वीरगञ्जस्थित नेसनल मेडिकल कलेजले एमबिबिएस पहिलो वर्षका विद्यार्थीबाट कानुनविपरीत शुल्क उठाएको पाइएको छ।
विद्यार्थीहरूका अनुसार सरकारले तोकेको शुल्कविपरीत उसले विभिन्न बहानामा अतिरिक्त थप पैसा तिराउने गरेको हो।
सरकारले राजधानीबाहिरका मेडिकल कलेजमा एमबिबिएस अध्ययनका लागि ४२ लाख ५० हजार रुपैयाँ शुल्क तोकेको छ। तर, उक्त मेडिकल कलेजले एमबिबिएस पहिलो वर्षका विद्यार्थीबाट ५५ लाख रुपैयाँसम्म शुल्क उठाएको हो।
एक विद्यार्थीका अनुसार होस्टल शुल्क, खाना, रजिष्ट्रेसन, ट्युसनलगायत भन्दै मेडिकल कलेजले जथाभावी शुल्क उठाइरहेको हो। शुल्क नबुझाए परीक्षामा समस्या आउने भनेपछि मेडिकल कलेजले भनेबमोजिम शुल्क बुझाउन बाध्य भएको ती विद्यार्थीले बताए।
‘शुल्क नबुझाए परीक्षा सारिदिन सकिने भनेपछि हामीले पैसा बुझायौं,’ ती विद्यार्थीले भने।
विद्यार्थीले मेडिकल कलेजले गैरकानुनी रूपमा पैसा उठाएको कागजात सेतोपाटीलाई उपलब्ध गराएका छन्। विवरणमा पाँच लाख रुपैयाँ लिखित रूपमै उठाएको पाइएको छ।
नेसनल मेडिकल कलेजले परीक्षा, रजिष्ट्रेसनबापत ३५ हजार रुपैयाँ उठाएको छ।
लाइब्रेरी शुल्क भन्दै ३५ हजार, ल्याब शुल्क ३५ हजार, ‘प्रमोसन’ बापत १ लाख २५ हजार, होस्टल ८५ हजार, मेस शुल्क ९० हजार, बिलम्ब शुल्क १६ हजार ८ सय र अन्य गरेर ४० हजार रुपैयाँ उठाएको छ।
एमबिबिएस पहिलो वर्षमा अध्ययनरत् एक छात्राका अनुसार कलेजले भर्ना हुनुअघि अतिरिक्त शुल्कबापत पाँच लाख छ हजार रुपैयाँ उठाएको थियो।
दोस्रो वर्षका लागि भनी असोज ३० गते ४ लाख ६१ हजार ८ सय रुपैयाँ उठाइसकेको छ।
ती छात्राका अनुसार कलेजले दोस्रो वर्षको अतिरिक्त शुल्क उठाएको भौचर नबुझाइ परीक्षा फारम भर्न दिएन।
‘परीक्षा फारम भर्न नदिएपछि शुल्क बुझाउन बाध्य भयौं, बुझाउन नमाने अभिभावकलाई बोलाएर डर त्रास देखायो,’ उनले सेतोपाटीसँग भनिन्, ‘एक साताअघि पैसा बुझाएपछि मात्र फारम भर्न दिइयो।’
आश्चर्य के छ भने २५ सय रुपैयाँ टियु रजिष्ट्रेसनबापत लाग्ने शुल्कमा नेसनलले ३५ हजार तिराएको छ। विद्यार्थी परीक्षा दिएर पास हुन्छन्, कलेजले त्यसमा ‘प्रमोसन’ भन्दै एक लाख २५ हजार रुपैयाँ उठाएको छ।
‘पढेर हामी पास हुन्छौं, त्यसमा प्रमोसन गरिदिएको भनेर १ लाख २५ हजार रुपैयाँ तिराइएको छ, यस्तो पनि हुन्छ?,’ उनले भनिन्।
होस्टलमा बसे पनि नबसे पनि नेसनल मेडिकल कलेजले ९० हजार रुपैयाँ तिराउने गरेको छ। ‘होस्टल शुल्क अनिवार्य नै गराएको छ। नबसे पनि तिर्नुपर्छ,’ छात्राले भनिन्।
विद्यार्थीले केही समयअघि यो शुल्कको कानुनी रूपमा कागजात दिन अस्पताल प्रशासनमा निवेदन नै दिएका थिए। तर, निवेदन दिने विद्यार्थीलाई पालैपालो बोलाएर कलेजले त्रास देखायो।
‘हामी यो शुल्कको न्यायोचित मिलान गर्छौं, यहाँबाट बाहिर कुरा नजाओस्, गयो भने उचित ठानिँदैन भनी हामीलाई डर देखाइएको छ,’ ती छात्राले भनिन्।
उनका अनुसार अभिभावकलाई बोलाएर जथाभावी बोल्ने, झापड हानेर पठाउनेसम्म गरिएको छ।
‘कस्तो पढाइ हुन्छ भनेर कक्षामा गएका केही अभिभावकलाई घोक्र्याएर बाहिर निकालिएको छ,’ उनले भनिन्, ‘साह्रै अमानवीय व्यवहार गरिन्छ।’
विद्यार्थीले कलेजको मनोमानी शुल्कविरूद्ध नेसनल मेडिकल कलेज संघर्ष समिति नै बनाएका छन्।
पछिल्लो समय निजी मेडिकल कलेजले जबरजस्ती रूपमा शुल्क उठाउन थालेपछि विद्यार्थीले चिकित्सा शिक्षा संघर्ष समिति नै बनाएर आन्दोलन गरिरहेका छन्।
सो समितिका उपाध्यक्ष प्रकाश चन्दका अनुसार नेसनल मेडिकल कलेजले विद्यार्थीसँग गैरकानुनी रूपमा उठाइरहेको पाइएको बताए।
हाल वीरगञ्जमै रहेका चन्दका अनुसार विभिन्न डर, त्रास र धम्की दिएर कलेजले अतिरिक्त शुल्क उठाइरहेको बताए।
‘विद्यार्थीलाई परीक्षा फारम नै भर्न नदिएर अर्को वर्षको लागि पनि अतिरिक्त शुल्क उठाइसकिएको छ,’ उनले भने, ‘यस्तो गैरकानुनी शुल्कविरूद्ध हामी निवेदन लिएर आइओएम जाने तयारीमा छौं।’
नेसनल मेडिकल कलेजका सञ्चालक बसरुद्दिन अन्सारी हुन्।
उनी नेकपानिकट मेडिकल व्यवसायी मानिन्छन्।
उनले सरकारले निर्णय गरेअनुसार नै त्यसमा कुनै फरक नपर्ने गरी शुल्क उठाइएको बताए।
‘हामीले रसिद काटेरै लिएका छौं, कुनै लुकिछिपी गरिएको छैन,’ अन्सारीले भने, ‘अहिले शुल्क निर्धारण तथा समायोजनसम्बन्धी केही विवाद छन्, यहीबेला यस्ता विवाद निकालिएको मात्र हो।’
यसअघि नेसनल मेडिकल कलेजले एकै विद्यार्थीबाट १२ लाख ८६ हजार रुपैयाँ अतिरिक्त शुल्क उठाएको भेटिएको थियो।
शैक्षिक सत्र २०१५/२०१६ को एमबिबिएस पन्ध्रौं ब्याचका विद्यार्थीबाट अन्य वार्षिक शुल्क ५ लाख ९८ हजार र होस्टल तथा मेस शुल्क भनी ६ लाख ८८ हजार रुपैयाँ अतिरिक्त शुल्क उठाएको थियो।
हेर्नुहोस् यो पनि:
नेशनल मेडिकल कलेजले असुल्यो एउटै विद्यार्थीबाट तोकिएभन्दा झण्डै १३ लाख बढी शुल्क
चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)ले योबाहेक अन्य कुनै पनि शीर्षकमा शुल्क उठाउन मेडिकल कलेजहरूलाई बन्देज लगाएको छ। तर, मन्त्रिपरिषदको निर्णय र आइओएमको निर्देशनविपरित नेसनलले विद्यार्थीसँग अतिरिक्त रकम उठाइरहेको छ।
नेसनल मेडिकल कलेजले गत वर्षदेखि नै अवैध रूपमा रकम उठाउने गरेको गुनासो विद्यार्थीले गर्दै आएका थिए। आइओएममै जानकारी दिँदा पनि कारबाही नभएपछि विद्यार्थी पीडित बनेका छन्।
एमबिबिएस शुल्कमा मेडिकल कलेजले मनोमानी शुल्क उठाउन थालेपछि अहिले आइओएममै शुल्क बुझाउने नियम बनाइएको छ। आइओएममा तोकिएको शुल्क बुझाए पनि विभिन्न शीर्षकमा मेडिकल कलेजले शुल्क उठाउने गरेका छन्।
नेसनलले एमबिबिएसमा सय सिट पाइरहेको छ। यसरी नियमविपरीत शुल्क उठाउने मेडिकल कलेजको सिट संख्या कटौती गर्नेदेखि सम्बन्धन नै खारेज गर्ने अधिकार आइओएमलाई छ। तर, आइओएमले पर्याप्त अनुगमन तथा कारबाही गरेको छैन।