदिने हो भने जो पनि सडकमा आए भयो, भोलि म पनि सडकमा आउन के बेर,’ उनले।
मन्त्री बरालले सडकमा आउन बाध्य अशक्त, वृद्धवृद्धा तथा काम गरेर खान नसक्ने मानिसलाई मानवसेवा आश्रममा ल्याएर राखिने भन्दै काम गरेर खान सक्नेले मागेर खान नपाइने बताए।
‘काम गर्न सक्नेलाई सरकारले काम उपलब्ध गराउँछ, सक्नेले काम गरेरै खानुपर्छ,' बरालले भने, ‘नसक्नेलाई मानवसेवा आश्रममा ल्याएर राख्छ तर प्रदेश ५ का कुनै पनि स्थानमा मागेर बस्न पाइँदैन।’
मन्त्री बरालले मठमन्दिरमा गएर माग्नेहरूलाई खाना खुवाउने र भिक्षा दिनेहरूलाई पनि मानव सेवा आश्रममा ल्याएर सहयोग गर्न आग्रह गरे।
उनले अहिले सम्पत्ति भएका, स्वस्थ भएका र सम्पन्न भएका व्यक्तिहरू पनि भविष्यमा समस्यामा परेर सडकमा आउन सक्ने भन्दै बालबालिका, वृद्धवृद्धा तथा जो कोही पनि सडकमा आउन नदिन सामाजिक सचेतना फैलाउन जरुरी रहेको बताए।
मन्त्री बरालले बुटवल हिलपार्कमा निर्माण हुन गइरहेको मानवसेवा आश्रमको भवन निर्माणको पूर्ण जिम्मेवारी प्रदेश सरकारले लिने समेत बताए।