काठमाडौं महानगरपालिका-३ बाँसबारीस्थित ल्यान्डमार्क डेभलपर्स प्रा.लि. र विजेन्द्रकृष्ण मल्लबीच २०७१ सालमा घर निर्माणसम्बन्धी सम्झौता भएको थियो।
सम्झौतामा ६ आना ३ दाम २.१६ पैसाको जग्गामा घर बनाएर मल्ललाई हस्तान्तरण गर्ने उल्लेख थियो। सम्झौताबमोजिम मल्लले ल्यान्डमार्कलाई अग्रिम एक करोड ३६ लाख रुपैयाँ दिएका थिए।
घर बनाएर हस्तान्तरण गर्दा मल्लले २ करोड १४ लाख १९ हजार ७५० रुपैयाँ बुझाउनुपर्ने सम्झौतामा थियो।
सम्झौता कार्यान्वयन गर्दै ल्यान्डमार्कले एउटा हाउजिङ कम्पनीलाई कामको जिम्मा दियो। बाँसबारीकै सिई कन्स्ट्रक्सन कम्पनीले उक्त जग्गामा घर बनाउने भयो। सिई कन्स्ट्रक्सन सञ्चालक शम्भु फुयाँल हुन्।
ल्यान्डमार्क कम्पनीमा ज्योति एन्ड ग्रुप स्याकार कम्पनीको साझेदारी छ। त्यसहिसाबले ल्यान्डमार्कबाट हुने कारोबारको एउटा जिम्मेवार सदस्य ज्योति एन्डका रूपज्योति थिए।
उनै रूपज्योति सो जग्गामा घर नबनाई मल्लको एक करोड ३६ लाख पैसा ‘पचाएको’ आरोपमा अहिले पक्राउ परेका छन्। बिहीबार पक्राउ परेका उनीसहित छोरी सुरूची ज्योतिलाई महानगरीय प्रहरी परिसर काठमाडौंले ठगी मुद्दामा अनुसन्धान थालेको छ।
परिसरका अनुसार २०७१ सालमा सम्झौता भए पनि लामो समयसम्म मल्लले न घर पाए, न पैसा फिर्ता। ल्यान्डमार्कसँग लामो समय यसबारे विवाद भएपछि मल्लले २०७५ मंसिर १६ गते महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिए।
प्रहरीले उनको जाहेरी कार्यान्वयनमा ल्याउँदै रूपज्योतिलाई पक्राउ गर्न अदालतबाट आदेश लियो।
जिल्ला अदालत काठमाडौंले २०७५ मंसिर २० गते ज्योतिका नाममा पक्राउ पूर्जी जारी गर्न अनुमति दियो। जिल्ला अदालतले जारी गरेको पक्राउ पूर्जी खारेज गर्न माग गर्दै रूपज्योति मंसिर २५ गते सर्वोच्च अदालत गए।
सोही मुद्दाको फैसला गर्दै यही कात्तिक १८ गते प्रधान्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको इजलासले रूपज्योतिको माग दाबी नपुग्ने भन्दै रिट खारेज गरिदिएको थियो।
अदालतले रिट खारेज गरिदिएपछि मल्ल बिहीबार परिसरमा पूरक निवेदन दिन पुगेका थिए। मल्लको पूरक निवेदन पाएपछि सिंगापुरबाट सिल्क एयरमा आएका रूपज्योतिलाई बिहिबार बेलुका ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनासाथ पक्राउ गर्यो।
अग्रिमबापत् बुझाइएको पैसा सिई कन्स्ट्रक्सन सञ्चालक फुयाँलको कम्पनीले बुझेको ल्यान्डमार्कको भनाइ छ।
सिई कन्सट्रक्सनका नामबाट एक वर्षअघिसम्म ल्यान्डमार्कको हाउजिङ खरिदका लागि एक करोड ३६ लाख बुझाएको मल्लको दाबी छ।
पैसा बुझाइसकेपछि मालपोत कार्यालयमा गएर बुझ्दा आफूले पाउने भनेको घरजग्गा ल्यान्डमार्कबाट २०७४ साल कात्तिक २४ गते रूपज्योतिकै छोरीलगायतको नाममा भएको क्वालिटी डेभलपर्सको नाममा हस्तान्तरण भइसकेको थाहा पाएको भन्दै मल्ल कानुनी प्रक्रियामा गएका थिए।
तर, ल्यान्डमार्कका साझेदार ज्योतिले भने सिई कन्ट्रक्सनले नै सबै भुक्तानी लिएको र उसैमार्फत जग्गा वा पैसा असुल गराउनु पर्ने बताउँदै आएका छन्।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीका अनुसार एक करोड ३६ लाख रुपैयाँ ठगी मुद्दामा ज्योति बाबु-छोरीसहित नौ जना प्रतिवादी छन्। प्रहरीले अन्य प्रतिवादीबारे जानकारी दिन मानेको छैन।
‘अनुसन्धानका क्रममा रहेको मुद्दाका प्रतिवादीबारे बताउन मिल्दैन,’ परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले भने।
प्रहरीले खोज्दैछ भन्ने थाहा थियो: रूपज्योति
हिरासतमा रहेका रूपज्योतिले ल्यान्डमार्क कम्पनी र मल्लबीचको सम्झौताको एउटा जिम्मेवार आफू रहे पनि ठगी नगरेको दाबी गरे। यसमा ल्यान्डमार्कसँग साझेदार भएकै कारण आफूलाई फसाइएको उनको दाबी छ।
‘ल्यान्डमार्कले कोसँग कारोबार गर्छ भन्नेको जिम्मेवार ऊ हो, ज्योति एन्ड कम्पनी शेयरहोल्डर छ भनेर मलाई मात्र विपक्षी बनाएर मुद्दा हाल्नु पूर्वाग्रही कदम हो,’ उनले सेतोपाटीसँग भने।
मल्लले हाउजिङ निर्माण कम्पनी सिई सञ्चालक फुयाँललाई सबै भुक्तानी दिइसकेका कारणबाट पनि सोही कम्पनीले पैसा वा जग्गा जे मागे पनि फिर्ता गर्नुपर्ने रूपज्योतिको दाबी छ।
‘मल्लजीले फुयाँलविरूद्ध पहिले मुद्दा हालेर फिर्ता लिनुभयो, घर बनाउने, पैसा लिने, जिम्मा लगाउने सबै काम उहाँकै हो,’ ज्योतिले भने, ‘के पाउने हो उहाँबाट असुल गराउनु पर्नेमा ममाथि मुद्दा लगाइयो।’
यो प्रकरणमा सिई हाउजिङकै बढी दायित्व रहेको भन्दै आफूले एक वर्षदेखि कानुनी लडाइँ लडिरहेको पनि ज्योतिले बताए।
यसबीचमा सिंगापुर रहँदा सर्वोच्च अदालतमा मुद्दा हारेको थाहा पाउँदापाउँदै पनि आफू काठमाडौं आएको उनले बताए।
‘म माथि दोस्रपटक पक्राउ पूर्जी जारी हुँदैछ भन्ने थाहा हुँदाहुँदै म आएको हुँ, प्रहरीले खोजी गरिरहेको छ भन्ने पनि थाहा थियो,’ उनले भने, ‘आफू दोषी छैन किन डराउनु भन्ने लाग्यो।’
‘हिरासतमा बस्न अप्ठेरो हुन्छ, छाती दुख्यो अस्पताल जानू’ भनी सुझाव आउने गरेको बताउँदै उनले भने, ‘मेरो छाती दुखेको छैन। अस्पताल सर्दिनँ। थुनामा बसेर यो कानुनी झमेला पार लगाउँछु।’
प्रहरीले शुक्रबार ज्योति बाबु-छोरीलाई थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट अनुमति मागेको छ।