चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले कर्णाली प्रदेशको लाइफलाइनका रुपमा हेरिएको हिल्सा–जमुनाह द्रुतमार्ग निर्माणमा सघाउ पुग्ने कर्णाली प्रदेश सरकारले जनाएको छ।
सीको भ्रमणका क्रममा यो द्रुतमार्ग चीनले सहयोग गर्नेगरी सम्बोधन भएकाले निर्माण अघि बढाउन बल पुग्ने अपेक्षा प्रदेश सरकारले लिएको छ।
‘कर्णालीको लाइफलाइनका रुपमा रहेकोे यो द्रुतमार्ग सीको भ्रमणका क्रममा सम्बोधन भएको छ’ कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले भने, ‘नेपाल र चीनसँग जोडिएका आर्थिक करिडोरको विकास गर्नेक्रममा हिल्सा–जमुनाह सडक पनि सीको भ्रमणका बेला सम्बोधनमा परेकाले चीनको सहयोगमा बन्ने अपेक्षा गरिएको छ।’
सीको भ्रमणपछि निकालिएको संयुक्त वक्तव्यको बुँदा नम्बर ५ मा सडक, रेल्वे, उड्ड्यन, सञ्चारजस्ता संरचनाको विकास दुई देशबीचको आपसी सहकार्यमा गर्ने उल्लेख छ। सोही बुँदाअन्तर्गत आर्थिक करिडोरहरुमा गण्डकी, कोशी र कर्णाली करिडोर निर्माणमा आपसी सहयोग गर्ने प्रतिबद्धता गरिएको छ।
हिल्सा–जमुनाह दु्रतमार्ग कर्णाली प्रदेश सरकारको पनि पहिलो प्रतिबद्धताका रुपमा रहेको भन्दै अर्थमन्त्री ज्वालाले यो प्रतिबद्धता पूरा गर्न चिनियाँ राष्ट्रपति सीको भ्रमण महत्वपूर्ण भएको बताए।
चिनियाँ राष्ट्रपति सीको भ्रमण कर्णाली करिडोर निर्माणमा विश्वासको धरातल बनेको मन्त्री ज्वालाले बताए। उनले यो एक प्रारम्भिक सम्झौता भएकाले अब बजेट, मोडालिटी, कार्यान्वयन जस्ता विषयमा प्रदेश सरकारले छलफल गर्ने बताए।
कोहलपुरदेखि सुर्खेतसम्मको बाटो स्तरोन्नति गर्न संघीय सरकारको बजेटमा पनि समावेश गरिएकोले यो द्रुतमार्ग निर्माणमा अझ सहजता थपिएको अर्थमन्त्री ज्वालाको भनाई छ। कोहलपुरदेखि सुर्खेतसम्म दुई लेनको बाटो बनाउने कार्य संघीय सरकारकै प्राथमिकतामा परेकाले अब सुर्खेतदेखि हिल्सासम्मको मात्र बाटो बनाउनुपर्ने हुँदा सहज हुने उनले बताए।
मन्त्री ज्वालाले हिल्सा–जमुनाह दु्रतमार्ग कर्णाली प्रदेशका लागि आवश्यकता र चीनका लागि महत्वपूर्ण रहेको बताए। चीनको महत्वको विषय यो दु्रतमार्ग भएकाले सहयोगको लागि विश्वास गर्न सकिने उनको भनाई छ।
यो द्रुतमार्गको चाइना रेलवे इरवान इन्जिनियरिङ कम्पनीले विस्तृत सम्भाव्यता अध्ययन (डीएफएस) गरी कर्णाली प्रदेश सरकारलाई बुझाईसकेको छ। २०७६ साउनमा कम्पनीले सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएको हो।
कम्पनीले तयार गरेको अध्ययन प्रतिवेदन अनुसार द्रुतमार्गको हिल्सा–सुर्खेत खण्ड ४ सय ३ किलोमिटर लामो हुने ज्वालाले जानकारी दिए। यो सडक खण्ड निर्माणमा ६४ अर्ब लागत लाग्ने उल्लेख प्रतिवेदनमा गरिएको छ। साढे चार वर्षमा निर्माण गरी सञ्चालन गर्न सकिने कम्पनीले प्रतिवेदनमा उल्लेख गरेको मन्त्री ज्वालाले जानकारी दिए।
यसबाहेक दु्रतमार्गभित्र पर्ने सुर्खेतदेखि भारतीय सीमावर्ती जमुनाहसम्मको सडकको दूरी करिब १ सय १० किलोमिटर छ ।
द्रुतमार्गको मार्गचित्र
चाईना रेलवे ईञ्जिनियरिङ कम्पनीले तयार पारेको प्रतिवेदन अनुसार सुर्खेतको धुलियाबिटदेखि चीनको सीमावर्ती हुम्लाको हिल्सासम्म दुई लेनको सडक हुनेछ । सडकको चौडाइ ४ दशमलव ८ मिटरदेखि ११ मिटर हुने प्रतिवेदनमा उल्लेख छ । कम्पनीले दूरी घटाउन विभिन्न ठाउँमा सुरुङमार्ग बनाउन सकिने जनाएको छ ।
सुरुङ बनाउँदा लागत २० गुणा बढ्ने र पछि मर्मतसम्भारमा कठिनाइ हुने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार हुम्लाको नारामा साढे ४ किलोमिटर र सुर्खेतको कपासे तथा कालिकोटको खुलालुमा २/२ किलोमिटर सुरुङ बनाउन सकिन्छ । सुरुङ नबने सुर्खेत–हिल्सा दूरी ८ देखि १० घण्टामा र सुरुङ बने त्योभन्दा कम समयमा तय गर्न सकिने कम्पनीको प्रतिवेदनमा उल्लेख छ ।
प्रदेश सरकारको ड्रिम प्रोजेक्ट
कर्णाली प्रदेश सरकारले आफ्नो सुरुदेखिकै नीति तथा कार्यक्रमहरुमा हिल्सा–सुर्खेत दु्रतमार्गलाई प्राथमिकतामा राखेको छ। यो आयोजनालाई प्रदेश सरकारले ‘ड्रिम प्रोजेक्ट’ का रुपमा समेत लिएको छ।
यो द्रुतमार्ग २०७५ असोजमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको चीन भ्रमणका बेला चिनियाँ चासोमा समेत परेको छ। भ्रमणका क्रममा मुख्यमन्त्री शाहीले यो द्रुतमार्ग निर्माणका लागि चिनियाँ सरकारी टोलीसँग प्रारम्भिक समझदारी गरेका थिए । त्यसपछि नेपाल सरकारको स्वीकृतिमा चिनियाँ कम्पनीको टोलीले २०७५ कात्तिकबाट प्रारम्भिक सर्वेक्षण सुरु गरेको थियो।