माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ,
पोखरा त साँच्चिकैको पोखरा नै रैछ...
प्रेमप्रकाश मल्लले गाएको यो गीत सुनेरै पोखरा नपुगेकाले पनि त्यहाँको सौन्दर्य कल्पना गरे होलान्। केहीलाई यही गीतले पोखरासम्म डोर्यायो पनि होला।
यो गीतको भाव अब फेवातालमा हत्तपत्त देखिँदैन। फेवातालमा माछापुच्छ्रे होइन, जलकुम्भी पौडी खेलिरहेको देखिन्छ।
उसो त फेवाताल मिचिएकोदेखि यहाँ फोहोर बढेसम्मको चर्चा बेला-बेला भइरहन्छ। त्यस्तै सधैं चर्चा हुने तर समाधान नभएको समस्या हो जलकुम्भी। केहीको प्रयासमा जलकुम्भी निकालेर फालिँदै आए पनि दीर्घकालीन समाधान खोज्ने वास्ता कसैलाई भए जस्तो भने देखिँदैन।
अहिले पर्यटकीय याम हो। बिहानदेखि बेलुका अबेरसम्मै फेवातालमा पर्यटकको चहलपहल छ। ताल किनारमा डुंगा घाट थपिएका छन्। हरेक घाटमा उत्तिकै भिड। मान्छेहरू डुंगा चढ्न पालो कुर्दै लामबद्ध छन्। सबभन्दा धेरै भिड तालबाराही मन्दिर जाने घाटमा छ। यो भिड बेलुकीसम्मै उस्तै हुने बताउँछन् डुंगा व्यवसायीहरू।
एकातिर सन् २०१९ लाई गण्डकी प्रदेशले आन्तरिक भ्रमण वर्षका रूपमा मनाइरहेको छ। अर्कातिर हामी नेपाल भ्रमण वर्ष २०२० को निकट छौं। तर, यी दुवै 'भ्रमण वर्ष'को तयारी फेवातालमा कहीँ कतै देखिँदैन। देशी-विदेशी मान्छेको जति बाक्लो भिड फेवाताल आसपास देखिन्छ, त्यति नै बाक्लो तालमा तैरिएको जलकुम्भी पनि छ।
कसरी आउँछ त तालै ढाक्ने गरी यस्तो झार?
जानकारहरूका अनुसार जलकुम्भी पानीमाथि आउने होइन। किनारमा पलाएर पानीले बगाएर ल्याउने हो। करिब ५१ वर्षदेखि यहीँ डुंगा चलाइरहेको बुद्धि नेपाली जलकुम्भी किनारबाट फैलिएको बताउँछन्। नेपाली डुंगा व्यवसायी संगठनका अध्यक्ष समेत रहेका नेपाली यसलाई किनारमै हुँदा नष्ट गरे धेरै फैलिन नपाउने तर्क गर्छन्।
हिउँदमा पानी कम हुँदा ताल साँघुरिने र त्यति बेला जलकुम्भी किनारमा उम्रिने उनी बताउँछन्।
'किनारको सिमक्षेत्रबाट यो झार फैलिएको हो,' उनले भने, 'हिउँदमा सिमक्षेत्रको पानी सुक्छ। त्यहाँ यसको फूल बीउका रूपमा अंकुराउँछ, बढ्छ र झांगिन्छ। पछि वर्षामा पानीको सतह बढ्दै जान्छ अनि पानीमा तैरिन्छ।'
उनका अनुसार फेवाताल किनारका १४ ठाउँमा उम्रिएको यो झार पछि फैलिँदै तालमा पसेको हो। किनारका लैरुङ, वास्कोट, विरिमकुनो, पिपलटारी, सानोताल, शंखपुर, भकुण्डे, वैद्येको खोला, ढल्केबर, सिधुरकी, खोलाको मुख, टारीखेत, खपैदी र रातेमाटो जलकुम्भीको स्रोत भएको नेपाली दावी गर्छन्।
यसपालि पनि भदौमा झरी परेपछि पानीको सतह बढ्यो र किनारमा मौलाएर बसेको जलकुम्भी पानीमा तैरियो। उता पानीको तह बढेपछि बाँध पनि खोलियो। एकैपटक पानी खोल्दा जलकुम्भी हुत्तिएर तालको बीचमा आएको नेपालीले बताए।
'हिउँदमा पानी कम भएका बेला किनारबाटै फाल्न सकेमात्रै समाधान गर्न सकिन्छ,' उनी भन्छन्।
डुंगा व्यवसायीसहित जलारी (माझी)हरूलाई लिएर धेरैपटक जलकुम्भी निकाल्न आफूहरू कस्सिएको पनि अध्यक्ष नेपालीले बताए।
'दसैंअघि पनि तीन दिन लगातार झार निकाल्यौं,' नेपालीले भने, 'त्यसपछि डुंगाको सिजन सुरू भयो। झार निकाल्ने काम बन्द छ।'
जलकुम्भीका कारण डुंगा खियाउन पनि समस्या हुन्छ। डुंगा व्यवसायी बुद्धिनाथ पाण्डेका अनुसार जलकुम्भीले डुंगा अघि बढ्न दिँदैन। अझ पेडल डुंगा त झारले गर्दा अगाडि जाँदैजाँदैन। उनी भन्छन्, 'डुंगा चलाउन मात्रै होइन जलकुम्भीले भरिएको ताल के हेर्नु भन्दै पर्यटक आउन छाडे भने व्यवसायै धरापमा पर्ने चिन्ता छ।'
गत वर्ष पोखरा महानगरपालिकाले जलकुम्भी निकाल्नकै लागि मेसिन किनेर ल्याइएको थियो। एक करोड २५ लाख रूपैयाँमा ल्याइएको मेसिन फेवाताल किनारमा देखिन्छ। तर मेसिन मन लागेको बेलामा चलाउने र अरू बेला बन्दै गरिएको पाण्डेको आरोप छ। फेवाताल संरक्षण जिम्मेवारी महानगरको भएको भन्दै उसैले दीर्घकालीन समाधान खोज्नुपर्ने पाण्डे र नेपालीको भनाइ छ।
'यो हामीले भनेर चल्दैन, महानगरपालिकाले भनेपछि मात्रै चल्छ। उनीहरू आफूलाई मन लागेका बेला मात्रै चलाउँछन्। त्यसैले जलकुम्भी समस्या सधैं उस्तै छ,' एक डुंगा चालक भन्छन्।
महानगरका प्रवक्ता धनबहादुर नेपाली भने मेसिन चलाइरहेको र आफूहरू निरन्तर रूपमा जलकुम्भी समस्या समाधानमा लागेको दावी गर्छन्।
'मेसिन निरन्तर चलिरहेको छ, केही दिन रोकिएको अर्काै कुरा भयो। रोकिएको रहेछ भने पनि त्यसलाई हामी निरन्तरता दिन्छौं,' प्रवक्ता नेपालीले भने, 'जलकुम्भीले ढाकेपछि निकाल्ने भन्दा पनि त्यसको बीउ नै मास्न सके दीर्घकालीन समाधान हुने देखिएको छ।'
महानगरले आगामी फागुन-चैतमा किनारमै बीउ मास्ने योजना बनाइरहेको पनि उनले जानकारी दिए।
हरेक वर्ष लाखौं पर्यटक आउने पोखरा, त्यसमा पनि प्रमुख पर्यटकीय स्थल फेवातालमा महानगरपालिका तथा सम्बन्धित निकायले ध्यान दिन नसक्दा त्यसको सुन्दरता बिग्रिँदैछ।
भ्रमण वर्ष सुरू हुनुअगावै व्यवस्थापन गर्न सके स्वदेशी-विदेशी पर्यटकलाई गलत सन्देश प्रवाह हुनबाट रोकिने स्थानीय बताउँछन्।
नभए भ्रमण वर्ष भन्दै आएका पर्यटकले माछापुच्छ्रे टल्किने फेवाताल होइन, जलकुम्भीको दलदल मात्र देख्लान् !
सबै तस्बिरः रोशन सिग्देल/सेतोपाटी