सुर्खेतको चौकुने गाउँपालिका–२ लगामकी सिर्जना बस्नेत गर्भावस्थामा कुनै स्वास्थ्य समस्या नआएपछि आफ्नो बच्चा सामान्य रुपमा जन्माउन सक्नेमा ढुक्क थिइन्। नजिकको स्वास्थ्य संस्थामा महिनैपिच्छे गर्भ जाँच गराउने गरेकी सिर्जनाले दुई साताअघि शल्यक्रियामार्फत बच्चा निकाल्नुपर्यो।
सुर्खेतको पञ्चपुरी–५ बाबियाचौरकी सिता बमले तीन वर्ष पहिले शल्यक्रिया गराएर बच्चा जन्माएकी थिइन्। प्रदेश अस्पतालमा सुत्केरी हुन आएकी सिताले चिकित्सकको सल्लाह बमोजिम शल्यक्रियामार्फत बच्चा जन्माएकी हुन्।
‘नर्मल रुपमा हुने सुत्केरीभन्दा शल्यक्रिया गराएको धेरै असर हुँदोरहेछ,’ सिताले भनिन्, ‘बच्चा जन्माएको तीन वर्ष भए पनि काम गर्दा नसा दुख्ने, ढाड दुख्ने जस्ता समस्या पछिसम्म पनि आउँदा रहेछन्।’
पहिले शल्यक्रियाका लागि आफू तयार नभए पनि आमा र बच्चा दुवैको ज्यान जोखिममा पर्छ भनेपछि शल्यक्रिया गराउन बाध्य भएको उनले बताइन्।
विश्व स्वास्थ्य संगठनले प्रसूति सेवा लिन आउने कुल गर्भवतीमध्ये १५ प्रतिशतको मात्रै शल्यक्रिया हुने मापदण्ड तय गरेको भए पनि कर्णालीका ५० प्रतिशत महिलाहरु शल्यक्रियामार्फत नै बच्चा जन्माउने गरेका छन्। त्यसमा पनि अधिकांश कर्णाली प्रदेश अस्पतालमा आउनेहरुको नै शल्यक्रिया हुने गरेको छ।
कर्णाली प्रदेश अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. डम्बर खड्काले पछिल्लो समय शल्यक्रिया गरेर बच्चा जन्माउनेको संख्या बढेको बताए। ‘पहिले आक्कल झुक्कलमा मात्रै शल्यक्रिया हुनेमा अहिले त यो क्रम ह्वात्तै बढेको छ’ उनले भने ।
आर्थिक वर्ष २०७४/०७५ मा कर्णाली प्रदेश अस्पतालमा सुत्केरी हुन आएका गर्भवतिमध्ये ७३९ जनाको शल्यक्रिया गरिएको छ। यस्तै आर्थिक वर्ष २०७५/०७६ मा ८ सय ८८ जना महिलाको शल्यक्रियामार्फत बच्चा जन्माइएको प्रदेश अस्पतालका मेडिकल रेकर्ड अधिकृत विनोद बस्नेतले जानकारी दिए।
प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट खड्काका अनुसार आमाको पेटमा बच्चा उल्टो फर्किए, बच्चाको धड्कनमा तलमाथि भए, सुत्केरी व्यथा लामो समयसम्म लागे, रक्तचाप घटीबढी भएमा शल्यक्रिया गर्नुपर्ने हुन्छ। तर कतिपय गर्भवतिले पीडा सहन नसक्ने भन्दै शल्यक्रिया गराइदिन अनुरोध गर्ने गरेको उनले जानकारी दिए।
‘आमा र बच्चाको ज्यान जोगाउनका लागि पनि अस्पतालले शल्यक्रिया नै गर्नुपर्ने अवस्था आउँछ,’ डा. खड्काले भने, ‘कोही महिलाहरु त आफै शल्यक्रियाबाट नै बच्चा जन्माउने इच्छा गर्छन्’ डा. खड्काका अनुसार एकातिर देखासिकीले पनि शल्यक्रिया गरेर बच्चा जन्माउने क्रम बढेको छ। अर्कोतिर पीडा सहनै गाह्रो मान्ने भएकाले पनि यो क्रम बढेको उनले बताए।
कर्णाली प्रदेश अस्पतालमा सुर्खेत, दैलेख, सल्यान, जाजरकोट लगायत अन्य जिल्लाका स्वास्थ्य संस्थाबाट सिफारिस भएर गर्भवती
सुत्केरी हुन आउने गरेका छन्। सन्तानलाई जन्म दिन शल्यक्रिया गराउनेको संख्या बढेको भएपनि यो राम्रो भने नभएको खड्काको भनाई छ ।
शल्यक्रियामार्फत बच्चा जन्माउँदा महिलालाई दीर्घकालीन रुपमा नकारात्मक असर पर्ने उनले बताए। यो विधी खर्चिलो, झन्झटिलो मात्र नभएर स्वास्थ्यका दृष्टिकोणले पनि जोखिम हुने मेडिकल सुपरिटेण्डेन्ट डा. खड्काले बताए।