ललितपुरको पाटनस्थित कात्तिक डबलीमा कात्तिक नाच चलिरहेको छ। कात्तिक शुक्ल प्रतिपदादेखि सुरू हुने ऐतिहासिक, साँस्कृतिक एवं तान्त्रिक महत्त्व बोकेको विभिन्न नाच १२ दिनसम्म प्रदर्शन गरिनेछ। नाच कात्तिक २६ गते सकिन्छ।
पहिलो दिन शुदामा प्याखं, दोस्रो दिन भक्त सुरदास प्याखं, तेस्रो दिन बाथः प्याखं (माकसी मियेगु), चौथो दिन बाथः प्याखं (तिखिकाँ, छ्योँ ध्वग्गी, सति वनेगु), पाँचौं दिन बाथः प्याखं (महामूर्ख), छैठौं दिन युद्धकला, सातौं दिन देवी नृत्य, आठौं दिन जलशयण (मधु-कटैव वध), नवौं दिन बराह अवतार (हिरण्याक्ष वध), दसौं दिन नरसिंह अवतार (हिरण्यकश्यपु वध), एघारौं दिन वस्त्र हरण लीला र बाह्रौं दिन दधी लीला नाच प्रदर्शन गरिन्छ।
यो नाच वि.स. १६९७ मल्लराजा सिद्धिनरसिंहले सुरू गरेका हुन्।
देशमा शान्ति, सबैको समृद्धि र मनोरञ्जनको हेतुले यो नाच सुरू भएको मानिन्छ। कुनै समय २७ दिनसम्म चल्ने यो नाच आर्थिक समस्याका कारण हराउँदै गएको कात्तिक नाच संरक्षण समितिले जनाएको छ।
वि.सं १६९७ सालमा ललितपुरको राजा सिद्धिनरसिहंले आफ्नो देश र जनताको कल्याणका लागि विश्वकै लामो नाट्य महोत्सव आयोजना गर्ने सोच बनाए।
यसै शिलशिलामा नाट्य क्षेत्रमा धुरनधर शिक्षा गुरु हरिवंश आचार्य र वाद्य क्षेत्र र तान्त्रिक विधामा धुरनधर दिक्षा गुरु विश्वनाथ उपाध्यायलाई दरबारमा बोलाए।
यसैको स्वरुप त्यो समयमा ५ दिनसम्म उक्त नाच सञ्चालन भएको थियो। ५ दिनबाट सुरू भएको यो नाचलाई सिद्धिनरसिंहको छोरा श्री निवास मल्लले त्यसमा लोक नाटक थपेर १५ दिनसम्म लम्बाए। पछि श्री निवासका छोरा योग नरेन्द्र मल्लले त्यसमा उषाकिरण लिला थपेर २७ दिनसम्म प्रदर्शन गरे।
कात्तिक महिनाभरि चलेको हुँदा उक्त नाचलाई कात्तिक नाच भनिन थालिएको थियो।
वि.सं २००७ सालदेखि २०३७ सालसम्म आइपुग्दा नाच दुई दिनमा झर्यो। आर्थिक पक्ष कमजोर भएपश्चात यसका नृत्यकर्मीहरूले समय मिलाउन सकेनन्। एकपटक अनुबन्धित भएपछि १२ वर्षसम्म यो नृत्यकर्ममा लाग्नुपर्ने भएकाले नाच जगेर्ना नभएको संरक्षण समितिका सदस्यले जानकारी दिए।
कात्तिक नाचको नवौं दिन हुने बराह नाचका तस्बिरहरूः