धादिङको सिद्धलेक-७ की ६२ वर्षीया तुलसा आचार्य गत असोज ३० गते गाईबाख्रालाई घाँस-सेउला काट्न करेसामा गइन्। घाँस काट्ने क्रममा उनको दाहिने खुट्टाको पैतालामा काँडा बिझ्यो। निकाल्न खोजिन्, थोरै निस्कियो बाँकी भित्रै रह्यो।
सुरू त्यति दुखाइ थिएन। निको भइजाला भन्ठानेर घरेलु उपचार गरिन्।
पछि पैताला सुन्नियो। खुट्टा टेक्नै नहुने गरी पीडा हुन थाल्यो। बाँया खुट्टाको भरमा घरमा भित्र-बाहिर गरिन्।
दुखाइ कम हुनुको साटो थपिँदै गयो। अर्को खुट्टामा पुरै शरीरको भार पर्यो। बाँया खुट्टाले भार थाम्न सकेन, हिँड्नै नसक्ने गरी मर्कियो।
हिँड्डुल गर्न ठप्प भएपछि कात्तिक ३ गते छोरा विष्णु आचार्यले आमालाई काठमाडौं ल्याए। निजी अस्पताल गए काँडा निकालेकै कति धेरै पैसा लिन्छन् बरू सरकारी नै ठीक भनेर सोझै वीर अस्पताल गए। अस्पताल पुग्दा ओपिडी बन्द थियो।
तुलसाको दुखाइ बढ्दै थियो। घाउ टन्किएर न सुत्न सक्थिन् न उठ्न नै। विष्णुले आमाको त्यस्तो अवस्था हेर्न सकेनन्, सोही साँझ आकस्मिक कक्षमा भर्ना गराए।
डाक्टर आए। तुलसाले घटनाबारे विस्तृतमा भनिन्। डाक्टरले ओल्टाइपल्टाइ हेरे र भने- यी परीक्षण गराउनुस्।
काँडा बिझेर गएकी तुलसालाई ११ वटा परीक्षण गर्न लगाए। पीडा बढ्दै थियो, झन् डाक्टरले भनेपछि परीक्षण त गर्नैपर्यो। डाक्टरको सल्लाहअनुसार उनले सबै परीक्षण गरिन्।
एचआइभी एड्सदेखि हेपाटाइटिस, सुगर, युरिनलगायत परीक्षण भयो।
एक्सरे, इसिजी तथा युएसजी गर्न भने।
इमर्जेन्सी कक्षमा उनले डेढ घन्टा कुरेर भिडिओ एक्सरे गरिन्। एक्सरे सामान्य थियो। पैताला सुन्निएको ठाउँमा केही देखिएन।
केही समयपछि परीक्षणका अरू रिपोर्ट पनि आए, सबै सामान्य थियो। अल्ट्रासाउन्ड रिपोर्टमा केही वाह्य वस्तु नभएको भनेपछि आमाछोराको मन केही हल्का भयो तर तुलसाको दुखाइ भने हल्का भएन।
एकातिर खुट्टाको दुखाइ थियो अर्कातिर डाक्टरको व्यवहारले उनीहरूको मन कुँडियो।
बिरामी आमालाई डाक्टरले केही नभएको भन्दै गाली गरेको र डिस्चार्ज्ड हुन सक्ने बताएको बिष्णुले गुनासो गरे।
‘सामान्य केसमा अस्पतालमा नआउनु भन्दै डाक्टरले हकारे र औषधी खाए सञ्चो हुने बताए,’ बिष्णुले भने।
बिष्णु आफैंले रिपोर्ट हेरेका थिए। रिपोर्टमा आमाको स्वास्थ्य सामान्य देखिएपछि डाक्टरले भनेअनुसार औषधी किने र निको हुने आशमा धादिङ फर्के।
तुलसा जुन पीडा बोकेर काठमाडौं गएकी थिइन् त्यो आफैंसँग बोकेर घर फर्किइन। तैपनि त्यत्रा ठूला डाक्टरले भनेको कुरा ठीकै त होला नि भन्ने सोचिन्। डाक्टरले भनेबमोजिम औषधि खाइन्। जति गोली खाए पनि उनको दुखाइ कम भएन।
खपिनसक्नु पीडा भएपछि उनी कात्तिक १३ गते गल्छीको आधारभूत स्वास्थ्य केन्द्र गइन्। स्वास्थ्य केन्द्रमा हेल्थ असिस्टेन्ट विश्वराज आचार्य थिए। उनले सुन्निएको पैतला हेरे।
‘बाहिरबाट हेर्दा सामान्य सुन्निएको जस्तोमात्र देखिन्थ्यो तर भित्र पाकिसकेको थियो,’ आचार्यले भने,‘उहाँले घाउ छुन पनि नदिएपछि मैले बेहोस बनाउने ओषधी खुवाएर घाउ निचोरें।’
आचार्यले निचोरेपछि तुलसाको पैतलाबाट पीपसँगै काँडा निस्कियो।
‘लठ्याउने औषधी दिएर घाउ निचोरेपछि त ठूलो ठोसो निस्क्यो नि,’ तुलसाले सेतोपाटीसँग भनिन्, ‘काठमाडौँमा एक्सरे गर्दा केही छैन भन्नु भएको थियो। तर यहाँकैस्वास्थ्य चौकीमा काँडा सजिलै निस्कियो।’
अचेल तुलसाको दुखाइ कम भएको छ। यताउता हिँड्न सक्ने भएकी छन्। घाउमा ब्यान्डेज बाँधेकी छिन्।
वीर अस्पतालका डाक्टरले भनेको औषधी छोडेर एचए आचार्यले भनेअनुसार औषधी खाइरहेकी छन्। बेलाबेलामा अहिले पनि घाउ दुख्छ।
तुलसाको घाउ त बिस्तारै निको हुँदैछ तर यी आमाछोराको मनमा देशकै पुरानो वीर अस्पतालप्रति भने भरोसा टुट्दै गएको छ।
‘हामीले डाक्टरलाई काँडा बिझेको प्रष्टसँग भनेका थियौं, त्यति धेरै जाँच गर्न लगाए र काँडा छैन भने। त्यसमाथि डाक्टरको व्यवहारले निकै दु:ख लागेको छ,’ आचार्यले भने, ‘यो त सरासर अस्पतालको लापरबाही हो। हामीले जे भोग्यौं, अरूले त्यस्तो भोग्न नपरोस्।’
तुलसामाथि किन त्यस्तो भयो त?
वीर अस्पतालका कार्यकारी निर्देशक केदार सेञ्चुरीले एक्सरे गर्दा सबै प्रकारका वस्तु नदेखिने बताउँछन्।
‘सबै काँडा एक्सरेमा देखिन्छ भन्ने हुँदैन। मेटलको काँडामात्रै देखिन्छ झारपातको काँडा देखिदैन,’ उनले सेतोपाटीसँग भने, ‘कहिलेकाहीँ मिस पनि हुन्छ। कुहियो भने पनि काँडा नदेखिन सक्छ।’
बिरामीलाई हकारेको विषयमा उनले भने, ‘कहिलेकाहीँ बिरामीनै बढी बोलेर हकारेको पनि हुन सक्छ। हामीले जेनेरल इन्सट्रकस्न दिने भनेको सबै बिरामीलाई राम्रो व्यवहार गर्नु भन्ने नै हो। म यति नै भन्न सक्छु।’