जन्मँदै दुवै अण्डकोष पेटभित्र भएका ११ वर्षीय प्रसंग गोदार उपचारपछि घर फिर्ताको तयारीमा छन्।
चिकित्सक डा. दिनेश कोइरालाले ‘ड्रेसिङ’ गरिरहेका बेला मुस्कुराउँदै उनकी आमा रेखा गोदारले भनिन्, ‘बाबुको दुवै अण्डकोष अहिले बाहिर देखिन्छ, उपचार सफल भएकामा म खुसी छु।’
भर्खरै जन्मिएकादेखि १६ वर्षमुनिका बच्चाका मुत्रासय, मलद्वार, आन्द्रा, जिब्रोको ट्युमर, आन्द्रामा रौं छिरेको र नसामा हुने विभिन्न जटिल समस्याको उपचार सहज भने छैन।
शिशुलाई बेहोस बनाएर शल्यक्रिया गर्नु चुनौतीपूर्ण हुन्छ।
सन् २०१७ मा बङ्गलादेशको बङ्गबन्धु शेख मोजिम मेडिकल विश्वविद्यालयबाट बालरोग सर्जरीमा एमएस गरेका डा कोइरालाकामा हाल यस्ता बिरामी बच्चाको चाप देखिन्छ।
उनी शिक्षण अस्पतालका साथै काठमाडौं न्यूरो तथा जनरल अस्पताल र हेम्स अस्पतालमा समेत कन्सल्ट्यान्ट हुन्।
उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा चिकित्सक टोली तम्तयार भए पनि जन्मजात छाती जोडिएका जुम्ल्याहा बच्चाको सुर्खेतबाट काठमाडौं ल्याउँदा बाटोमै मृत्यु भएको छ महीनाअघिको एक घटना सम्झँदै डा कोइरालाले भने, ‘नेपालमा सुलभ मूल्यमै यस्तो उपचार हुनसक्छ भन्ने थाहा नपाएर अभिभावकले बच्चालाई अस्पताल नल्याउँदा ज्यान जोखिममा परेका घटना छन्, तर हामी उपचार गर्न सक्छौं।’
चिकित्सक डा कोइरालाकै नेतृत्वमा जन्मँदै मेरुदण्डको नसा फुटेका ओखलढुङ्गाका मेघबहादुर मगरका चार दिनका बालकको शल्यक्रिया सफल भएपछि अभिभावक दंग छन्। ‘माइलोमेनिङ्गोसिल इन्फेक्सन’का कारण उत्पन्न यो समस्याको समाधान भएपछि अब बच्चालाई दूध खुवाउन र दिसापिसाब गराउन कुनै समस्या छैन।
सुन्धारास्थित काठमाडौं न्यूरो तथा जनरल अस्पतालमा उपचाररत १५ वर्षीया बालिकाको जन्मजात पिसाब चुहिने समस्या (इक्टोपिक युरेटर) को पनि सात दिनअघि शल्यक्रिया सफल भएको छ।
सात दिनअघि ती बालिकाको पिसाबको नली काटेर पुनः व्यवस्थापन गरिएको थियो। सोही अस्पतालमा दोलखाका सोमी तामाङका २१ दिनका छोराको एउटा अण्डकोष ठूलो भएको (अब्स्ट्रक्टेड हर्निया) को शल्यक्रिया सफल भएको छ।
यो बालकको जन्मँदै एउटा अण्डकोष ठूलो थियो। चिसोले होला भनेर अभिभाावकले बढी सेकेपछि निलो भएर दुख्ने समस्याले अस्पताल ल्याइएको थियो।
‘एनस्थेसिस्ट’ डा प्रदीप कोइरालाई ती बच्चालाई बेहोस बनाउन निकै गाह्रो भएको थियो। उनका अनुसार ढिलो ल्याएको भए बच्चालाई जोखिम हुन सक्थ्यो।
केही समय पहिले दुर्घटनामा परी मलद्वार थुनिएकी सर्लाहीका १० वर्षीया अर्चनाकुमारीको पनि सफल शल्यक्रिया गरेका चिकित्सक कोइरालाले जन्मँदै आन्द्रा फुटेका चार बच्चाको शल्यक्रियाबारे विश्वका अन्य मुलुकका बाल सर्जनले पनि चासो दिएका छन्।
डा. कोइराला आउँदो अक्टोबर ३१ मा कतारको दोहामा हुने विश्व बाल सर्जन सम्मेलनमा उक्त विषयमा कार्यपत्र प्रस्तुतिको तयारीमा छन्।
अर्चनालाई नेपालमा उपचार गराउनुअघि भारतको पिजिआइ अस्पताल, गङ्गाराम अस्पताललगायत पाँच अस्पतालमा लगिएको थियो। भारतमा करिब रु पाँच लाख खर्च गरेर नभएको उनको उपचार नेपालमा रु ७५ हजारमा सम्भव भएको थियो।