मुगु जिल्ला अस्पतालकी सिनियर अनमी पुण्यप्रभा देवकोटालाई स्थानीयहरू डाक्टरभन्दा कम्ता मान्दैनन्।
सरकारी स्वास्थ्य सेवा सन्तोषजनक छैन भन्ने आमधारणाविपरीत उनी सबैकी प्रिय हुनुको कारण हो, झन्डै दुई दशकदेखि दुर्गम क्षेत्रमा पुर्याउँदै आएको प्रसूति सेवा।
पुण्यप्रभाको धेरैजसो समय अस्पताल सुविधाबाट कोशौं टाढा रहेका गर्भवती महिलालाई घर-घर चहारेर स्वास्थ्य सेवा दिँदैमा बित्छ। पछिल्लो बीस वर्षमा उनले यसैगरी चार हजार जनालाई सुत्केरी गराइसकेकी छन्।
यही योगदानको कदर गर्दै इन्टेग्रिटी आइकन नेपालले केही साताअघि उनलाई 'करुणाका प्रतिमूर्ति' घोषणा गर्दै सम्मान गर्यो। उक्त संस्थाले सार्वजनिक गरेको स्वास्थ्य सेवातर्फ वर्षका पाँच उत्कृष्ट निजामती कर्मचारीको सूचीमा उनी परेकी थिइन्।
'यसले मेरो हौसला बढेको छ,' उनले भनिन्, 'मलाई जिम्मेवारी थपिएको अनुभूति भइरहेको छ, अब झन् जोसले काम गर्छु।'
जुम्लाकी पुण्यप्रभाले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको दुरूह अवस्था सानैदेखि देख्दै आएकी छन्। त्यसैले होला, उनले स्वास्थ्यकर्मी बन्ने सपना देखेकी थिइन्।
उनी १४ वर्षको हुँदा बुबाले संसार छाडे। राम्रो उपचार नपाएर थिलथिलो 'बा' को रोगी ज्यानले स्वास्थ्यकर्मी बन्ने उनको अठोटलाई अझ दृढ बनायो। प्रविणता तह पास भएपछि सदरमुकाममा अनमी कोर्स खुलेको थाहा पाउनेबित्तिकै उनले आवेदन दिइन्।
०५३ सालमा अनमी कोर्स पूरा गरेपछि ०५६ सालमा सरकारी कोटामा नाम निस्कियो। यहीँबाट सुरू भयो उनको स्वास्थ्यकर्मी जीवन।
यी २० वर्षमा पुण्यप्रभाले धेरै तीतामीठा अनुभव सँगालेकी छन्। धामी-झाँक्रीले काम नचलेपछि बल्ल अस्पताल लैजाने ग्रामीण सोच बेहोरेकी छन्। नाम मात्रको अस्पतालमा बिरामीलाई भुइँमै सुताएर उपचार गर्नुपर्ने बाध्यता झेलेकी छन्। डाक्टर भएपछि जसरी पनि निको पार्नुपर्छ भन्ने स्थानीय दबाब भोगेकी छन्। कलिलै उमेरदेखि छाउ (रजस्वला) नसुक्दासम्म आमा बन्नुपर्ने कर्णालीको कहर देखेकी छन्।
'मेरो कार्यकालमा गाउँको स्थिति फेरिएला कि उस्तै रहला है,' उनले सोचमग्न हुँदै भनिन्, 'स्वास्थ्य सेवाको यस्तो हालतमा उत्कृष्ट कर्मचारीको अवार्ड थाप्दा मलाई कताकता लघुताभाष पनि भइरहेको छ।'
०६६ सालको एउटा घटनाले त उनलाई सधैं झक्झकाइरहन्छ।
उनले मुगुको उपल्लो गाउँमा सुत्केरी गराउन पुग्नुपर्ने भयो। त्यहाँ पुग्न सदरमुकामबाट दुई दिन हिँड्नुपर्छ। उनी पुग्दा सुत्केरी व्यथा लागेको तीन दिन भइसकेको थियो। बच्चा जन्मियो तर श्वासप्रश्वासमा समस्या देखियो।
कलिलो उमेरमै चार सन्तान जन्माएकी र पर्याप्त पोषणयुक्त आहार नपुग्नुको परिणाम बच्चामा देखियो। बच्चालाई श्वासप्रश्वास सहज गराउन 'एम्बु ब्याग' चाहिने भयो। त्यो प्रविधि दुर्गममा सजिलै कहाँ उपलब्ध हुनु!
'मैले मुखैले कृत्रिम सास दिएर बचाउन निकै कोशिश गरेँ, तर दुई-तीन घन्टापछि बच्चा शिथिल हुँदै गयो। बचाउन सकिन। एउटा एम्बु ब्याग मात्र हुन्थ्यो भने बच्चा बाँच्ने सम्भावना थियो,' घटना सम्झँदै पुण्यप्रभाले भनिन्।
त्यो घटनाले उनलाई अहिलेसम्म मर्माहत तुल्याउँछ। आफैंलाई सोध्न मन लाग्छ– दुर्गम कोखमा जन्मन आइपुग्ने प्रारब्धको खेल होला? या, न्यूनतम स्वास्थ्य सेवाको सुविधासमेत दिन नसक्नु सरकारको झेल?
उनी आफूले नसक्ने काम पहिल्यै सक्दिनँ भन्छिन्, तर छोडिहाल्ने बानी छैन। क्षमताले भ्याएसम्म प्रयास गरिरहन्छिन्। केही दिनअघिबाटै तयारी गर्न सुझाउँछिन्। अस्पताल आएर मिति तय गर्नुपर्ने सल्लाह दिन्छिन्।
'बिहानभरि घाँस-दाउरा गरेर दिउँसो सन्तान जन्माउनुपर्ने बाध्यता छ, के को तयारी कहाँको अस्पताल?' उनी दिक्क मान्दै सुनाउँछिन्, 'तै पनि आफ्नो धर्म त पूरा गर्नैपर्यो। बच्चा जन्माउने समय आउँदै गरेको थाहा भएपछि म आफैं आमा र परिवारलाई भेटेर सम्झाइबुझाइ गर्छु।'
यतिका दुःख झेलेर पनि स्वास्थ्य सेवा रोज्नु र यसैलाई निरन्तरता दिनुको आफ्नै कारण छ, पुण्यप्रभासँग।
'दमका रोगी बाबुको अनवरत खोकी, थकान र छट्पटीले मलाई मुटुमै हानेजस्तो लाग्थ्यो। त्यति बेला धेरै बुझ्न नसके पनि म बुबालाई गाह्रो भएको थाहा पाउथेँ,' उनले भनिन्, 'उकालो-ओरालो गर्न बुबाको सामर्थ्यले भ्याउँदैन थियो, सानो औषधि र एउटा सुई दिन पनि डाक्टर गुहार्नुपर्थ्यो। उनीहरू भनेको बेला आइपुग्दैन थिए। बुबालाई झनै चाप्थ्यो।'
दुर्गमको स्वास्थ्य समस्या सानैमा नजिकबाट नियालेकी पुण्यप्रभालाई लागिरहन्थ्यो– औषधिको नाम पढ्न र सुई लागाउन आफैंले जान्न पाए अरूलाई गुहार्न त पर्दैनथ्यो!
त्यही हुटहुटी र छटपटीले स्वास्थ्यकर्मी बनाएको उनी बताउँछिन्।
'गाउँमा स्वास्थ्य स्वयंसेविकाहरू देखेको थिएँ, त्यस्तै बन्न पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो,' उनले भनिन्, 'मैले २१ वर्ष यो काममा बिताइसकेँ। मुगु फर्किएपछि तिनै दिदीबहिनीको सेवा गर्ने इच्छालाई सायद अब कुनै शक्तिले रोक्न सक्दैन।'
पुण्यप्रभालाई काठमाडौं, थापाथलीको प्रसूति गृहमा उपलब्ध प्रविधि र गर्भवतीले पाउने सेवासुविधा देखेर लोभ लाग्छ। अनौठो जलन पनि हुन्छ।
यहाँको सुविधा पनि पर्याप्त होइन, तर दुर्गमका आमा, दिदीबहिनीले यत्ति नपाएर प्रसूति वेदनामा ज्यान गुमाउनुपरेको पीडाले उनको मन कुँडिन्छ।
भन्छिन्– 'प्रसव वेदनबाट छट्पटिएर कोही अकाल मर्नु नपरोस् सरकार!'