सुर्खेतमा दुई छुट्टाछुट्टै हत्या अभियोगमा तीनजना पक्राउ परेका छन्।
सुर्खेत जिल्ला प्रहरीले गुर्भाकोट नगरपालिका–१ काल्चेका २० बर्षीय निराजन विकलाई पक्राउ गरेको छ।
असोज २२ गते गुर्भाकोट–१ का २५ बर्षीय यामबहादुर विकलाई घरमा गएर कुटपिट गरी हत्या गरेको सुचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए ।
उनीसँगको सोधपुछका क्रममा गुर्भाकोटकै विनोद भनिने विनय विक पनि संलग्न रहेको पाइएपछि उनलाई पनि पक्राउ गरिएको छ। उनलाई लुकीछिपी बसेको अवस्थामा महानगरीय प्रहरी वृत्त स्वयम्भुले पक्राउ गरेको थियो।
पक्राउ परेका निराजन र विनयलाई असोज २४ गतेदेखि लागु हुनेगरी जिल्ला अदालत सुर्खेतबाट ८ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रवक्ता रावलले जानकारी दिए।
यस्तै गाडीबाट खसालेर हत्या गरेको अभियोगमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ का ३७ बर्षीय गणेश श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।
गाडीको चालक श्रेष्ठले असोज २५ गते नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको गाडीमा चढेका भेरीगंगा नगरपालिका–४ का यामबहादुर खत्रीलाई हर्रेनजिक गाडी रोक्न लगाएर गाडीबाट फालेको बुझिएको प्रहरीले जनाएको छ।
उनलाई २५ गते नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। सुर्खेत जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको डिएसपी रावलले जानकारी दिए।