घटना-१
असोज २५ गते दिउँसो बा ३ ख ५२१६ नम्बरको गाडी नेपालगञ्जदेखि सुर्खेत आउने क्रममा बाटोमा विग्रियो। नजिक पानी नभएकाले उक्त गाडीका साहु यामबहादुर खत्री इञ्जिन चिसो बनाउनका लागि आवश्यक पानी लिन नजिकैको गाउँ हर्रे आउन अर्को गाडीसँग लिफ्ट मागे।
लिफ्ट मागिएको गाडी उनी भएको ठाउँभन्दा केही पर पुगेर रोकियो। पछ्याएर खत्री गाडीभित्र पसे। आफू पनि गाडीको स्टाफ भएकाले सहयोग गर्नुपर्नेमा लिफ्टै दिन नचाहेको भनेर खत्री गाडी सहचालकसँग रिसाए। दुईजनाको भनाभन भयो।
हर्रेको भीरनजिक सहचालक गणेश श्रेष्ठले चालकलाई गाडी रोक्न लगाए। गाडीबाट बाहिर निकालेर उनीमाथि हातपात गरे।
त्यसैक्रममा खत्री भिरबाट खसे। उनको घटनास्थलमै मृत्यु भयो। सुरुमा ढोकाबाट आफैं खसेको भन्ने रिपोर्ट गरिएको उक्त घटनाको प्रहरीले अनुसन्धान गर्ने क्रममा सहचालकले भीरबाट खसालेको पाइयो।
उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएर अनुसन्धान गरिरहेको छ। ‘गाडी विग्रिएपछि इञ्जिन चिसो गराउने पानी लिन लिफ्ट मागेर हर्रे आउन लागेका रहेछन्, त्यसैक्रममा भनाभन भएछ,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक रवि रावलले भने, ‘हात हालाहाल भएछ, उनी भिरबाट खसेछन्। सुरुमा दुर्घटनाका रुपमा दर्ता भएको यो केश अनुसन्धानका क्रममा कर्तव्य ज्यानसम्बन्धी देखियो।’
उनका अनुसार अनुसन्धानका क्रममा श्रेष्ठले खत्रीलाई धकेलेको पाइएको छ। खत्री भेरीगंगा नगरपालिका–४ का स्थायी वासिन्दा हुन् भने श्रेष्ठ वीरेन्द्रनगर–११ का हुन्। २५ गते नै पक्राउ परेका श्रेष्ठलाई उक्त मुद्दामा अनुसन्धानका लागि दश दिनको म्याद थप गरी हिरासतमा राखिएको छ।
घटना-२
असोज २२ गते राति गुर्भाकोट नगरपालिका–१ काल्चेका २५ वर्षीय यामबहादुर विक घरको भान्सा कोठामा थिए। सोही समयमा छिमेकी गाउँका २० वर्षीय निराजन विक गएर उनीमाथि कुटपीट गरे। यामबहादुरको मृत्यु भयो। भोलिपल्ट जानकारी पाएपछि प्रहरीले अनुसन्धान गरी कुटपिट गर्ने निराजनलाई पक्राउ गर्यो।
अनुसन्धानका क्रममा यामबहादुरलाई दाउराको चिर्पटले हानेको भेटिएको डिएसपी रावलले बताए। ‘यो घटना त सुपारी दिएरै योजनाबद्ध रुपमा भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ’ उनले भने, ‘प्रहरीले दाउराको चिर्पट पनि बरामद् गरेको छ।’
उक्त घटनामा संलग्न भएका सोही गाउँका १९ वर्षीय विनय विकलाई पनि पक्राउ गरिएको छ। उनी लुक्नका लागि काठमाडौं गएका बेला महानगरी प्रहरी वृत्तले पक्राउ गरेको हो। यामबहादुरको मृत्युसँग जोडिएका निराजन र विनयलाई सुर्खेत जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।
यी दुई कर्तव्य ज्यानसम्बन्धी घटना असोज महिनामा कर्णाली प्रदेशको राजधानी तोकिएको सुर्खेतमा घटेका हुन्। कर्णाली प्रदेशमा पाँच वर्षयताको तथ्याङ्कलाई हेर्ने हो भने २०२ जनाको हत्या भएको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) लोकनाथ तिमिल्सेनाका अनुसार आर्थिक वर्ष ०७२/७३ देखि ०७६/७७ को असोजसम्म २०२ कर्तव्य ज्यानसम्बन्धी र १४४ वटा ज्यान मार्ने उद्योगसम्बन्धी घटना भएका छन्।
उनका अनुसार ०७२/७३ मा ४९ जनाको हत्या भएको छ भने ३५ जनाको हत्या प्रयास भएको छ। त्यसपछिका आर्थिक वर्षहरुको तथ्याङ्क अनुसार हत्या तथा हत्या प्रयासका घटना बढ्दो क्रममा देखिएको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालयमा रहेको हत्यासम्बन्धी तथ्याङ्क अनुसार प्रदेशभित्रका जिल्लाभरमा ०७३/७४ मा ४२ जनाको हत्या भएको छ भने २६ जनामाथि हत्या प्रयास भएको छ।
यस्तै ०७४/७५ मा ५० जनाको हत्या भएको छ भने २९ जनामाथि हत्या प्रयास भएको छ। ७५/७६ मा ५८ जनाको हत्या भएको छ भने ४३ जनाको हत्या प्रयास भएको छ। तथ्याङ्क अनुसार यस आर्थिक वर्षको हालसम्म ३ जनाको हत्या भएको छ भने ११ जनामाथि हत्या प्रयास भएको छ।