कुलमान घिसिङ विद्युत प्राधिकरणको प्रमुख कार्यकारी भएर आएपछि काठमाडौं लोडसेडिङ मुक्त भयो। सबभन्दा बढी रौनक तिहारमा देखियो। मान्छेले धीत मर्ने गरी घर झकिझकाउ पारे। कतिपय टोलले त सडकलाई नै बत्तीको छाता ओढाए।
अहिले हामीसँग बिजुलीबत्तीको दु:ख छैन, त्यसैले झिलिमिली पार्न कञ्जुस्याइँ गर्नु पर्दैन। तर, बिजुली छ भन्दैमा अनावश्यक खर्च गर्नुपर्ने दरकार किन? के हामी बिजुलीको सट्टा परम्परागत दियो बालेर तिहार झलमल्ल पार्न सक्दैनौं र?
भक्तपुरमा जस्तै, जहाँ आज पनि तिहार बेला रंगीविरंगी बिजुलीबत्ती होइन, पालाचामा तेल राखेर रूवाको बाती बाल्ने चलन बढी छ।
यही परम्परागत चलनले भक्तपुरको पोटरी स्क्वायरमा केही दिनयता माटोको पालाचा बनाउनेहरूलाई भ्याइनभ्याइ छ।
'तिहारमा अझै पनि मान्छेहरू दियो बाल्छन् र? यो प्रश्नमा ६० वर्षदेखि माटाको भाँडा बनाउँदै आएका तुलसीराम प्रजापतिले भने, 'दियो बाल्ने चलन कहिले हराएकै छैन।'
'बजारमा जतिसुकै झिलिमिली बत्ती आए पनि दियोको माग घट्दैन, यो हाम्रो यस्तो परम्परा हो, जसको ठाउँ आधुनिक बत्तीले लिनै सक्दैन,' ८४ वर्षीय तुलसीरामले भने।
उनका अनुसार जनसंख्या वृद्धिसँगै पुराना घरहरूमा तल्ला थपिँदैछन्। घरसंख्या बढ्दैछ। यसले पालाचाको माग बर्सेनि वृद्धि हुँदै गएको छ। घरमा सिँगारपटार गर्न कसैकसैले झिलिमिली बाले पनि पूजा गर्न दियो नभई हुँदैन। लक्ष्मीको स्वागत गर्न आँगन उज्यालो पार्न र उनलाई बाटो देखाउन भर्याङ उज्यालो पार्न पनि दियो नै प्रयोग हुन्छ। त्यही भएर पनि दियोको प्रयोग कहिल्यै कम नहुनेमा प्रजापति ढुक्क छन्।
यति मात्र होइन, तिहारमा धनधान्यकी देवी लक्ष्मीलाई नयाँ भाँडा चढाउने चलन छ। अचेल यसमा पनि तामा र पित्तलका आधुनिक भाँडा चढाउने गरिन्छ। भक्तपुरमा पनि लक्ष्मीलाई चढाउन पनि माटोको भाँडा नै बढ्ता प्रयोग हुने उनले बताए।
'फेरि दियोको प्रयोग तिहारमा मात्र हुने होइन। बाह्रै महिना खपत भइरहन्छ, तिहारमा अलिकति माग बढ्ने मात्र हो,' उनले भने।
तुलसीरामले भक्तपुरको पोटरी स्क्वायरमा बसेर पालाचा लगायत माटोका अनेक भाँडाकुँडा बनाउन थालेको छ दशक भयो। यो उनको पुस्तैनी पेसा हो। तिहारबाहेक अरू समय खुत्रुके, घैंटो, मुकुट र जनावरका मूर्तिहरू बढी बनाउनुपर्छ।
यतिबेला उनी दैनिक चार सयदेखि पाँच सयसम्म पालाचा बनाइरहेका छन्। बिजुलीबाट चल्ने पाङ्ग्रा प्रयोग गर्न थालेपछि सिजनमा मागअनुसार उत्पादन गर्न सजिलो भएको उनी बताउँछन्।
संस्कृतिविद् ओम धौभडेलका अनुसार हिन्दु धर्मकथामा दियोसँग सम्बन्धित थुप्रै तथ्य जोडिएका छन्।
'लक्ष्मी सफा र उज्यालो घरआँगनमा मात्रै बास गर्छिन् भन्ने परम्परागत मान्यता छ,' उनले भने, 'शरद ऋतुबाट विस्तारै रात लामो र दिन छोटो हुँदै जान्छ। कोजाग्रत पूर्णिमापछि चन्द्रमा घट्दै औंसी नजिक हुँदै जान्छ। लक्ष्मीपूजा औंसीको दिन पर्ने भएकाले अँध्यारो लामो रातलाई झलमल्ल उज्यालो पार्न दियो बाल्ने चलन सुरू भएको हो।'
दियोसँग जोडिएको अर्को भनाइ पनि प्रचलित छ। पहिले शुद्ध घ्यू वा तोरीको तेलमा मात्र दियो बालिन्थ्यो। बाती बनाउन पनि राम्रो रुवाको धागो चाहिन्थ्यो। यसले हावामा भएका विषालु तत्व र नकारात्मक 'ऊर्जा' आफूतिर खिच्छ भन्ने भनाइ छ।
यहाँ दियोको तेल र रुवाको पनि सांकेतिक अर्थ छ। तेललाई इर्ष्या, लोभ, रिस, घृणा लगायत नकारात्मक सोचको प्रतीक मानिन्छ। रुवाले भने मान्छेलाई संकेत गर्छ। दियो बलेपछि तेल अर्थात् हाम्रो नकारात्मक सोच कम हुँदै जान्छ र उज्यालोले घेर्न थाल्छ। 'त्यही उज्यालोसँगै मान्छेको मनमा पनि शान्ति र सकारात्मक विचारले बास गर्छ भन्ने विश्वास गरिन्छ,' धौभडेलले भने।
यो भनाइ आयुर्वेद विज्ञानसँग मिल्दोजुल्दो रहेको धौभडेल बताउँछन्। अचेल विभिन्न थेरापी गर्दा आयुर्वेदिक तेलको दियो बाल्ने चलन छ। यसले कोठा सुगन्धित राख्नुका साथै अनिद्राको समस्या हटाउन मद्दत गर्ने विश्वास गरिन्छ।
उनका अनुसार आगोमा पोलिएकोभन्दा काँचो पालामा बत्ती बाल्नु उचित मानिन्छ। काँचो पालाले तेल कम सोस्नुको साथै धेरै बासना आउँछ।
कतिपय ठाउँमा कोजाग्रत पूर्णिमादेखि नै दियो बालेर लक्ष्मीपूजा सुरू गरिन्छ। धौभडेलका अनुसार कोजाग्रतको अर्थ 'को जागा छ' (बिउँझेको) भन्ने हो। यस दिन लक्ष्मी सबैको घरघर डुल्दै को जागेको छ भनेर हेर्छिन् रे!
धर्मशास्त्रअनुसार लक्ष्मीका १६ अवतार छन्। भाग्यलक्ष्मी, मोक्षलक्ष्मी, सन्तानलक्ष्मी, श्रीलक्ष्मी गर्दै कोजाग्रत पूर्णिमाका दिनबाट औंसीसम्म १६औं लक्ष्मी पुजिने धौभडेल बताउँछन्।
औंसीसँगै १६ वटै लक्ष्मीको पूजा सम्पन्न हुन्छ। औंसीको दिन पुजिने लक्ष्मीको स्वरूप फरक हुन्छ। लक्ष्मीका अरू अवतार बसेकी हुन्छिन् भने औंसीको दिन जसलाई हामी पूजा गर्छौं, उनी उभिएकी हुन्छिन्।
यी दिनमा लक्ष्मी पुज्दा बत्ती दिने परम्परालाई नेवारी भाषामा 'आलमट' भनिन्छ। लक्ष्मीलाई विशेषगरी खिर, सेलरोटी, फलफूल, मिठाइ लगायत चढाउने चलन छ। काठमाडौं उपत्यकाका नेवार समुदायले चामलको पिठोले बनेका विभिन्न जनावरका मूर्ति र कहीँकहीँ मासुसमेत चढाउने धौभडेल बताउँछन्।
'लक्ष्मी साकाहारी हुन् तर लक्ष्मीपूजाका दिन मासुको भोग चढाउनुपर्छ। पहिले लक्ष्मीलाई नवमीको दिनको मासु, रक्सी र अन्डा चढाउने गरिन्थ्यो। यो भक्तपुरको चलन थियो। अहिले भने चल्तीमा देखिँदैन,' उनले भने।
लक्ष्मी भित्र्याउने पनि विधि हुन्छ। परम्पराअनुसार सुरूमा गाईको गोबरले आँगन लिपिन्छ। हानिकारक कीरा, भुसुना नआउने भएकाले वैज्ञानिक हिसाबले पनि गोबरले लिप्नु फाइदाजनक मानिन्छ।
लिपिसकेपछि रातो माटोले आँगनबीचमा बनाइएको मण्डल (पिखालाखे) देखि लिएर घरको ढुकुटीसम्म लिप्दै लक्ष्मी हिँड्ने बाटो बनाइन्छ। त्यसमाथि चामलको पिठोको रेखा कोरिन्छ। मण्डल र ढुकुटीमा दियो बालिन्छ। यस प्रकारले लक्ष्मी भित्र्याउने विधिलाई नेवार भाषामा 'देउ सालेगु' भनिन्छ। अर्थात्, घरमा भगवान् तान्ने।
पहिले-पहिले दियो दुई ठाउँमा मात्र बाल्ने गरिए पनि पछि झ्याल–ढोका, आँगन र कुनाकुनामा समेत बाल्ने चलन बढ्दै गएको धौभडेल बताउँछन्।
'घरका यी भाग उज्यालो पार्न त पक्कै दियो नै ठिक हुन्छ,' बुट्टेदार पालाचालाई आकार दिँदै तुलसीरामले भने।