बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले कर्णाली प्रदेशका चार सय बढी पुरोहितलाई एकदिने प्रशिक्षण दिइएको छ।
समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत कर्णाली प्रदेश प्रहरी कार्यालयले दशवटै जिल्लाका ४ सय पुरोहितलाई सहभागी गराएर बुधबार प्रशिक्षण दिइएको हो।
बालविवाह सम्बन्धी कानूनी व्यवस्थाको बारेमा पुरोहितलाई सचेत गराउने, बालविवाह अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउने उद्देश्यका साथ प्रशिक्षण दिइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पूर्णचन्द्र जोशीले जानकारी दिए।
दशवटै जिल्लाका सदरमुकाममा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा बालविवाह, यसका प्रमुख कारणहरु, बालविवाहबाट हुने विभिन्न खालका असर, यससम्बन्धी कानूनी व्यवस्था, बालविवाहका कारण हुने अपराध लगायतका विषयमा प्रशिक्षण दिइएको उनले बताए।
‘रीतिअनुसार पुरोहितले विधी पु¥याएमा मात्र विवाह हुने हो, यसक्रममा धेरैजसो बालविवाह पुरोहितले विधी पुर्याउँछन्’ डिआईजी जोशीले भने, ‘तिनै पुरोहितहरुलाई एक ठाउँमा भेला गराएर बालविवाहका विविध विषयमा प्रशिक्षण दिएमा न्यूनीकरणमा केही सघाउ पुग्ने अपेक्षा गरिएको छ।’
प्रदेश प्रहरी कार्यालयले संकलन गरेको तथ्याङ्क अनुसार कर्णाली प्रदेशमा ४ सय ४४ जना पुरोहितहरु छन्। जसमध्ये सुर्खेतमा ६५, दैलेखमा ३९, कालिकोटमा ४१, जुम्लामा ५३, मुगुमा २५, हुम्लामा २३, डोल्पामा ५१, सल्यानमा ९२, जाजरकोटमा ३२ र पश्चिम रुकुममा २३ जना पुरोहित छन्।
बाल विवाहसम्बन्धी २२ मुद्दा
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशका १० वटा जिल्लाबाट गरी अघिल्लो आर्थिक वर्ष र यो आर्थिक वर्षको हालसम्म २२ वटा मुद्दा प्रहरीमा दर्ता भएका छन्।
गत आर्थिक वर्ष ०७५/७६ मा सुर्खेतबाट ७, दैलेखबाट ७, सल्यानबाट ३, जुम्लाबाट २ वटा बालविवाहसम्बन्धी मुद्दा दर्ता भएका छन्। चालु आर्थिक वर्षको हालसम्म सल्यानबाट तीन वटा बाल विवाहसम्बन्धी मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।
गरिबी, अशिक्षा, चेतनाको कमी, सामाजिक सञ्जालहरुको दुरुपयोग, देखासिकी प्रवृत्ति, बढ्दो आधुनिकीकरण जस्ता कारणले कर्णाली प्रदेशमा बालविवाह हुने गरेको प्रदेश प्रहरी प्रमुख डिआईजी जोशीले बताए।
१४४ जनाको उद्दार
कर्णाली प्रदेशमा बालविवाह हुन लागेको अवस्थामा १४४ जनाको उद्दार गरी अभिभावकको जिम्मा लगाइएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यो विगत चार वर्षयताको तथ्याङ्क हो।
कार्यालयको तथ्याङ्क अनुसार आर्थिक बर्ष ०७३/७४ मा २१, ०७४/७५ मा ४७, ०७५/७६ मा ५९ जनाको बालविवाह हुँदै गर्दा उद्दार गरी अभिभावकको जिम्मा लगाइएको छ। चालु आर्थिक वर्षको हालसम्म १७ जनाको उद्दार गरी अभिभावकको जिम्मा लगाइएको छ।
मुलुकी संहिता अनुसार बालविवाह गर्ने र गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था छ। यस्तै बालविवाह भइसकेपछि पनि स्वतः बदर हुन्छ।