'पगडी' भन्नेबित्तिकै हामीलाई झट्ट याद आउने शिखहरू नै हुन्। हामीले देखे–जानेअनुसार पगडी शिखको पहिचान हो। घर होस्, गुरुद्वारा वा यसै बस्दा–हिँड्दा, शिखहरूको शिरमा पगडी छुट्दैन।
भारतीय क्रिकेट खेलाडी हरभजन सिंहलाई नै हेरौं न, उनको खाली टाउको कहिल्यै देखिँदैन।
हामीलाई झट्ट देख्दा–सुन्दा पगडी शिख धर्मावलम्बीले मात्र लगाउँछन् भन्ने लाग्न सक्छ। इतिहासका पाना पल्टाउने हो भने, धेरै शताब्दीअघि पगडी हिन्दू, मुसलमान, यहुदी र इसाईहरूले पनि लगाएको पाइन्छ।
पगडीको सुरूआत कहाँ र कहिलेबाट भयो भन्ने प्रस्ट इतिहास छैन, तर चार हजार वर्षअघि ईशापूर्व २३५० तिरको एक शाही 'मेसोपोटामियन' मूर्तिमा शिरमा पगडीजस्तै बेरिएको कपडालाई पहिलो पगडीका रूपमा लिइँदै आएको छ। यो पगडीजस्तै कपडाले अरू केही इतिहास झल्काउला वा नझल्काउला, तर अब्राहमिक धर्मको अस्तित्व रहेको पुष्टि भने गर्छ।
पगडी कुनै समय घाम, पानी र चिसोबाट बच्न भारत, मध्यपूर्व, युरोप र अफ्रिकामा समेत फैलिएको मानिन्छ। कतिपय क्षेत्रमा धर्मका आधारमा पगडी लगाइयो भने कहीँ विभिन्न संस्कृति र जातजातिले आफ्नो अलग पहिचान बनाउन बेग्ला-बेग्लै रङका पगडी लगाउन थाले।
आठौं शताब्दीमा इजिप्ट र सिरियामा पगडी लगाउनेको संख्या बढ्दो देखियो। इसाईहरूले निलो रङको पगडी लगाए भने यहुदीले पहेँलो र सामरियाले रातो रङको लगाए। मुस्लिमले भने प्रायः सेतो रङको लगाए।
भारतमा १६औं शताब्दीअघि राजदूत र उच्च पदाधिकारीले मात्र पगडी लगाउने अनुमति पाएका थिए। मुगल साम्राज्य स्थापनापछि मात्रै सामान्य व्यक्ति पनि पगडी लगाउन स्वतन्त्र भएका हुन्।
पगडी कुनै पनि व्यक्तिको पद झल्काउने प्रतीक थियो। यसलाई अन्य गहना र मयूरको प्वाँख राखेर सजाउने पनि गरिन्छ।
केही कट्टर हिन्दू धर्मावलम्बीहरू आफ्नो पगडी कसैलाई दिन नहुने विश्वास राख्छन्। पगडी लगाउने तरिकामा इस्लाम धर्मावलम्बीले केही परिवर्तन ल्याए। भारतमा पगडी सानो र संकुचित बनाएर लगाइँदै आएको थियो। पछि इस्लामले फराकिलो बनाउँदै फरक तरिकामा लगाउन थाले। उनीहरूले फारसी र अरबी सम्पदाकै मर्मअनुसार पगडी लगाउन थालेका हुन्।
पछि जब औरंगजेब सत्तामा आए, पगडीलाई राज्यको जनसंख्या छुट्याउने साधनका रूपमा प्रयोग गरियो।
औरंगजेब मुगलका सबभन्दा विवादास्पद शासक थिए। उनले मुस्लिमबाहेक अन्य धर्मकालाई पगडी लगाउनबाट रोक्न खोजे। उनका अनुसार पगडी इस्लामिक शासकले मात्र लगाउने अधिकार थियो।
उनको यस्तो जबरजस्ती रुपान्तरण र कट्टरपन्थी नीति बढ्दो शिख जनसंख्याका अघि टिकेन। त्यो समय शिख धर्मका गुरु तेघबहादुर थिए। उनलाई औरंगजेबले दिल्लीमा फाँसी दिएपछि उनका छोरा गोविन्दले योद्धाहरूको एउटा समूह बनाएर 'खलसा' नामाकरण गरे।
पहिले शिखहरूले कपाल छोप्न पगडी लगाउन थालेको भन्ने मान्यता थियो। पछि यही पगडी शासकविरूद्ध विद्रोहका रूपमा अघि बढ्यो। यो शिख धर्मको स्वतन्त्रताको चिह्न, समानताको प्रतीक र जातीय भेदभाव अन्त्यको बाटो बनेको थियो।
ब्रिटिस शासनअन्तर्गत रूपान्तरण
पञ्जाबमा ब्रिटिसको आगमनसँगै सन् १८४५ बाट शिख धर्ममा सबभन्दा ठूलो र महत्वपूर्ण परिवर्तन आयो।
ब्रिटिस शासकले 'खलसा' लाई पराजित गरे पनि उनीहरू खलसाको सैन्य सीपबाट प्रभावित थिए। योसँगै ब्रिटिसले आफ्ना सेनामा शिखहरूलाई भर्ती गर्न थाले। ब्रिटिस सेनामा हिन्दू र मुस्लिम दुवै धर्मका सेना पहिल्यै थिए।
जातीय मुद्दाले ब्रिटिस-भारतीय सेनाको एकजुटलाई असर पार्न सक्छ भन्ने सोचले ब्रिटिसले सबै सैनिकलाई पगडी लगाउन अनिवार्य गर्यो। यसले सबैमा समानताको भाव जगाउन मद्दत त पुग्यो, तर व्यवहारिक रूपमा लागू हुन सकेन।
पगडीको विभिन्न आकार र लगाउने शैली औपनिवेशिक शासकहरूका लागि सामान्य बन्न सकेन। उनीहरूका लागि यो एक कपडा बेरेजस्तो मात्र भयो।
त्यसपछि उनीहरूले परम्परागत रूपमा सोलोडोलो पारेर बाँधिने पगडीलाई पट्याएर लगाउँदै पगडीको प्राचीन 'स्टाइल' प्रतिस्थापन गरे। यसलाई अहिले 'केन्यान स्टाइल' भनिन्छ।
ब्रिटिस शासकहरूले रेजिमेन्टको पहिचानका लागि एक आधिकारिक प्रतीक/चिह्न प्रयोग गर्न थाले। यो प्रायः जाति वा वर्गका आधारमा गरिएको थियो। शिख सैनिक पहिचानका लागि उनीहरूले पगडीको अघिल्लो भागमा 'चक्कर' चिह्न राखिदिए। चक्कर अर्थात् फालेर प्रयोगमा ल्याउने हतियार।
पछि ब्रिटिस शासककै प्रभावमा शिखको पहिचानका लागि उनीहरूको दाह्रीजुँगा बाँध्न लगाइएको थियो। परम्परागत शैलीमा शिखका दाह्रीजुँगा लामो भएसँगै खुला छाडिन्थ्यो। यस्तो हुँदा ब्रिटिस हतियार प्रयोग गर्ने क्रममा केही समस्या हुन्थे।
खुला छाडिएका दाह्रीजुँगा शिखहरू आफ्नै लागि पनि जोखिमपूर्ण हुन्थ्यो। बन्दुक प्रयोग गर्दा आगो समात्ने डर हुन्थ्यो। यसको समाधान भनेकै दाह्रीजुँगा राम्ररी बाँध्नु नै थियो।
ब्रिटिसले सम्पूर्ण शिख सेनालाई आफ्ना दाह्रीजुँगा चट्ट पारेर आफ्नो चिउँडोमा बाँध्न लगाए। पछि यही नै उनीहरूको सैन्य पहिचान बन्यो। अहिले पनि शिख पुरुषहरूमा दाह्रीजुँगा बाँध्ने चलन देखिन्छ। यसलाई उनीहरूले सौन्दर्य र आस्थासँग पनि जोडेको पाइन्छ।
पहिलो विश्वयुद्धताका भारतीय शिख सैनिकहरूले आठ मिटर लामो कपडाको ठूलो र प्रभावशाली पगडी लगाएका थिए। दोस्रो विश्वयुद्धमा मुस्लिम र हिन्दू सिपाहीले पगडी नलगाए पनि हुने नियम आयो। यो नियम पहिलो चरणमा सेनामा मात्र लागू भए पनि पछि भारतमा शिखबाहेकले पगडीलाई आफ्नो पहिचानका रूपमा लिन छाडे।
युद्धपछिको संघर्ष
सन् १९४७ मा ब्रिटिस शासकबाट स्वतन्त्र भएसँगै भारतबाट छुट्टिएर पाकिस्तानको जन्म भयो। केही धार्मिक समूहले आफ्नो धर्म, संस्कृति र अन्य कुरासँग आफ्नो पहिचान जोडे। नवगठित पाकिस्तानमा बसाइएका भारतीय मुसलमान समुदायले आधा चन्द्रमा राखेर हरियो पगडी लगाउन थाले। यसअघि भारतका मुसलमानले सुन्तले पगडी लगाउँथे।
यता हिन्दूहरूले मुसलमानबाट आफूलाई अलग देखाउन पगडीसँगै लुगा बदले। भारतमा कुनै समय पगडी राष्ट्रकै पहिचान थियो। पछि पगडी लगाउनेमा शिख धर्मावलम्बी मात्र बाँकी रहे। अहिले केही हिन्दू र केही मुसलमानका लागि पगडी बिहेजस्ता कुनै खास अवसरमा मात्र लगाउने विशेष पोशाक बनेको छ।
भारत र पाकिस्तान विभाजनसँगै केही शिख बेलायत बसाइँ सरे। शिखहरूले युद्धमा दिएको योगदानस्वरुप उनीहरूलाई सम्मान र स्वागत गरिएको थियो। कृतज्ञता स्वरुप उनीहरूलाई सुरूका दिनमा सिनेमाका टिकटसमेत निःशुल्क गरिएको थियो। यस्तै अन्य सुविधा शिखका लागि बेलायतमा सामान्य थियो।
समयसँगै यी सुविधा हराउँदै गए। उनीहरूले शिखहरूको गौरव विस्तारै बिर्सिँदै गए। शिखहरूले पनि बेलायतमा घुलमिल हुन पगडीलाई बाधा मान्न थाले। राम्रो जीवनको आशामा आफ्नो जन्मभूमि छाडेका शिखहरूलाई त्यहाँ पूरा भिज्न दुई विकल्प थिए- पगडी निकालेर कपाल काट्ने वा परैबाट ध्यान नखिचियोस् भनेर गाढा रङको सानो पगडी लगाउने।
धेरैले यी दुई विकल्प अपनाएका थिए भने केहीले यसको विद्रोह गरेका थिए। यसका ज्वलन्त उदाहरण अवकाशप्राप्त पुलिस अफिसर सोहान सिंह जोली हुन्।
बेलायतका बस चालकहरूलाई कामको समयमा पगडी लगाउन प्रतिबन्ध गरेकामा जोलीले विद्रोही आवाज उठाएका थिए। विरोधका सबै विधि अपनाएका उनले उक्त नियम परिर्वतन नभए आफूले आफैंलाई जलाउने धम्की पनि दिएका थिए। उनको अभियान अन्ततः सफल भएको थियो।
जोलीको अभियानमा सबै सहमत भने थिएनन्। जोलीको यस्तो कदमले शिख धर्ममा उग्रवादी समस्या भएको आरोप आउने डर थियो। पछि शिखहरूले उक्त भेदभावविरूद्ध अदालतमा लड्न थाले।
सन् १९७० दशकमा ब्रिटिसले बिनाहेलमेट मोटरसाइकल चलाउन नपाउने नियम ल्यायो। यो भनेको शिखहरूले मोटरसाइकल चलाउँदा पगडी लगाउन नपाउनेजस्तै भयो। शिखहरूले यो नियम अस्वीकार गरे। पछि एक नियमका लागि धर्मलाई नै असर पार्न नदिन कानुन संशोधन गरियो।
सन् १९८० दशकमा १२ वर्षीय गुरिन्दरसिंह मन्डलको परिवारले विर्मिङहाम विद्यालयमाथि जातीय भेदभावको मुद्दा हाले। गुरिन्दर सिंहले पगडी नखोल्ने भएकाले विद्यालयमा स्थान नहुने भन्दै विर्मिङहामले अस्वीकार गरेको थियो। यो घटनापछि ब्रिटिस कानुनले पगडीलाई कानुनी दर्जा दियो। त्यसपछि बेलायतमा शिखहरूलाई व्यवहार गर्ने तरिकामै परिवर्तन देखियो।
अहिले बेलायतमा शिखहरूलाई पगडीका कारण कुनै पनि खालको असहजता झेल्नुपर्दैन। युवा शिखहरूले आफ्नो व्यक्तित्व र पहिचान झल्काउने संकेतका रूपमा सजाएर पगडी लगाउँदै आएका छन्। यसलाई उनीहरूले विश्वासको प्रतीक पनि मान्छन्।