डाक्टर तथा पाइलट बन्ने धेरैको सपना हुन्छ। तर सपना सबैको साकार हुँदैन। कसैको पढाइ क्षमताले रोक्छ त कति पढाइ राम्रो हुँदा हुँदै पनि आर्थिक अभावले।
कपिलवस्तुको शुद्धोधन गाउँपालिकाले भने पढाइमा अब्बल तर आर्थीक अवस्थाका कारण डाक्टर र पाइलट पढ्न नपाएका विद्यार्थीका लागि पढ्ने बाटो खोलिदिएको छ।
‘पैसा भएका डाक्टर र पाइलट पढ्न चाहनेले त जसरी नि पढिहाल्छन्। तर पैसाकै कारण पढाइबाट बञ्चित हुने अवस्था भएकाहरुका लागि जति खर्च लाग्छ हामी तिरिदिन्छौँ,’ गाउँपालिकाका अध्यक्ष निसार अहम्मद खाँले भने।
यो व्यवस्था एमबिबिएस र पाइलट परीक्षामा नाम निकालेका गाउँपालिकाका सबै विद्यार्थीका लागि भएको उनले बताए। डाक्टर र पाइलट बन्न चाहने विद्यार्थीका लागि यो अवसर अध्यक्ष खाँले २०७५ सालमा भएको दोस्रो गाउँसभामै घोषणा गरेका हुन्।
गाउँपालिकाले सबै पढाइ खर्च बेहोर्ने भए पनि आजसम्म कुनै विद्यार्थीले यो सुविधा पाएका छैनन्। कारण गाउँपालिका कार्यालयले आफ्नो घोषणा कार्यान्वयन नगरेर होइन। गाउँपालिका विद्यार्थीको पर्खाइमा छ, तर डाक्टर पाइलट पढ्छु भनेर कोही विद्यार्थी आएका छैनन्।
‘विद्यार्थी कुरेर बस्या छु तर कोही आएका छैनन्,’ अध्यक्ष खाँले भने, ‘गाउँपालिकामा यस्तो कोही विद्यार्थी नै छैनन्।’
विद्यार्थी कोही नआएका कारण गाउँपालिकाले डाक्टर र पाइलट पढ्न दिने खर्चको बजेट छुट्टाएको छैन र निर्णय पनि भएको छैन।
‘परीक्षामा नाम निकालेका कोही छैन। आए भने तुरुन्तै बजेट पास हुन्छ,’ उनले भने।