प्रदेश-२ का राष्ट्रिय जनता पार्टी सांसद प्रमोदकुमार साहले सोमबार जनकपुर विमानस्थलको बुद्ध एयरको काउन्टरमा अभद्र व्यवहार गरे। जहाज ढिला आएको झोंकमा सांसद साह आक्रोशित भएर एयरलाइन्स काउन्टरका कर्मचारीसँग बाजाबाज गर्न भ्याए। बिरामी यात्रुले लामो समय कुर्नुपरेको भन्दै उनी झोंक्किएका थिए।
लगत्तै वायुसेवा सञ्चालक संघले उनलाई पक्राउ गर्न माग गर्यो। साहले काउन्टर तोडफोड गरेको आरोप एयरलाइन्स सञ्चालकहरूको संस्थाले लगाएको छ। मंगलबार प्रहरीले उनलाई काठमाडौं विमानस्थलमा पक्राउ गर्यो।
पछिल्लो समय हवाइ उडान ढिलाइमा यात्रुहरूले चर्को आलोचना गरिरहेका बेला साहको कदमलाई धेरैले विद्रोहका रूपमा पनि अर्थ्याएका छन्।
माननीयदेखि सर्वसाधारणसम्मले असन्तुष्टि जनाउन थालेपछि हामीले उडान ढिला हुनुका कारणबारे सोधीखोजी गरेका छौं।
करिब दुई वर्षअघिसम्म विमानस्थल कार्यालय र एयरलाइन्स सञ्चालकहरूले मौसमका कारण उडान ढिला हुने बताउँदै आएका थिए। वर्षा धेरै हुने र हुस्सु लाग्ने मौसममा मात्र उडान ढिला हुन्थ्यो त्यति बेला। आजभोलि उडान ढिलो हुनु नियमितझैं भइसकेको छ।
सामान्यतया प्रतिकूल मौसम, जहाजमा प्राविधिक समस्या र विमानस्थलमा पूर्वाधार अभावका कारण उडान ढिला हुन्छ। हामीकहाँ पनि पछिल्लो समय यिनै कारणले उडान ढिला भइरहेको एयरलाइन्स सञ्चालकहरूको भनाइ छ।
उनीहरूका अनुसार समयमै उडान नहुनुको मुख्य कारण विमानस्थल साँघुरो हुनु हो। पाँच वर्षयता यात्रु संख्या वृद्धि हुँदै गएपछि जहाज थपिएका छन्। जहाज थपिँदा उडान पनि थपिन्छन्। तर यी यात्रु र जहाज 'ह्यान्डल' गर्ने विमानस्थलको क्षमता बढेको छैन।
सन् २०१४ मा १४ लाख यात्रुले काठमाडौंको विमानस्थल प्रयोग गरेका थिए। सन् २०१८ मा संख्या दोब्बर भएर २८ लाख पुगेको छ। उडान पनि विगत पाँच वर्षमा ६८ हजारबाट ९५ हजार पुगिसक्यो। यसैअनुसार विमानस्थलको क्षमता उकासिनुपर्ने हो। तर, दुई वर्षअघि विमानस्थलको जति जहाज र यात्रु 'ह्यान्डल' गर्नसक्ने क्षमता थियो, आज पनि त्यति नै छ।
विदेशबाट आएका जहाजलाई आकाशमै घुमाइराख्नुभन्दा जमिनमै भएका जहाजलाई कुराउने सामान्य नियम हुन्छ। आन्तरिक उडानमा काठमाडौं मुख्य 'हब' हो। त्यसैले आन्तरिक उडान धेरै प्रभावित भएको एयरलाइन्स कम्पनीका एक अधिकारीले बताए।
'नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको क्षमता नहेरी एकोहोरो जहाज र उडान थप्न दिएकाले अहिलेको समस्या आएको हो। उडान स्लट दिएपछि एयरलाइन्सले त यात्रुको अधिकार ख्याल नगरी जहाज उडाउन खोजिहाल्छन्। मुख्य दोष विमानस्थल प्रशासनको हो,' एक एयरलाइन्स कम्पनी सञ्चालकले भने।
विमानस्थल प्रशासनका अधिकारी भने अहिलेकै क्षमतामा अधिक उपयोग गर्दै सकेसम्म समयमै उडान गरिदिन आग्रह गरिरहेको बताउँछन्। जनकपुर विमानस्थलको सोमबारको घटनापछि उडान ढिला भएको विषयमा छलफल भइरहेको विमानस्थल प्रमुख देवेन्द्र केसीले जानकारी दिए।
'हामीले एयरलाइन्सलाई बोलाएर सकेसम्म समयमै उडान गरिदिन र ढिला हुने भए यात्रुलाई जानकारी गराउन आग्रह गरेका छौं,' केसीले भने।
जहाज र उडान थपिएको विषयमा भने विमानस्थल प्रशासन र नागरिक उड्डयन प्राधिकरणका अधिकारी बोल्न मान्दैनन्। विशेषगरी राजनीतिक हस्तक्षेपबाटै एयरलाइन्सले जहाज थप्ने प्रवृत्ति भएकाले मन्त्रालयलाई 'क्रस' गर्न नसकिने उनीहरूको भनाइ छ।
कुनै पनि एयरलाइन्स स्थापनादेखि जहाज थप्नसमेत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अनुमति दिन्छ। मन्त्रालयको अनुमतिपछि मात्र प्राधिकरणले जहाज ल्याउन अनुमति दिने प्रक्रिया अघि बढाउँछ।
एयरलाइन्स सञ्चालकहरू मौसमी प्रतिकूलता र सीमित क्षमतालाई दोष दिँदै एयर ट्राफिक बढेको बताउँछन्। अर्कातिर विमानस्थलका अधिकारी एयरलाइन्सकै कारण जाम बढेको र यात्रुले सकस पाएको जिकिर गर्छन्।
मौसम ठीकै हुँदा पनि उडान ढिलो तथा रद्द हुने कारण हो- एकै समयमा धेरै एयरलाइन्सको उडान तालिका।
विमानस्थलमा एयर ट्राफिक कन्ट्रोलरको क्षमताभन्दा बढी स्लट दिने गरिएको छ। विमानस्थलको क्षमता ख्याल नगरी 'पिक आवर' मा धेरै उडान तालिका दिँदा समस्या भएको छ।
सबैजसो एयरलाइन्समा दिउँसो मात्र उडान गर्ने प्रतिस्पर्धा छ। निश्चित समयभित्रै उडान गर्नुपर्ने बाहेकका विमानस्थलमा पनि सबै एयरलाइन्सले दिउँसोकै समय बढी उडान भर्छन्। क्षमताभन्दा बाहिर गएर सबैलाई एकै तालिका दिँदा काठमाडौं विमानस्थलमा चाप बढेको एयर ट्राफिक अधिकारीहरूको आरोप छ।
मौसमी प्रतिकूलता हुने हिमाली र पहाडी जिल्लाका विमानस्थलमा निश्चित समयभित्रै उडान गर्नुपर्ने प्राविधिक बाध्यता छ। तर रातिसम्म उडान गर्न मिल्ने नेपालगन्ज, भैरहवा, धनगढी, विराटनगर र सिमराजस्ता विमानस्थलमा पनि अधिकांश एयरलाइन्सले ६ बजे अगाडिकै तालिका लिन्छन्।
रवीन्द्र अधिकारी पर्यटनमन्त्री हुँदा समयतालिका केही परिमार्जन गरिए पनि पछिल्लो समय फेरि पाँच बजे अगाडि नै चाप बढी छ।
उडान जति ढिलो होस्, एयरलाइन्स कम्पनीहरूले पाँच बजेअगाडिकै तालिका लिने गरेका छन्। यात्रु त्यहीअनुसार विमानस्थल पुग्छन्। उडान स्वाभाविक ढिला हुन्छ, यात्रुको असन्तुष्टि बढ्छ। यात्रुको गुनासोमा विमानस्थलको क्षमता र मौसमलाई दोष दिएर एयरलाइन्स उम्किने गरेका छन्।
विमानस्थल कार्यालयले कुनै पनि एयरलाइन्सलाई उडान ढिलो भएर 'रिसेड्युल' भएको जानकारी एक घन्टाअगाडि गराउँछन्। यस्तोमा सम्बन्धित एयरलाइन्सले यात्रुलाई प्रभावकारी सूचना दिनुपर्नेबारे नागरिक उड्डयन प्राधिकरणले नियम जारी गरेको छ। जानकारी फोन वा एसएमएसका माध्यमबाट दिनुपर्नेमा कोही सामाजिक सञ्जालमा लेखेर पन्छिने गरेका छन्, त कोही विमानस्थलमै पुगेका यात्रुसँग राम्ररी बोल्दा पनि बोल्दैनन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका पूर्व महाप्रबन्धक दिनेशप्रसाद श्रेष्ठ पनि एयरलाइन्सले सूचना आदानप्रदान राम्रोसँग नगरेको बताउँछन्।
'उडान ढिला हुँदा एयरलाइन्सलाई पनि फाइदा हुँदैन। बाध्यता नभई उनीहरूले पनि ढिलो गर्दैनन्। तर ढिला भएपछि यात्रुलाई राम्रो जानकारी दिनुपर्छ। उनीहरूसँग सबै यात्रुको जानकारी हुन्छ, म्यासेज पठाए त भइहाल्छ। त्यसो हुँदा यात्रु पनि मनोवैज्ञानिक रूपमा तयार हुन्छन,' श्रेष्ठले भने।
अहिलेकै अवस्था कायम रहे यात्रुको विद्रोह बढ्ने र यसले हवाइसेवा नै कमसल गराई पर्यटनमा असर पार्ने श्रेष्ठको भनाइ छ।
विमानस्थलको क्षमताअनुसार ह्यान्डल गर्नसक्ने उडान मात्र दिने, साना जहाजलाई काठमाडौं विमानस्थलमा आउन नदिने र अब उडान तथा जहाज थप्न नहुने उनको सुझाव छ।
'जथाभावी उडान स्लट दिने हो भने विकराल रुप लिन्छ। यो विद्रोह विमानस्थल प्रशासन, क्यान र सरकारप्रति नै लक्षित हुनसक्छ,' उनले सांसद साहको व्यवहारसँग जोड्दै भने।
उडान ढिला हुनुको अर्को कारण हो, जहाजको प्राविधिक समस्या।
कुनै पनि एयरलाइन्ससँग सीमित जहाज हुन्छन्। यहाँका हरेक एयरलाइन्सले उनीहरूका सबै जहाज 'सेड्युल' मा राख्छन्। त्यहीअनुसार पहिल्यैदेखि टिकट बिक्री गर्छन्। कुनै दिन एउटा जहाजमा प्राविधिक समस्या आयो भने उडान भद्रगोल हुन्छ।
यस्तो अवस्थामा विभिन्न बहाना बनाएर एयरलाइन्सले उडान रद्दसम्म गर्छन्। त्यसबारे यात्रुलाई चित्तोबुझ्दो जवाफ भने कहिलै दिइन्न।
नियामक निकाय नागरिक उड्डयन प्राधिकरणले पनि उपभोक्ता हित संरक्षणका लागि कुनै संयन्त्र बनाएको छैन। यसैको लाभ लिँदै यात्रुको सामान्य अधिकारलाई एयरलाइन्स कम्पनीहरूले बेवास्ता गर्दै आएका छन्।