बिहेबारी बीस वर्ष पारी!
बालविवाह रोक्न र विशेषगरी महिलाको शारीरिक विकासलाई ध्यानमा राखेर मातृ मृत्युदर घटाउन सरकारले यो अभियान चलाएको हो। अभियानले मात्रै पुग्दैन भनेर बीस वर्ष नपुगी बिहे गरिदिनेलाई जेल र जरिवाना सजाय पनि तोकेको छ। यो कानुन सबै ठाउँमा व्यवहारमा लागू भएका छैनन्।
आफूखुसी बिहे गर्नेलाई त झन् कानुनले पनि के नै गर्ने र!
केही दिनअघि हामी पुगेको सिन्धुपाल्चोकको पाचँपोखरीस्थित मिजार टोल, भोटे नाम्लाङ र गुन्सा यस्तै ठाउँका उदाहरण हुन्। यहाँका अधिकांश किशोरी विवाहित मात्र होइन, आमा नै बनिसकेका छन्। हर र्टन (हाम्रो पालो) संस्थाले यी ठाउँका १९ वर्षमुनिका किशोरी आमालाई आफ्नो साथै बच्चाको स्याहार कसरी गर्नेबारे तालिम दिँदै आएको छ।
मिजार टोलमा मिजार, भोटे नाम्लाङमा तामाङ र गुन्सामा गोले र थिङको बस्ती धेरै छ।
मिजार टोलका महिला खेतीपाती र वस्तुभाउ हेर्छन् भने पुरुष प्रायः लघु उद्यममार्फत छाला सुकाएर बाहिर बेच्ने काम गर्छन्। करिब २५ घरधुरी भएको यो गाउँमा ९ घरका किशोरी तालिममा थिए।
पार्वती मिजार उनीहरूमध्ये एक हुन्। १७ वर्षमा बिहे गरेकी उनले १८ वर्षमा छोरी जन्माइन्। कलिलैमा बच्चा जन्माउँदा उनलाई भएको सकस सुनाउँदा अनुहारमा पनि पीडा देखिन्थ्यो।
'नानीलाई दूध खुवाउन नजान्दा झन्डै आफ्नो ज्यान गएको थियो,' पार्वतीले सुनाइन्, 'स्तनपान गराउने दूधको मुन्टा नै नभएर स्तन पाकेको थियो। अहिले बल्ल त्यस्तो अवस्थामा कसरी मुन्टो बनाउन पर्ने रहेछ भन्ने थाहा भयो।'
हाम्रो भेटमा उनले आफू फेरि गर्भवती रहेको बताइन्। यो पटक भने तालिमबाट धेरै ज्ञान पाएकाले पहिलेजस्तो समस्या नहुनेमा उनी निश्चिन्त सुनिन्थिन्। पहिलो बच्चा घरमै जन्माएको भए पनि अब 'बर्थिङ सेन्टर' जानुपर्छ भन्ने ज्ञान उनलाई भइसकेछ।
पार्वतीसँगै आएकी १८ वर्षीय विमला मिजारकाे भने सानो उमेर, स्वास्थ्यको उचित स्याहार नहुने र परिवारले पनि ख्याल नराख्ने हुँदा पहिलो बच्चा खेर गएछ।
विमलाले प्रेम बिहे गरेकी हुन्, त्यो पनि भागेर। कलिलैमा बिहे गरेपछि भोग्नुपर्ने समस्याको अन्दाज नै उनलाई थिएन, माया मात्र देखिरहिन्। सासूले घरमा थुनेर राख्ने र बाहिर केही बेर हिँड्दा पनि शंका गर्ने लगायत व्यवहारिक समस्या भाेगिन्। झन् गर्भ खेर गएपछि त शारीरिक र मानसिक स्वास्थ्य समस्या उस्तै।
'सानैमा गर्भ बसेपछि शरीर राम्रो हुँदैन। साह्रै दुःख हुन्छ। प्रेम बिहे गरे पनि पछि श्रीमानले वास्तै नगर्ने। यस्तै त हो यहाँ सबैको अवस्था,' विमला जस्ता किशोरीको समग्र अवस्था बताउँछिन् ५० वर्षीय स्वास्थ्य स्वयंसेविका पूर्णमाया गुरुङ।
पूर्णमायाले नै गाउँका यी किशोरी आमालाई तालिम दिएकी थिइन्। अन्य समय पनि महिला तथा बालबच्चालाई खोप लगाउने, पोलियो थोपा खुवाउने, जनचेतना फैलाउने साथै महिनैपिच्छे स्वास्थ्य रिर्पोट स्वास्थ्य चौकीसम्म पुर्याउने काम स्वयंमसेविकाका रूपमा उनले गर्नुपर्छ।
पूर्णमायाजस्ता स्वास्थ्य स्वयंसेविकाले महिनाको पाँच सय रुपैयाँ गाउँपालिकाबाट पाउँछन्। त्यही पनि स्वयंसेविका बन्न यहाँ तँछाडमछाड हुन्छ। स्वयंसेविका बन्न क्षमताभन्दा पनि परिवारबाट परिवारकै अर्को सदस्य वा पुस्तामा हस्तान्तरण हुने धेरै रहेछ।
'मेरी सासू स्वयंसेविका हुनुहुन्थ्यो। उहाँपछि म भए,' पूर्णमाया पनि त्यसैकाे उदाहरण हुन्। व्यवहारिक सिकाइ भए पनि यस्ता धेरै स्वयंसेविकाले प्राविधिक ज्ञान पाइरहेका हुँदैनन्। तै पनि विमला र पार्वतीजस्ता धेरैलाई उनीहरूले सहयोग गरिरहेका छन्।
विमला र पार्वतीजस्तै तालिममा सहभागी थिइन्, देवकी मिजार। उनी पनि आफूले चाँडै बिहे गरेकोमा चुक्चुकाउँछिन्। हाल दुई वर्षको बच्चाकी आमा देवकीको १७ वर्षमै बिहे भएकाे थियाे। 'सानोमा बिहे गर्नुहुँदैन, दुःख पाइन्छ' भन्ने उनीहरूले स्कुल पढ्दा र अरूले भनेको नसुनेका पनि होइनन्।
'तर के गर्नु? त्यति बेला बिहे भनेको कत्रो न कुरा! राम्रो लुगा लगाउन पाइन्छ, डोली चढ्न पाइन्छ भन्नेमा खुसी भइयो,' नौ कक्षासम्म पढेकी देवकीले भनिन्, 'अहिले त बिहे नभएको भए यति पढ्थेँ, यो गर्थेँ, त्यो गर्थेँ भन्ने हुन्छ। अब त बालबच्चा हेर्दै दिन जान्छ।'
गाउँमा धेरै किशोरी आमा भइसकेका छन्। अचेल याे त्रफम घटेको उनीहरू बताउँछन्। 'कसरी त' भन्ने कारण बताउँदा हामी चकित भयाैं।
'बिहे गर्ने उमेरका कोही पनि बाँकी त छैनन्। सबै बालखा मात्रै। जाने जति सबै गइसके नि,' उनीहरूले भने।
अझ भोटे नाम्लाङको मुख्य समस्या बहुविवाह पनि हो। यहाँका महिला-पुरुष उत्तिकै मात्रामा विदेशिने स्थानीयहरू बताउँछन्। श्रीमान विदेशिँदा श्रीमतीले अर्को बिहे गर्ने, श्रीमती विदेशिँदा श्रीमानले। बिहे र सम्बन्धविच्छेद त एकदमै सामान्य!
'आफ्नै मनखुसीले बिहे, पछि चित्त बुझेन भने डिभोर्स, फेरि विवाह! लथालिङ्ग छ। बुवाआमाको कुरा सुन्नेभन्दा पनि आफ्नै मनखुसी हुन्छ,' १९ वर्षीय विनिता तामाङले भनिन्। उनी आफैंले मनखुसी बिहे गरेकी रहिछन्। तर उनलाई यहाँको स्थिति आफ्नो माइती नगरकोटभन्दा झनै भयावह लाग्ने रहेछ। यहाँ अधिकांशले स्कुल पढ्दापढ्दै आफैं बिहे गर्छन्।
भोटे नाम्लाङको जनसंख्या अरू दुई गाउँभन्दा धेरै छ। तामाङ बहुल बस्तीकी अर्की सहभागी १७ वर्षीया रेजिना तामाङले पनि १५ वर्षमै बिहे गरिन्। १६ वर्षमा त बच्चा पाइहालिन्। तर उचित स्याहार नपुग्दा १२ दिनमै बच्चाको मृत्यु भएछ।
'खै के भयो भयो, धामीले फुक्दाफुक्दै मर्यो,' बिरामी हुँदा अस्पताल नगएर अझै पनि धामीलाई देखाउने चलन व्याप्तै रहेछ।
फेरि ७ महिनाकी गर्भवती उनलाई हामीले सोध्यौं, 'अब त धामीलाई देखाउनु हुन्न होला नि?'
आमा बन्ने भए पनि कलिली रेजिनाको व्यवहार अपरिपक्व छ। 'जान्नँ,' लजाउँदै विस्तारै उनले जवाफ दिइन्।
उता १७ वर्षमा बिहे गरेर १८ वर्षमा बच्चा पाउँदाको क्षण सम्झँदा विनिता तामाङ 'मरेर बाँचेको' महशुस गर्छिन्। फेरि अर्को बच्चा त कसै गरे पनि नपाउने भन्छिन्। तै बेलाबेला सासूससुराले भन्छन् रे, 'एउटा आँखा के आँखा, एउटा छोरा के छोरा।'
हाम्रो पालो संस्थाकी कार्यकारी निर्देशक अनिता थापाका अनुसार यी गाउँमा परिवार नियोजन गर्न हिच्किचाउनु अर्को भयावह समस्या हो। 'इश्वरको वरदान' भन्दै परिवार नियोजन नगर्ने, फेरि छोरा मात्रै भएर पनि नहुने, छोरी मात्र भएर पनि नहुने। झन् छोरी मात्रै भए त छोरा नपाउन्जेल जन्माइरहन पर्ने।
परिवार नियोजन गर्न परिवारले पनि निरुत्साहित गर्ने चलन छ। केहीले भने लुकाएरै पनि गर्ने रहेछन्।
'तामाङ जातिको त झन् दुइटा छोरा र दुइटी छोरी अनिवार्य हुनपर्ने रे,' त्यहाँकी स्वास्थ्य स्वयंसेविकाले भनिन्, 'एकअर्कालाई खेल्न साथी चाहिने रे।'
गुन्सामा तीन जना मात्र किशोरी आमा उपस्थित थिए– कान्छी गोले, पूर्णिमा गोले र मिनु गोले। उनीहरूले तालिमबाट धेरै सिकाइ पाएको बताए। पहिले घरमै बच्चा जन्माए पनि अब 'बर्थिङ सेन्टर' जानुपर्ने चेत उनीहरूमा देखियो। उनीहरू गुन्साका अन्य महिला झैं खेतीपाती गर्छन् भने उनीहरूका श्रीमान अरू पुरुष झैं विदेशिएका छन्।
कान्छी, पूर्णिमा र मिनुले नजिकै दुइटा स्कुल भए पनि पढेनन्। अहिले आफ्नो काखमा छोराछोरी छन्। प्रौढशिक्षा भए पनि पढ्न पाए अक्षर चिन्न सकिन्थ्यो भन्ने लाग्छ।
पाचँपोखरी र जुगलका सय किशोरी आमालाई तालिममा सहभागी गराइएकाे थियाे। त्यसक्रममा धेरै छुटेकाले फेरी दाेस्राे चरण तालिम दिने साेच रहेकाे हाम्रो पालोकी शोभना पोखरेल बताउँछिन्।
हामीले जति किशाेरी आमा भेट्याैं, उनीहरूले समग्र पाचँपाेखरीकाे अवस्था चित्रण गर्छन्। याे तालिममा पनि धेरै किशाेरी आमाले आफ्नाे वास्तविक उमेर भन्न सुरूमा हिच्किचाउदा समस्या भएकाे रहेछ। आफ्नो वास्तविक उमेर भन्दा कारबाहीमा परिन्छ भन्ने डर उनीहरूमा देखिएको साेभनाले बताइन्।