रन्जु यादवले सात महिनाअघि ‘कलर्स अफ चेन्ज’ शीर्षकमा आफ्नो पहिलो एकल चित्रकला प्रदर्शनी गरेकी थिइन्। सो प्रदर्शनीमा चौक (अरिपन) र मौख चित्रले उनका क्यानभासमा विशेष स्थान पाएका थिए।
घरको आँगनमा बनाइने चौकलाई उनले आर्ट काउन्सिलको प्रदर्शनी कक्षको भुइँमै पनि बनाएकी थिइन्। उनको यो शैलीलाई धेरैले सराहना गरेका थिए।
मैथिली समुदायले मनाउने तिहारमा चौकको खास महत्व छ। तिहारबाहेक अन्य अनुष्ठानमा पनि बनाइने चौक मिथिला लोक संस्कृतिमा प्रचलित भुइँचित्रको एउटा रुप हो। फरक फरक सन्दर्भमा बनाइने चौकहरू भिन्न हुन्छन्।
धार्मिक सांस्कृतिक अवसर र बिहेका बेला मिथिला क्षेत्रका घर र आँगनमा भुइँचित्र र भित्ताचित्र बनाउने लामो परम्परा छ। भुइँचित्रका रूपमा अरिपनजस्तै भित्ताचित्रका रुपमा ढोकाको दायाँबायाँ मोख चित्र बनाइन्छ।
रन्जु यो वर्षको राष्ट्रिय ललितकला पुरस्कारकी विजेता हुन्। विगत ६ वर्षदेखि व्यावसायिक रूपमा सक्रिय उनका चित्रमा मिथिला परम्पराको छाप प्रष्ट देखिन्छ।
राजधानीको ललितपुरमा बस्दै आएकी रन्जु तिहार र छठ मनाउन जन्मथलो सप्तरी जाने सुरसारमा थिइन्। त्यही बेला हामीसँग भएको भेटमा उनले भनिन्, ‘सप्तरी पुगेपछि आफ्नो घर, माइती र छिमेकीका घरमा समेत अरिपन र मोख चित्र बनाउनु मेरो मुख्य काम हुनेछ।’
रन्जु सानो छँदा हजुरआमा, आमा र आन्टीहरूले चित्र बनाएको देख्दा आफू पनि त्यसमा सहभागी हुन खोज्थिन् रे! सानैदेखि चित्र कुद्ने उनी बिस्तारै कपडामा बुट्टा कुद्न थालिन्। बुबा बितेपछि उनी सप्तरीको मल्हा छोडेर राजविराज पुगिन्। कक्षा सातदेखि काकाकाकीको घरमा बस्न थालेकी उनले हरेक वर्षको तिहारमा घरआँगन सिँगार्ने जिम्मा पाइन्।
त्यही घरआँगनमा कुँदिने चित्रलाई रन्जु अहिले कागज र क्यानभासमा उतारेर चर्चा कमाइरहेकी छिन्। साथसाथै, उनको कामले मिथिलाको परम्परागत लोकशैली र महिला सीपको राष्ट्रिय-अन्तर्राष्ट्रिय रूपमा प्रचार पनि गरिरहेको छ।
तिहारमा अनिवार्य बनाइने चौकबारे उनले भनिन्, ‘यो गोवर्धन पूजाको दिउँसोतिर बनाउन सुरू गरिन्छ। यो घरको आँगनमा बनाइन्छ।’
अधिकांश माटोको घर हुने मिथिलामा तिहारमा आँगन पोत्ने विशेष माटो हुन्छ। यो सेतो माटोलाई उनीहरु चिकनी माटो भन्छन्। गोबर र माटोले लिपपोत गरिसकेपछि त्यसमाथि अरिपन बनाइने रन्जु बताउँछिन्।
‘त्यसपछि चामल पिसेर बनाइएको पीठार (पीठो) मा कपास वा सफा सेतो कपडा हातमा राखेर मिस्तारै थिचेर औंलाले लेख्दै जाने हो,’ चौक बनाउने आफ्नो तरिका सुनाइन्, ‘यसमा चारवटा चक्र हुन्छन्। म त्यही चक्रबाट चौक बनाउन सुरू गर्छु र चारवटै चक्रलाई जोड्दै एउटा आकार दिन्छु।’
चक्र बनाउने तरिका सबैको उस्तै भए पनि यसलाई पूर्ण आकार दिन चौक बनाउनेले चित्रमा थरिथरिका बुट्टा बनाउँछन्। तिहार किसानको पर्व भएकाले यसभित्र हलो, जुवा, पशुका आकृतिदेखि घरका सदस्यको खुट्टा चिह्नसमेत कुद्ने गरिन्छ।
‘चौकमा हाम्रो जीवनशैलीको प्रतिविम्ब पाइन्छ। यसलाई हरेक घरको कुल देवताको बोसाइ थानसँग जोडिने गरी बनाइन्छ,’ रन्जुले भनिन्।
मिथिला संस्कृतिमा माछालाई शुभ मानिन्छ। यहाँ घरका कोही सदस्य बाहिर जाँदैछन् भने शुभ साइतका लागि गेटमा जिउँदो माछा राखिन्छ। रन्जुले बनाउने चौकमा पनि माछा छुट्दैन। चौकमा आजभोलिको जस्तो कृत्रिम रङ प्रयोग हुँदैन। प्राकृतिक रङ नै प्रयोग गरिनु यसको विशेषता हो। तिहार दियाबातीको चाड भएकाले रन्जुले बनाएको चौकमा दियोको प्रकाशलाई पनि समावेश गरेको देख्न सकिन्छ।
भरदुतिया(भाइटीका)को अघिल्लो दिन बनाइने चौकका चारवटा चक्रमा पर्ने गरी प्रशस्तै तोरी वा कोदोका दाना छरिन्छ। चक्रमाथि माटा वा काठको भाँडा राखी त्यसमा पनि चक्र बनाएर दियो बाल्ने चलन छ।
गोवर्धन पूजाको साँझ यदि यमराज कसैको आँगनमा आयो भने ती चक्रमाथि छरिएका तोरी वा कोदोका गेडा टिपेरमात्रै भित्र पस्न सक्छ भन्ने यहाँको जनविश्वास रहेछ।
उनले भनिन्, ‘मसिना तोरी वा कोदोका अनगिन्ती गेडा टिप्दाटिप्दै यमराज थाक्छ र दाजुभाइ माथिको संकट टर्छ भन्ने पहिलेदेखि चलिआएको विश्वास छ।’
भरदुतियाको दिन यही चक्रमाथि सनपाट (जुट) वा पिर्कामा दाजुभाइलाई राखेर टीका लगाइन्छ। चक्रमाथि पर्ने गरी टीका लगाइने भएकोले एकपटकमा एकजनालाई मात्रै टीका लगाइने उनले जानकारी दिइन्। दाजुभाइको रक्षा कामना गर्दै कुँदिने चक्रले रक्षा गर्छ भन्ने विश्वास जोडिएकाले पनि चौकको विशेष महत्व छ।
पहाडी समुदायले मनाउने तिहारमा जस्तै मिथिलावासीले पनि दाजुभाइलाई टीका लगाइदिइसकेपछि मीठामीठा परिकार खुवाउने चलन छ। तिहारमा दाजुभाइलाई खुवाइने मिथिला भोजनमा धेरै परिकार बनाइन्छ।
रन्जुले भनिन्, ‘दालभात, आलु, भान्टा, भिन्डी र अरू धेरै तरकारीको तरुवा बनाइन्छ। कडी, पकौडा, पापड र धेरै मीठा परिकारहरू।’
दाजुभाइले भने दिदीबहिनीलाई पहिले दही, चिउरा, साडी र चुरापोतेसमेत कोसेली लिएर आउँथे रे। अचेल प्रायः लुगा, फलफूल र मिठाई बोकेर आउँछन्। दिदीबहिनीले भने प्रत्येक दाजुभाइलाई एक किलो सुपाडी दिने चलन अनिवार्य जस्तै रहेको उनले बताइन्।
तिहार काग, कुकुर, गाई, गोरुदेखि दिदीबहिनी र दाजुभाइसम्मको पूजा हुने चाड हो। मिथिला क्षेत्रमा अरिपन बनाइने गोवर्धन पूजाको दिन पशु र चौपायाका लागि विशेष दिन हो।
‘यो दिन गोरु मात्रै हैन, गाई, भैंसीदेखि सबै पशुलाई नुहाइधुवाइ रंगरोगन गर्ने, पान, सुपाडी, धानलगायत मीठा परिकार खुवाइदिने रमाइलो चलन विशेष छ।’
यस्ता धेरै विशेषता बोकेको भए पनि मिथिलाको तिहारबारे धेरैलाई थाहा नभएको हो कि भन्ने लाग्दोरहेछ रन्जुलाई।
उनले गुनासो पोखिन्, ‘हामी मैथिली भाषीलाई काठमाडौंबाट छठ मनाउन मात्रै घर जान्छौं भन्नेहरू धेरै हुनुहुन्छ। तर हामीले मनाउने तिहार भव्य हुन्छ।’
सम्पन्न संस्कृतिमा हुर्केकी रन्जुको शैली परम्परागत भए पनि यसलाई उनले समकालीन समय र समाजसँग जोड्ने काम गरिरहेकी छिन्।
मिथिला लोककलालाई आजसम्म बचाइराख्नुमा महिलाको भूमिका महत्वपूर्ण मानिन्छ। महिला र मिथिला चित्रकला अभिन्न रुपमा जोडिएका छन्।
रन्जुले घर, आँगन र गाउँमा हजुरआमा, आमा र दिदी पुस्ताबाट देखे सिकेकै कुरालाई कागज र क्यानभासमा उतारेकी हुन्।
भन्छिन्, ‘मेरो चित्रमा मेरै समाजको रंग, विम्ब र विषय उतार्ने प्रयास गरेको छु।’