कपिलवस्तुको वाणगंगा नगरपालिका लक्ष्मणघाटका हम्मे बहादुर गाइने ६३ वर्ष पुगे।
स्कुल पढाउन नसकेपछि १२ वर्षको उमेरमै बुवाआमाले सारंगी थमाइदिएको पनि ५० वर्ष भयो। सारंगीलाई जीवन जिउने मुख्य साथी बनाएको पाँच दशक बितिसके पनि उनले सारंगी अझै बिसाएका छैनन्।
प्युठान खलंगाका भक्ति गाइने भनेर चिनिने उनका बुवा र बाजे गकुले गाइनेले सारंगी बजाएरै आफ्नो जीवन बिताए। तर हम्मे बहादुरले भने आफ्ना छोरा नातिलाई आफ्नो पुर्ख्यौली पेशामा ल्याउन सकेनन्।
‘मलाई बुवाआमाले पढाउन नसकेपछि सारंगी भिराएर पठाउनुभयो, गाउँघरमा डुलेर सारंगी बजाएर गीत गाएर चामल, पैसा लिएर आउँथें। अहिले गाउँघरमा सारंगी बोकेर डुल्ने चलन हरायो, त्यसैले पनि छोराहरू यो पेशामा आउन मानेनन्,’ उनले भने।
बढ्दो आधुनिकता र प्रविधिको विकाससँगै सारंगी बजाएर गीतको लयमा सूचना प्रदान गर्ने गन्धर्व समुदायको परम्परागत पेसा लोप हुँदै गएको उनी बताउँछन्।
आफ्नो पुर्खाले गर्दै आएको सारंगी बजाउने पेशा पूर्णरूपमा छोड्न नसके पनि गाउँगाउँमा डुल्दै सारंगीको धूनमा गीत गाएर हिँड्न छोडेको उनले बताए।
सारंगी बजाउँदै र गीत गाउँदै २०२३ सालमा कपिलवस्तुको लक्ष्मणघाटमा झरेका हम्मे बहादुरले यही पेशाबाट दुई छोरा र दुई छोरीलाई स्कुल पठाउन सके।
केही जग्गा जमिन पनि जोडे। तर अहिले सारंगी बजाएको सुनेर पैसा दिने व्यक्ति कमै मात्र भेटिने उनको अनुभव छ।
सरकारी क्षेत्रबाटै नेपाली लोकबाजाहरूको संरक्षणमा कुनै पहल हुन नसक्दा विदेशी आयातित बाजाले नेपाली बाजाको स्थान ओगटेको उनको भनाइ छ।
‘सरकारले नेपाली लोकबाजालाई कुनै प्राथमिकता नै दिएन, सारंगी, मुर्चुङ्गा, नर्सिङ्गा, सहनाई, मादल सबै लोप हुन थाले, अंग्रेजी बाजाले नेपाली बाजालाई खाइदिए,’ उनी भन्छन्, ‘यसको संरक्षण नगरेसम्म नेपालको संस्कृतिको संरक्षण हुन सक्दैन, यी बाजा नै नेपालको लोकसंस्कृति हो।’
आफ्नो पुर्ख्यौली पेसा संरक्षणप्रति उनी जति चिन्तित छन्, पुराना बाजा र सारंगीको संकलन र संरक्षणप्रति पनि उत्ति नै दत्तचित्त देखिन्छन्।
आफ्ना बाबुबाजेले राजदरबारमा बाजा बजाउने गरेको बताउने हम्मेबहादुरले श्रीखण्डको काठबाट बनाइएको राजा त्रिभुवनको समयको सारंगी समेत सुरक्षित राखेको दाबी गर्छन्।
‘राजपरिवारका सदस्यहरू विदेश जाँदा र आउँदा सारंगी बजाएर मेरा बाबुबाजेहरूले विदाई र स्वागत गर्थे अहिले पो राजा नमान्ने चलन आयो, राजपरिवारमा श्रीखण्डको सारंगी बजाइन्थ्यो’ उनले भने।
उनले उक्त सारंगी बाकसभित्र थैलोमा जतन गरी राखेका छन्।
‘यो आठ पुस्ताले बजाएको सारंगी हो काठ पनि श्रीखण्डको छ,’ उनले भने।
बाबुआमाका एक्लो छोरा उनले बुवालाई फकाएर सारंगी आफूले ल्याएको बताए।
उनले सारंगी र मादल बनाएर विक्री गर्दै आएका छन्।
एक लाख रुपैयाँसम्म दिँदा पनि पुराना सारंगी भने विक्री नगरेको उनी दाबी गर्छन्।
‘सारंगी र मादल बनाएरै दिनमा एक दुई हजार कमाएकै छु, पैसासँग पुरानो सारंगीको तुलना नै हुँदैन’ उनले सेतोपाटीसँग भने।
वर्षौ पुरानो सारंगी भएको थाहा पाएपछि विक्री गर्न आग्रह गर्दै उनकोमा ग्राहक जाने गरेका छन्।
उनलाई साथीले उपहार दिएको मालागिरीको सारंगी सबभन्दा प्यारो लाग्छ। घरमा जाने जोकोहीलाई पनि उनले त्यसकै धुन सुनाउने गर्छन्।
‘साथीको माया भएर पनि होला यसको धुन अलि राम्रो लाग्छ, ग्राहकले यो सारंगी पनि १२ हजारमा किन्न खोजेका थिए तर मैले विक्री गरिनँ’ उनले भने।
आफ्नो पुस्तौपुस्ता नेपाली लोकबाजा र संस्कृतिको संरक्षणमा लागे पनि सरकारी स्तरबाट पहल नभएको उनको गुनासो छ।
घरमै मादल र सारंगी बनाउँदै आएका उनले यी बाजा बनाउन र बजाउन तालिम समेत दिने गरेका छन्।
उनले सारंगी बनाउनकै लागि घर वरिपरि ‘बकाइनो’को बिरूवा लगाएका छन्। त्यही बकाइनोको काठलाई कुँदेर सारङ्गी बनाउँछन्।
सारंगीमा कुँदिएका आकृति र साइजको आधारमा ६ देखि ८ हजार सम्ममा विक्री गर्छन्।
घरमा सजाउनकै लागि पनि सारंगीको माग हुने गरेको उनले बताए।
सारंगीको लागि चाहिने तारको भने अभाव छ। ‘हेर्दा त धागो देखिन्छ तर यो घोडाको पुच्छरको रौं हो, हेर्नुस् त कस्तो राम्रो बज्छ’ उनले पुरानो सारंगी देखाउँदै भने।
‘घोडा जिउँदो रहँदासम्म सारंगी बज्छ, यो सारंगी बज्न छोड्यो भने घोडा मर्यो भनेर बुझे हुन्छ’ उनले आफ्नो विश्वास सुनाए।
उनलाई सारंगीका हरेक भागको काम र अर्थ थाहा छ।
‘सारंगीमा रहेका चार तारमध्ये मोटो दुई नं. तारलाई घोर भनिन्छ। बीचको दुइटा तीन नं. मसिनो तारलाई स्वर भनिन्छ भने अर्को एक नं. तारलाई तिख भनिन्छ, यी चारवटै तारले फरक फरक धुन निकाल्छन्, चारवटा तारमा ३६ वटा भाका हुन्छन्’ उनले अर्थ्याए।