काठमाडौं महानगरपालिकाभित्रका घर तथा सडकबाट उठाइएका फोहोर अबदेखि टेकु (ट्रान्स्फर स्टेसन)मा नथुपारिने भएको छ।
महानगरभित्र संकलित फोहोर टेकुस्थित स्टेसनमा थुपारिँदै आएकोमा गत आइतबारदेखि सबै फोहोर सिसडोलस्थित डम्पिङ साइटमा लैजाने व्यवस्था महानगरपालिकाले मिलाएको हो।
पहिले उठाइएको फोहोर टेकुमा जम्मा गरेर, छुट्टाएर, एक-दुई दिन त्यहीँ राखेर मात्र सिसडोल लगिन्थ्यो। स्थानीयले लामो समयदेखि यसको विरोध गर्दै आएका थिए। एक दशकभन्दा बढीदेखि टेकुको दुर्गन्धले आसपासका बासिन्दा आजित थिए। स्थानीय प्रतिनिधि र महानगरबीच धेरै अघिदेखि यसबारे छलफल पनि भइरहेको थियो।
अन्ततः गत आइतबारदेखि भने महानगरले स्थानीयलाई राहत दिने कदम चालेको जनाएको छ।
‘उठाइएको फोहोर टेकुमा राखेर त्यहाँबाट सिसडोल लगिने गरिएको थियो,’ महानगरका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले सेतोपाटीसँग भने, ‘अबदेखि टेकुमा फोहोर थुपार्न पाइँदैन। सिधै सिसडोल पुर्याउने व्यवस्थापन महानगरले मिलाइसकेको छ।’
टेकुमा फोहोर थुपार्न छाडेपछि त्यस क्षेत्रमा अब नाक थुनेर हिँड्नुनपर्ने उनले बताए। यहाँ पहिल्यैदेखि थुप्रिएको तीन मेट्रिक टन फोहोर पनि सिसडोल पुर्याइएको र दुर्गन्धमुक्त भइसकेको महानगरका श्रेष्ठले जानकारी दिए।
‘नयाँ व्यवस्थाअनुसार आज उठाइएको फोहोर आजै सिसडोल पुर्याउनुपर्छ,’ उनले भने। टेकुमा महिना दिनसम्म फोहोर थुप्रिँदा दुर्गन्ध बढेको जनगुनासो थियो। त्यस वरपरका बासिन्दा घरमा बस्दा पनि मास्क लगाएर बस्नुपर्ने अवस्था थियो।
वर्खामा पनि सिसडोलसम्म पुग्ने सडक खराब हुँदा टेकुमा धेरै दिनसम्म फोहोर थुप्रिन्थ्यो। अब स्टेशनमा फोहोर मिलाएर सिधै डम्पिङ साइटमा लैजाने उनले बताए।
आइतबारदेखि टेकुमा फोहोर नै नराखेको उनले दावी गरे।
‘हिजोदेखि टेकुमा फोहोर नै थुपारिएको छैन,’ उनले भने, ‘यसका लागि धेरै मेहनत गर्नुपर्यो।’
टेकुमा फोहोर थुपारिँदै आएको स्टेशन करिब ३९ रोपनी क्षेत्रफलमा फैलिएको छ। यहाँ अब कम्पोष्ट प्लान्ट निर्माण गर्ने कुरा भइराखेको तर निर्णय नभइसकेको पनि उनले बताए।
यसअघि महानगरले २०७२ सालमा पनि टेकुमा फोहोर नराख्ने निर्णय गरेको थियो तर कार्यान्वयनमा आएन।