गाउँमा गहुँ काट्ने चटारो थियो। त्यसमाथि चुनाव।
कमलादेवी राजपुत खेतमा गहुँ काट्न गएका आफ्ना श्रीमान र छोराका लागि खाना बनाएर घरमै बसेकी थिइन्।
त्यो दिन उनले भिन्डीको तरकारी र दालभात पकाइन्। छोरा पिन्टु (त्रिलोकप्रताप सिंह)लाई भिन्डीको तरकारी खुब मनपर्थ्यो।
खाना पकाइसक्दा-नसक्दै बाहिर पिन्टुको आहट उनले सुनिन्।
'ममी, खाना दे न,' आँगनबाटै भनेर पिन्टु हातमुख धुन थाले।
उनले हतारहतार खाना पस्किइन्।
पिन्टु खाँदै थिए, घरबाहिर मोटरसाइकलको आवाज आयो। कसैले बोलायो - पिन्टु, पिन्टु, बाहर आ।
उनले आरामले खाइसक्नै पाएका थिएनन्। उठिहाले। 'ममी, हम बाहर जाइछी,' भन्दै घरबाहिर पर्खिरहेका दुईजना मान्छेसँगै मोटरसाइकलमा चढे।
कमलादेवीले केही सोध्नै नपाई, मोटरसाइकलमा छोरा जसै हुँइकिए उनको मन झसङ्ग भयो।
'मनमा कसोकसो भइरहेको थियो,' त्यो दिन सम्झिँदै उनले सेतोपाटीसँग भोजपुरीमा भनिन्।
त्यो दिन पिन्टु हिँडेपछि उनका बुबा श्रीनारायणसिंह खाना खान आइपुगे।
'पिन्टुवा काहा गेलउ, आज बहुत काम बा, केनहु न कहीहे जायला,' उनले कमलादेवीसँग भने। काम गर्नुपर्ने छोरा बाहिर गयो भन्दा बुबाको गाली खाला भन्ठानेर उनी केही बोलिनन्।
श्रीमान फेरि खेत फर्किए। उनले घरको सारा काम सकिन्, खाना खाइन्। उनको मन भने छोरा गएपछि बेचैन भएको भयै।
'खाना खाएपछि पिँढीमा बसेर छोरा कति खेर आउँछ भन्दै गेटमा हेरेँ धेरै बेर,' उनले भनिन्।
दुई-तीन घण्टापछि उनको टोलमा मान्छेहरूको कल्याङमल्याङ बढ्यो। उनी बाहिर निस्किइन्। संविधानसभा निर्वाचनमा कांग्रेसबाट सभासद उठेका मोहम्मद अफ्ताब आलमको राजापुरस्थित घरनजिकै बम पड्किएको खबर उनलाई गाउँलेहरूले नै सुनाए।
भोलिपल्ट चुनाव थियो। त्यही भएर बम पड्किएको लख गाउँलेहरूले काटिरहेका थिए।
कमलादेवीलाई भने आफ्नै छोराको पीर थियो।
उनी बाहिर जान र बोल्न सक्दिनथिइन्। आफ्नो छोरालाई खोज्न निस्किने आँट थिएन। बाहिरबाट दौडिँदै उनी घरभित्र आइन्, पूजाकोठामा गएर आफ्नो छोरालाई केही नहोस् भन्ने पुकारा गरिन्।
गाउँका कोही बिस्तारै बोल्दा पनि आफ्नै छोराको कुरा गरेका हुन् कि झैं उनी आत्तिन्थिन्।
उता राजापुरमा बम पड्किएको खबर खेतमा पनि पुगेको थियो। पिन्टुका बुबा श्रीनारायण मेलो छोडेर राजापुर पुगे। बम पड्किएको खबर पक्का गरेर फर्किए। बेलुका आउँदा छोरा पिन्टु घरमा थिएनन्।
त्यो साँझ कसैले केही नखाइ सुते। कमलादेवी भने रातभरी छोरा कुरेर पिँढीमा बसिन्।
भोलिपल्ट बम विस्फोटमा छोरा मरेको खबर दैलोमै आइपुग्यो।
कमलादेवीलाई १२ वर्षअघि त्यसरी मोटरसाइकलमा हुँइकिएर गएका पिन्टु 'ममी' भन्दै आइ पो हाल्छन् कि जस्तो आज पनि लाग्छ रे।
अहिले पिन्टुसहित १४ जनालाई मारेको अभियोग लागेर रौतहट-२का सांसद मोहम्मद अफ्ताब आलम पक्राउ परेका छन्। त्यति बेलाको घटनाबारे फेरि गाउँमा हावासरी कुरा चल्न थालेको छ।
त्यति बेला गाउँलेबाट आफ्नो छोरा मारिएको विवरण सुन्दा कमलादेवीलाई आफूले सानैमा सुनेको भूतको कथा सुन्दा जस्तै डर लागेको थियो। तर आफ्नो छोरा मरेको भनेर कमलादेवीलाई विश्वास गर्न मन लाग्दैन।
'अहिले त सबैले तिम्रो छोरालाई इँटाभट्टामा लगेर मारियो भन्छन्,' उनले भनिन्, 'मेरो मन अझै मान्दैन। अहिले पनि घरको दैलोमा बसेर पिन्टुलाई पर्खन्छु। कुन बेला पिन्टु आएर, 'ममी, खाना दे न, बहुत जोरसे भुख लागलवा' भन्छ जस्तो हुन्छ।'
यति भन्दा नभन्दै उनका आँखा रसाइहाले।
बम विस्फोटमा पिन्टु घाइते मात्र भएका तर पछि उनलाई इँटाभट्टामा लगेर जिउँदै जलाएको कुरा राजापुर गाउँका आफन्तले उनीहरूलाई सुनाएका हुन्। लास नभेटिए कुसको शब बनाएर दाहसंस्कार र काजकृया गर्ने चलन भएपनि उनीहरूले अहिलेसम्म पिन्टुको यस्तो कर्म गरेका छैनन्।
पिन्टुसँगै विस्फोटमा मारिएका अर्का नेपाली हुन् ओसी अख्तर। उनी आमना खातुनका श्रीमान हुन्। १२ वर्षअघि ओसी अख्तर विदेशबाट फर्किँदा गाउँमा मौसम र चुनाव दुवैको सरगर्मी चढिरहेको थियो।
संविधानसभा चुनाव बेला उनी आएको २ महिना पुगिसकेको थियो। उनी चुनावमा बेस्सरी खटे। आलमकै कार्यकर्तासँगको संगतमा थिए। चुनावको अघिल्लो दिन २०६४, चैत २७ गते आँगनको शितल छहारीमा बसेका थिए ओसी। श्रीमती आमना पनि घरै थिइन्। २-४ जना मान्छे ओसीलाई लिन आए।
'जानुअघि मैले नजाऊ त भनेकी थिएँ,' आमनाले भोजपुरीमा भनिन्, 'तर आलमका मान्छेले उनलाई लिएर गए।'
ओसी कहिल्यै फर्केर आएनन्।
त्यतिखेर आमनाको पेटमा कान्छो छोरा आइसकेका थिए जो अहिले ११ वर्ष पुगे। जेठा १४ वर्ष। कान्छो छोराले बाबुको अनुहारै देख्न पाएनन्।
छोरालाई बाबु कस्ता थिए भनेर देखाउन उनको रंगीन फोटो पनि छैन आमनासँग। बाबु चिनाउन उनले नागरिकता झिक्नुपर्छ। त्यहाँ ओसीको धमिलो श्यामस्वेत फोटो छ। त्यही फोटो हेर्दै दुवै छोरा हुर्किए।
त्यो बेला आलमको लागि बम बनाउने ठाउँमा ओसी घाइते भएको प्रत्यक्षदर्शीले देखेको बताए। घटना सुनेपछि आमनाका बुबा ज्वाइँको खबर बुझ्न आलमको घर पुगे। आलमका मानिसले उनलाई ओसी घाइते भएको बताएका थिए। तर घाइते ओसीलाई अस्पताल लगिएन। न घर फर्काइयो।
विस्फोटको घटना लुकाउन घाइते भएका ओसी लगायतलाई आलमले इँटाभट्टामा जिउँदै हुलेको खबर आगोसरी त्यतिबेलै फैलिएको थियो।
भोलिपल्ट चुनाव भयो। आलमले सांसद पद जिते।
त्यतिखेर ओसी कि आमा रुक्सना खातुन जिउँदै थिइन्। उनी आलमको घरमा आफ्नो छोराको खबर बुझ्न गइन्। उनले छोराको जुत्ता र स्वेटर मात्र पाइन्। त्यही लिएर रुक्सना प्रहरीकहाँ पुगिन्। आलमविरूद्ध जाहेरी दिइन्।
उनले जसै जाहेरी दिइन्, कहिले फिर्ता लिन दबाब आयो, कहिले धम्की। साबिक सरुअठा गाविस-९ स्थित उनको घरमा लगातार आक्रमण भयो। उनलाई आलमका भाइ मोहम्मद महतावले लालच र धम्की दिए।
महतावले 'जग्गा चाहिन्छ भए जग्गा लिऊ, पैसा चाहिए पैसा लिऊ' भन्दै प्रलोभन दिएका थिए।
रुक्सनाको एउटै जवाफ हुन्थ्यो, 'हामीलाई पैसा चाहिँदैन, न्याय चाहिन्छ।'
प्रहरीले अनुसन्धान गरेर आलमविरूद्ध प्रतिवेदन पठायो। सरकारी वकिलले मुद्दा नचलाउने निर्णय गर्यो। साक्षी प्रमाण हुँदाहुँदै मुद्दा रोक्न नपाइने भन्दै रुक्सनाले दुई वर्षपछि २०६७ सालमा सर्वोच्चमा रिट हालिन्।
यसबीच घटना देख्नेहरू डरले चुप थिए। मारिएका व्यक्तिका परिवारसमेत राजनीतिक रूपले बलिया आलमविरूद्ध बोल्न सकेनन्। रुक्सना भने धम्की र लोभलालचबाट डगमगाएकी थिइनन्।
२०६७ माघ ९ गते रुक्सना तीन किलोमिटर टाढाको माइतीबाट घर फिर्दै थिइन्। बाटोको ऊखुबारीमा केही नकाबधारी लुकेका रहेछन्। एक्कासि आक्रमण गरे। बन्दुकको नाल रुक्सनाको टाउकोमा हाने।
त्यतिखेर आमनाकी आमा पनि रुक्सनासँगै थिइन्। डराएर भागिन्। रुक्सनालाई नकाबधारीले गोली हानेर मारे।
श्रीमान र सासू दुवैको हत्यापछि आमना घरमा एक्लै परिन्। झन् डराइन्। उमेर पनि १६ वर्ष त थियो। ससुरा निकै सोझा, देवरहरू उत्तिकै साना। त्यसमाथि दुई छोरा हुर्काउनुपर्ने। उनी माइती गइन्। अहिलेसम्म उतै बस्छिन्। अपरिचित व्यक्तिसँग धेरै बोल्दिनन्।
रुक्सनासँगै पिन्टुका बुबा श्रीनारायणले पनि जाहेरी दिएका थिए। त्यही जाहेरीमाथि मुद्दा अघि बढाउन सर्वोच्च अदालतले दिएको आदेशका कारण आलम अहिले पक्राउ परेका छन्।
त्यति बेला आलमको धम्की र दबावमा चुप बसेका घटनाका प्रत्यक्षदर्शीले अहिले प्रहरीमा कागज समेत गरिदिएका छन्।
त्यति बेलै मानवअधिकार आयोग, इन्सेक जस्ता संस्थाले पिन्टु र ओसीसँगै धेरै जना बम विस्फोटमा मारिएको आशंका गरेका थिए। अहिले पिन्टु, ओसी, रुक्सनासहित १४ जनाको हत्या आरोप आलमलाई प्रहरीले लगाएको छ।
प्रहरीका अनुसार यो घटनामा आलम, उनका भाइ महताव, शेख भदई, मोबिन आलम र शेख सराज गरी पाँच प्रतिवादी छन्। आलम पक्राउ परे पनि अन्य फरार छन्। विस्फोटपछि इँटाभट्टामा कति र को-को मारिएका थिए भन्ने खुलेको छैन।
बमकाण्डको १२ वर्षपछि सासंद तथा पूर्वमन्त्री आलम पक्राउ परेपछि पीडित परिवारहरूलाई न्याय पाउने आशा पलाएको छ।