पोखरा ३२ काठेगाउँकी ९ वर्षीया पूजा बि.क. माघ २३ गते सदाझैं स्कुलबाट फर्किन्। घरमा खाजा खाइन् र खेल्न भनेर साथीका घरतिर गइन्। रात अबेर भइसक्दा पनि पूजा घर नपुगेपछि परिवार खोजतलासमा लागे।
खोज्दै जाँदा उनीहरूले बाटोमा रगत देखे। रगत लागेको बाटो पछ्याए। जंगलनजिकै पूजाको शव क्षत–विक्षत अवस्थामा फेला पर्यो।
साथीको घरबाट फर्किन लाग्दा उनलाई बाटैमा चितुवाले आक्रमण गरेछ। चितुवाले उनको घाँटी चिथोरेको थियो भने शवबाट एउटा खुट्टा छुट्टिएको थियो।
काठेगाउँकी पूजालाई चितुवाले आक्रमण गरेको प्रकृति हेर्दा पुस १३ गते तनहुँको शुक्लागण्डकी नगरपालिका-३ रातमाटाको घटनासँग मेल खान्छ।
त्यति बेला रातमाटाका २ वर्षीय बालक रविन नेपालीलाई पनि यसरी नै चितुवाले आक्रमण गरेको थियो।
रातमाटामा रविनलाई आक्रमण गर्ने चितुवा नै पोखराको काठेगाउँ आएको हुन सक्ने जिल्ला वन कार्यालय तनहुँका प्रमुख केदार बराल बताउँछन्।
'तनहुँ र कास्की सिमाना जोडिएका छन्,' उनी भन्छन्, 'यी दुवै ठाउँ नजिकै रहेको र आक्रमणको प्रकृति हेर्दा एउटै चितुवा हुन सक्छ।'
तनहुँमा त चितुवा र मानिसबीचको द्वन्द्व पछिल्लो २ वर्षयता चर्किँदै गएको छ। पछिल्ला २२ महिनामा तनहुँको भानु, बन्दीपुर र शुक्लागण्डकीमा गरी ९ जना केटाकेटीको चितुवाकै आक्रमणबाट ज्यान गएको छ। जिल्ला वन कार्यालयको प्रयासमा ७ वटा चितुवा समातिएका छन् भने यही अवधिमा स्थानीयले ५ वटा चितुवा मारिदिएका छन्।
तनहुँको पनि भानु नगरपालिकामा चितुवाले सबभन्दा धेरै सताएको छ। थाहापाए अनुसार, पहिलोपटक भानु नगरपालिका-३ दोरदोरफाँटमा २०७४ साल फागुनमा ७ वर्षका विशाल श्रेष्ठको चितुवाले ज्यान लियो।
त्यसपछि २०७५ कात्तिकमा भानु-४ की ७ वर्षीया रञ्जिता लम्साल, मंसिरमा भानु-२ का ८ वर्षीय अमृत गुरुङले ज्यान गुमाए भने यो वर्ष जेठमा गते भानु-२ कै ८ वर्षीया पुष्पा अधिकारी, असोजमा भानु-१ का ३ वर्षीय आशिष बानिँया र कात्तिकमा भानु-२ का ७ वर्षीय ऋतिका रोक्काको ज्यान गयो।
भानु नगरपालिका वडा-२ मा मात्र ३ जना केटाकेटीसहित ६ जनाको ज्यान गइसकेको छ।
त्यस्तै २०७६ पुसमा शुक्लागण्डकी- ३ रातमाटाका २ वर्षीय रविन नेपाली र आबुखैरेनी- १ रानागाउँका ७ वर्षीय पुजन सिँजाली र माघमा बन्दीपुर-४ लोहिपाखाका ९ वर्षीय आशिष सुनारको चितुवाका आक्रमणबाट ज्यान गएको थियो।
तनहुँसँगै सीमा जोडिएको पोखराको काठेखोलामा गत साता ज्यान गुमाउने पूजासहित गरेर यस क्षेत्रमा ९ केटाकेटीको मृत्यु भइसकेको छ।
चितुवाको आक्रमणमा परेर घाइते हुनेहरू पनि उत्तिकै छन् जसमा सबभन्दा धेरै भानु नगरपालिकामै छन्।
गत भदौमा भानु-२ मा साँझपख २ वर्षीय बालक शुलभ दाहाल आमाकै अगाडि खेलिरहेका थिए। एक्कासि चितुवा आएर शुलभलाई समात्यो। आमा चिच्याइन्। हार–गुहार गरिन्। पोथी चितुवाले शुलभलाई आफ्ना दुइटा डमरूलाई खेलाउन दियो। ती दुई बच्चा चितुवाले शुलभलाई समातेर यता–उता गरिरहेका थिए।
शुलभकी आमा सरिताको चिच्याहट सुनेर गाउँले दौडेर आए। चितुवाको मुखमा पुगेको शुलभलाई जोगाउन सफल भए। यसरी भानु-२ मा मात्र ५ जना चितुवाको आक्रमणमा परेर बाँच्न सफल भएको जिल्ला वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए।
बस्न-खानै नदिने अवस्था आएपछि चितुवा नियन्त्रणका प्रयास थालियो। केटाकेटीमाथि आक्रमण थालेपछि चितुवालाई निगरानी राख्न सम्भावित ठाउँमा क्यामरा राखियो। क्यामरा ट्रयाक मार्फत चितुवा हिँड्ने बाटो पत्ता लागे।
पत्ता लागेका बाटोमा चितुवा समाउन ६ वटा फलामे खोर जडान गरियो। चितुवा लोभ्याउन खोरभित्र बाख्रा पनि राखियो। चितुवा हिँडिरहने विभिन्न बाटोमा १२ ठाउँमा खुट्टामा लाग्ने पासो थापिए पनि पासोमा चितुवा परेन।
त्यसपछि जिल्ला वन कार्यालयले भानु नगरपालिकाको चितुवा प्रभावित क्षेत्रका ९ वटा सामुदायिक वनमा १-१ वटा काठका खोर बनायो। यही प्रकृतिका खोर शुक्लागण्डकी र आबुखैरेनीका सामुदायिक वनमा पनि बनाइयो।
काठको खोरमा भने चितुवा फस्न थाल्यो। ६ जनाको ज्यान लिने र ५ जना घाइते बनाउने भानु नगरपालिकाभित्र मात्र यस्ता खोरमा २०७६ असोज १६ देखि मंसिर १५ गतेसम्म मात्र ५ वटा चितुवा परे।
खोरमा परेका यी चितुवामध्ये ४ वटालाई चितवन राष्ट्रिय निकुञ्ज र एउटालाई प्राणी उद्यान रुपन्देही लगियो। यस्तै, व्यास-९ मा गत पुस ९ गते खोरमा परेको चितुवालाई प्राणी उद्यान बुटवल र यही माघ २४ गते बन्दीपुर-४ लोहीपाखामा फलामे खोरमा परेका चितुवालाई तुलसीपुरस्थित राप्ती शान्ति पार्कमा स्थानान्तरण गरियो।
पोखरा-१६ सिप्लेकुनामा पनि गत साउन १ गते सोभित केसीको कुखुरा खोरमा एउटा पोथी चितुवा पस्यो। आहारा खोजीमा पसेको चितुवा त्यहीँ थुनियो। भोलिपल्ट लठ्याएर वन्यजन्तु उद्धार केन्द्र पोखरामा राखियो।
चितुवा नियन्त्रणका लागि तनहुँमा राष्ट्रिय प्रकृति संरक्षण कोष मार्फत ६ जनाको टोली परिचालित छन्। भानु नगरपालिकामा जिल्ला प्रशासन कार्यालय तनहुँबाट स्थानीय प्रशासन ऐन २०२८ अन्तर्गत गोली हान्ने आदेशसहित टोली जंगलमै खटिएका छन्।
गृह मन्त्रालयसँग समन्वय गरेर सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन सुरक्षाकर्मी सम्मिलित १९ सदस्यीय टोलीको सुरक्षादस्ता अहिले तनहुँका विभिन्न ठाउँमा गस्ती गरिरहेका छन्। सामुदायिक वनका स्थानीय प्रतिनिधि समेत सहभागी गस्तीले चितुवा देख्नासाथ लठ्याउन प्रयोग गरिने औषधि बन्दुकले हान्ने 'डार्टिङ' गर्छन्। डार्टिङको अवस्था नआए गोली नै हान्ने अधिकार यो टोलीलाई छ।
तर टोलीले यस अवधिमा एउटा पनि चितुवा भेटाउन सकेको छैन। कारण, चितुवाको देख्न सक्ने र सुँघ्न सक्ने क्षमता। चितुवाको खोजीमा जंगल चहारेका टोली नजिकै चितुवा नआउने गरेका होइनन्। बन्दुक बोकेर बसेका सुरक्षाकर्मीको टोली नजिकै रहेको चितुवाले थाहा पाइहाल्छ। टोलीले २०–३० मिटर दुरीमा चितुवा हिँड्को ताजा पाइला देख्छ। तर चितुवा देख्दैन।
जिल्ला वन कार्यालय तनहुँका प्रमुख बरालले भने, 'चितुवाको सुँघ्ने र सुन्ने क्षमता धेरै हुन्छ। त्यसकारण चितुवा मानिसको नजिकै आएनन्।'
त्यसो भए केटाकेटको नजिक किन आयो त ?
'चितुवाले आक्रमण गर्दा जहिले पनि आफूभन्दा सानालाई मात्र आक्रमण गर्ने बरालले बताए। केटाकेटी पनि अझै बसेको, घोप्टो परेको अवस्था देख्यो भने तुरुन्त आक्रमण गर्छ,' उनले भने, 'आफूभन्दा ठूलो देख्यो भने आक्रमण गर्दैन। आफैं डराएर पन्छिन्छ।'
आहारा खोजीमा चितुवा यसरी मानिस बस्तीमा आउने र बालबालिकालाई निशाना बनाउने गरेको उनको भनाइ छ। चितुवा आक्रमणमा परेका अधिकांश केटाकेटी घरनजिकैका बाख्राखोर वा गोठ आसपासमा भएको उनले बताए। चितुवाले शिकार गर्दा आफूले बोकेर लैजान सक्नेलाई मात्र गर्ने समेत उनले बताए। त्यही भएर नै बच्चाहरू चितुवाको निशानामा परेको उनको भनाइ छ।
चितुवाले एक दिनमा चार किलो मासु खान्छ। एकपटक गरेका शिकार नसकिँदासम्म उसले अरू शिकार नगर्ने बरालले बताए।
'चितुवाले दिनमा ४ किलो खान्छ, बाँकी लुकाएर राख्छ,' बरालले भने,'अर्को दिन फेरि त्यही शिकार झिकेर खान्छ र अर्को ठाउँमा लुकाउँछ।'
चितुवा मान्छे नजिक आउनुमा मान्छेकै हात पनि उत्तिकै रहेको बरालले बताए।
चितुवाले दुःख दिएपछिका यी २२ महिनामा तनहुँमा चितुवा नियन्त्रण सम्बन्धी विज्ञहरू सम्मिलित ८ वटा कार्यशाला गोष्ठी भइसकेका छन्। यी गोष्ठीले पनि मानवीय कारणले नै चितुवा हामीमाथि जाइलाग्न थालेको निष्कर्ष निकालेको उनले बताए।
एउटा जंगलमा एउटा भाले चितुवा ३ किलोमिटर वरपर मात्र घुम्छ। यो क्षेत्रभित्र अर्को भाले चितुवा भए आपसमा लड्छन्, वा एउटाले यो क्षेत्र छाड्छ। बरालका अनुसार, ३० किलोमिटर यो क्षेत्रमै थुप्रै पोथी चितुवा हुन सक्छन्। यति क्षेत्रमा यिनीहरूलाई आवश्यक आहारा र पानी स्रोत पर्याप्त भए चितुवा बस्तीमा आउँदैनन्।
जंगलमा पाइने चितुवाको आहारा मानिसले खान थालेकाले चितुवाले मानिसलाई नै खाइदिन थालेको संरक्षणकर्मीको भनाइ छ।
जंगलमा मृग, हरिण लगायत घाँस खाने वन्यजन्तु अहिले सकिँदैछ। चोरी-शिकारीले चितुवाको मुख्य आहारा वन्यजन्तु जंगलमा सकिँदैछन्। जसकारण चितुवा भोकै हुनुपर्ने र घरपालुवाको भर पर्नुपर्ने अवस्था छ।
तनहुँमा विगत ५ वर्षमा मात्र ३ सय बढी घरपालुवा जनावर चितुवाले खाइदिएको वन कार्यालयको रेकर्ड छ। जंगल, घाँसे मैदान र पाखामा पछिल्लो समय घाँसका रुपमा प्रयोग नहुने बनमारा जस्ता झार फैलिएकाले पनि घाँस खाने वन्यजन्तु अभाव भएको उनको भनाइ छ।
फेरि चितुवाको बस्ती नजिकैको जंगलमा बस्ने बानी हुने र घनाजंगलमा बस्न नसक्ने बरालले बताए। बिहान-बेलुका शिकार खेले पनि प्रायः सुतिरहने चितुवाको बानी हुने उनी बताउँछन्।
मानिसले खेतबारीमा खेती गर्न छाडेपछि चितुवालाई बस्ती नजिक आउन झनै सजिलो भएको छ।
'पहिले बस्ती र जंगलबीच खेतबारी हुन्थ्यो,' बरालले सेतोपाटीलाई भने, 'अहिले खेतबारीमा काम हुँदैन, सबै झाडी छ। यस्तो झाडी चितुवालाई लुक्ने उत्तम ठाउँ हुन्छ।
वन कार्यालय तनहुँ र कास्कीले चितुवा आक्रमणबाट मृत्यु भएकालाई राहत स्वरुप ७५ लाख रुपैयाँ क्षतिपूर्ति दिएको छ। यस्तै, तनहुँमा चितुवाको खोर बनाउनृ एक खोर बराबर ५० हजारका दरले ११ वटा खोर बनाउन सामुदायिक वन समितिलाई अनुदान दिएको छ। चितुवाकै कारण तनहुँमा झण्डै १ करोड बराबर खर्च भएको छ।
तनहुँका चितुवा प्रभावित क्षेत्रका १० स्कुलमा चितुवाको आनीबानी र यसबाट बच्ने उपाय बारे बालबालिकालाई जानकारी गराइएको छ। यस्तै, चितुवाका आहार प्रजाति संरक्षण, चोरीशिकारी नियन्त्रण, वनक्षेत्रमा वन्यजन्तुले खाने पानीका स्रोत संरक्षणका कार्यक्रम सामुदायिक वनमार्फत थालिएको छ।