दैलेखमा पेट्रोलियम भण्डारणको दोस्रो चरणको अन्वेषण सुरू भएको छ।
पेट्रोलियम पदार्थ भण्डारणको सम्भावना भएको भनिएका शिरिस्थान, नाभिस्थान लगायतका क्षेत्रमा अन्वेषणको दोस्रो चरण सुरू गरिएको हो।
अन्वेषण टोलीको लागि आवास निर्माणको काम भइरहेको छ।
अन्वेषणका लागि दोस्रो चरणमा अध्ययन गर्न चीनको विशेषज्ञ टोली दसैंअघि दोस्रो पटक दैलेख पुगेको थियो।
इन्धन तथा अन्य सामग्री खरिदसँगै विशेषज्ञ टोली बस्ने स्थान छनोट भइसकेको छ। अन्वेषणका लागि भूगर्भविद्सहितको पाँच सदस्यीय टोली खटिएको छ।
अहिले पेट्रोलियम पदार्थको उत्खनन् गर्ने ठाउँसम्म जाने बाटो फराकिलो गर्ने काम पनि चलिरहेको चिनियाँ विज्ञसँग दैलेख पुगेकी भूगर्भविद् सुनिता भट्टराईले जानकारी दिइन्।
गत असारमा आएको चिनियाँ विज्ञ टोली दुई साता अध्ययन गरेर फर्किएको थियो।
भट्टराईका अनुसार दोस्रो चरणको अन्वेषण कार्य चार महिनासम्मको हुनेछ।
अबको एक साताभित्र अन्वेषणका लागि १९७ जनाको चिनियाँ टोली दैलेख आइपुग्ने दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए।
जिल्ला सुरक्षा समितिले विस्फोटक पदार्थको सुरक्षाका लागि आवश्यक प्रबन्ध गरिसकेको पनि उनले बताए।
गत असारमा चिनियाँ विज्ञको टोलीसँग दैलेख आएका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले पेट्रोलियम पदार्थ अन्वेषण कार्यको उद्घाटन गरेका थिए।
अहिलेको अन्वेषणका क्रममा जिओलोजिकल र म्यागनेट सर्वेलगायतका कामहरू हुने जनाइएको छ।
यसअन्तर्गत जमिनको ५ किलोमिटर मुनिसम्म ड्रिलिङ गरेपछि पेट्रोलियम पदार्थको परिणाम पत्ता लाग्नेछ र त्यसअनुसार अनुसन्धान थालिने छ।
पेट्रोलियम पदार्थ भण्डारणको निष्कर्षपछि थप काम अगाडि बढाइने पेट्रोलिम पदार्थ उत्खननका आयोजना प्रमुख सुधीर रजौरेले जानकारी दिए।