'फूल किन्न आयो भनेको फोटो खिच्न पो रैछ'- किराना पसलअगाडि बसेर मखमली फूल उन्दै गरेकी भक्तपुर, गुन्डूऔ-७ की एक महिलाले फ्याट्टै भनिन्। उनीजस्तै यहाँका महिलाहरू आफ्नो गाउँमा आउने नयाँ मान्छेलाई फूल किन्ने ग्राहक ठान्दा रहेछन्।
सूर्यविनायक नगरपालिकामा पर्ने रानीकोट घ्याम्पेडाँडाको काखमा छ गुन्डू गाउँ। तिहार संघारमै आइपुगेका बेला यहाँका महिलाहरू मखमलीको माला गाँस्ने चटारोमा छन्।
जति धेरै फूल, उति धेरै माला। जति धेरै माला, उति धेरै पैसा। भ्याइनभ्याइ त हुने नै भयो।
तिहारको फूल भनेर चिनिने मखमली साउनदेखि फूल्न थाल्छ। प्लास्टिकका झोला, नाङ्लो, बाल्टी र बाटामा भरिभराउ फूल क्रमशः धागोमा उनिएर मालाको रुप लिँदैछन्। जति तिहार नजिकिँदै छ, उति बारी निख्रिँदो छ।
गुन्डूका बस्नेत गाउँ, मगर गाउँ र नगरकोटी टोल फूलखेती हुने मुख्य ठाउँ हुन्। कलेजी रङले ढकमक्क खेतबारी डुल्दै हामी उर्मिला नगरकोटीको आँगनमा पुग्यौं। यो नगरकोटी टोल हो।
यो ठाउँमा फूल व्यवसाय सुरू गर्ने पहिलो व्यक्ति पहलमान नगरकोटीकी छोरी भनेर आफूलाई चिनाउँछिन् उर्मिला। बरन्डामा बसेर मखमलीका भेट्ना भाँच्दै उनले आफ्नो परिवारको अनुभव सुनाइन् जुन गुन्डूकै फूल व्यवसायको इतिहास रहेछ।
'देउतालाई चढाउने फूल पनि बेच्छन् र? पैसा कमाइन्छ र?' सुरूमा छिमेकीहरू भन्थे रे।
'यसो भन्ने बेलामा मेरा बुबा फूल बेच्ने गाउँकै पहिलो व्यक्ति हुनुभयो,' उनले सुनाइन्।
मखमलीलाई नओइलाउने मायाको प्रतीक मानिन्छ। यही दीगो माया प्रकट गर्दै दाजुभाइलाई दिदीबहिनीले तिहारमा मखमली माला लगाइदिन्छन्। उर्मिलाका लागि भने मखमली र तिहार उनका बुबाको सम्झना बढाउने माध्यम हो।
'तिहार आउँदा लठ्ठीमा मखमली झुन्ड्याएर बुबासँगै पशुपति गइन्थ्यो। बुबालाई सघाउन आमा पनि फूलको भारी बोकेर जानुहुन्थ्यो,' उनले भनिन्, 'मखमली देख्दा उहाँको याद आउँछ।'
२०७३ सालमा बितेका पहलमानले झन्डै ३५ वर्षअघि फूल रोप्न थालेका रहेछन्।
'एक दिन बुबा पशुपति जाँदा माला बेचेको देख्नुभएछ। त्यही बेला उहाँलाई यो काम त म पनि गर्न सक्छु भन्ने लागेछ,' उनले कथा अघि बढाइन्।
पशुपतिकै मान्छेहरूसँग सोधपुछ गरेपछि पहलमानले असनबाट फूलको बेर्ना ल्याएर रोप्न सुरू गरेका रहेछन्। बुबाको कामलाई अहिले उर्मिलाले निरन्तरता दिइरहेकी छिन्। उनलाई भाइहरूले सघाइरहेका छन्।
फूल व्यवसाय गर्नुअघि परिवारले ठूलै आर्थिक अभाव झेल्नु परेको रहेछ।
'बुबा इँटा, बालुवा बोक्ने ज्यामी काम गर्नुहुन्थ्यो। काठमाडौंको बबरमहलदेखि बौद्धसम्म भारी बोक्न जानुहुन्थ्यो,' भावुक हुँदै भनिन्, 'गहुँको रोटी र अलिकति अचार रोटीमै दलेर, कपडामा पोको पारेर बिहानै निस्कनुहुन्थ्यो।'
जीविकोपार्जनका लागि ६ वर्षजति धागो कात्ने काम पनि गर्यो उनको परिवारले।
सानैदेखि बुबाको काममा सघाएकी उर्मिला स्कुल त गइन्, तर पढाइलाई अभाव र व्यवहारले थिच्यो। आज पनि एसएलसीसम्म पास गर्न पाएको भए जीवन अर्कै हुन्थ्यो कि झैं लाग्दोरहेछ।
'फूल बेच्न थालेपछि दुई छाक टार्ने दुःख पनि टर्यो। फूलबाट पैसा कमाउन सकिन्छ भन्ने देखेपछि गाउँका अरूले बुबाकै सहयोगमा रोप्ने तरिका सिके,' उनले सुनाइन्।
सुरूका वर्षमा गाउँलेका फूल बजारसम्म पुर्याउने काम पनि आफ्नै बुबामार्फत गरेका उर्मिला बताउँछिन्। यो नगरकोटी परिवारबाट सुरू भएको फूल व्यवसाय आज गुन्डूको पहिचान बनिसकेको छ।
दसैंतिहारमा सयपत्री र मखमलीको माग कति हुन्छ, गुन्डुका किसानले राम्रैसँग बुझेका छन्। विगत सात-आठ वर्षदेखि उनीहरू धानमकै घटाएरै भए पनि फूल बढाइरहेका छन्। नगदे बाली भएकाले उनीहरूको आकर्षण बढेको हो।
यहाँका महिला भान्साको कामधन्दासँगै फूलको काम गरिरहेका छन्। स्थानीय मात्रै होइन, रसुवाबाट आएका तामाङ महिलाहरूले समेत जग्गा भाडामा लिएर फूल खेती गरेर रोजीरोटी चलाइरहेका छन्।
फूलप्रति किसानको बढ्दो आकर्षण र व्यापारको तीव्र सम्भावना देखेर यहाँको वडा कार्यालयले आगामी दिनमा कृषकलाई सघाउने सोच बनाइरहेको वडाध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिए।
तिहारमा एउटा परिवारले औसतमा दुईदेखि छ हजार वटासम्म मखमली माला तयार पार्छ। गुन्डूमा फूल किन्ने व्यापारी धाइरहेका हुन्छन्। उर्मिलाको घरमा पनि नआउने हैनन्। तर उनीहरू बजार लगेरै बेच्न चाहन्छन्। आफैं बजार पुर्याउँदा बढी फाइदा हुने उनको अनुभव छ।
भनिन्, 'घरमै बेच्दा एउटा मालाको बढीमा २० रुपैयाँ आउँछ। असन, स्वयम्भू, पशुपतितिर बेच्दा ५० रुपैयाँसम्म पाइन्छ।'
उनको बुबाको पालामा एक मोहरमा एउटा माला बेचिन्थ्यो रे। गत तिहारमा उनले एक लाख पचास हजार रूपैयाँको मखमली बेचेकी रहिछिन्। सयपत्री पनि उत्तिकै। यसपालि भने उनको बारीमा सयपत्री सप्रेन।
उर्मिलाकै छेउमा मुढामा बसिरहेकी उनकी आमाले नसप्रिनुको कारण खुलाइन्, 'एकनासको फूल हुन्थ्यो। धेरै औषधि हालेर माटो बिग्रेको हो!'
'नगरपालिकाले माटो परीक्षण त गर्छन्। तर रिपोर्ट नै आउँदैन,' उर्मिलाले भनिन् मखमलीलाई धेरै सुख्खा हुनुहुँदैन, धेरै पानी हाल्दा पनि कुहिन्छ।
व्यवसायमा अलिकति तलमाथि परे पनि फूल बेचेरै चाडपर्व मनाउने खर्च उठ्दै आएको छ। भनिन्, 'हामी नेवारको चाडवाड नै धेरै।'
'ढाँटेर के गर्नू, यो काममा राम्रै फाइदा हुन्छ,' एउटै तिहारमा सात हजारसम्म मखमली माला बेचेकी उनले भनिन्, 'पैसा मात्रै देखिन्छ, दुःखको हिसाब गरेको हुँदैन क्या! एउटा बोटबाट एक हजार नाफा भयो भन्ने फेसबुकमा समाचार आएजस्तो होइन।'
तिहार कुरेरै बेच्दा बढी नाफा आए पनि जोखिम उत्तिकै हुने उनले बताइन्।
मखमलीको बिऊ फागुनमा राखिन्छ। बैशाखमा रोपेको मखमली साउनको पहिलो सातादेखि टिप्न थालिन्छ। रोपेदेखि बजार पुर्याउने बेलासम्मै कामैकाम। सुरुमै बेर्ना जोगाउने, गोडमेल गर्ने, पानी हाल्ने कामले चैतदेखि असार मसान्तसम्म व्यस्त बनाउँछ।
उनी जोड दिँदै भन्छिन्, 'धेरै खटिनुपर्छ के!' एकातिर घरको काम र अर्कोतिर बारी व्यवस्थापन गर्ने चुनौती छ।'
अहिले प्रायः घरभित्र मखमली माला लाठी वा काठमा लहरै राखिएको छ। फूल टिप्न हरेक दिन बिहान छ, सात नबज्दै बारीमा पस्छन् उनीहरू। टिपेर साउनदेखि नै तिहारको माला गाँस्न थालेको हो उर्मिलाको परिवारले। रातभर बसेर पनि माला गाँसेकी छन् उनले। यसमा परिवारका पुरुष सदस्य पनि हुने रहेछन्। दिनहुँ पचासदेखि डेढ सय माला उन्दैउन्दै अहिले दुई हजार पुगिसकेको छ।
'तिहारसम्म पाँचसय थपिन्छ होला,' उनले भनिन्।
मुख्य तिहारमै प्रयोगमा आउने मखमलीको व्यापार तिहारसँगै समाप्त हुन्छ। उर्मिलाको फूलसँगको सम्बन्ध भने सकिँदैन। बाह्रैमास चलिरहन्छ।
कात्तिकपछि उनी अरू फूल उमार्ने सुरसारमा लाग्छिन्। उनीहरूको सात रोपनी जग्गामा धान, तोरी, मकै र गहुँबाहेक भ्यागुते, मनमैजुलगायत जातका फूल रोप्छिन्।
'धेरै फूलको त नाम पनि थाहा छैन मलाई,' उनलाई यत्ति थाहा छ, जीवन धान्न बारीमा थोरै भए पनि बाह्रै महिना फूल फुलाइराख्नुपर्छ।
उर्मिलाका लागि फूल आयआर्जनको माध्यम मात्रै होइन, बुबाको मायाको महशुस पनि हो। उनी लठ्ठीमा मखमली झुन्ड्याएर बुबासँगै पशुपति गइरहेको सम्झिन्छिन्।
कुराकानी क्रममा एक दर्जन माला उन्न भ्याइसकेकी उनले भनिन्, 'फूलसँग नजिक हुँदा बुबा अझै नजिक हुनुहुन्छ जस्तो लाग्छ।'
सबै तस्बिरः प्रभाकर गौतम/सेतोपाटी