भारतले जारी गरेको नयाँ राजनीतिक नक्साको नेपालमा चर्को विरोध भइरहेको छ। विभिन्न ठाउँमा प्रदर्शन भएका छन् भने लैनचौरस्थित भारतीय दूतावास ज्ञापनपत्र पनि बुझाइएको छ। सरकारले भारतले आफ्नो नक्सामा राखेको कालापानी क्षेत्रबारे भारतसँग वार्ता गर्ने बताएको छ।
कालापानी क्षेत्रलाई भारतीय नक्साभित्र राखेकोमा आइतबार पनि प्रदर्शन र विरोध जारी छ। दिउँसो माइतीघर मण्डलमा भएको प्रदर्शनमा भने अरूभन्दा भिन्न माहौल थियो-प्रदर्शनकारीलाई प्रहरीले पक्रेर गाडीभित्र राख्दै थियो।
पक्राउ पर्नेहरू भर्खरभर्खरका केटाकेटी थिए। उनीहरू पक्राउ पर्नुको कारण उक्त प्रदर्शन नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको विद्यार्थी संगठनले गरेको थियो।
विप्लव समूहको अखिल क्रान्तिकारी नेताले राजधानीका सरकारी विद्यालयमा गएर विद्यार्थीलाई माइतीघर ल्याएका थिए।
कोटेश्वरस्थित सरस्वती माध्यामिक विद्यालयबाट कक्षा ८ देखि १२ सम्मका विद्यार्थी प्रदर्शन आएका थिए।
‘संगठनका दुई-चार जना आएका थिए, विद्यार्थीलाई लग्ने कुरा गर्दै थिए,’ प्रध्यानाध्यापक पुष्पराज कुँवरले भने, ‘हामीले जाओ त भनेनौं। आफूखुसी जान्छन् त के हाम्रो के लाग्छ र।’
उनले आफ्नो विद्यालयबाट कति विद्यार्थी प्रदर्शनमा गए भन्ने पनि ठ्याक्कै थाहा नभएको बताए।
‘उनीहरूले कक्षा ९ देखि १२ सम्मका चाहिने बताएका थिए,’ उनले भने,‘९ र १० कक्षाका गए होलान् कक्षा ८का पनि केही विद्यार्थी गए होला।’
उनले पहिला-पहिला भन्दा यसपालिको नारा आफूलाई ठीक लागेको बताए।
विद्यार्थीलाई त्यसरी प्रदर्शनमा पठाउन मिल्छ त भन्ने प्रश्नमा उनले विद्यार्थी टेर्ने खालको नभएको बताए।
‘हाम्रो अनुमतिबाट चल्ने खालका विद्यार्थी हुन् त उनीहरू?’ उनले सेतोपाटीलाई भने,‘ अनुमति दिए पनि नदिए पनि लैजान्छौं भने।'
विद्यार्थीहरूले भने आफूहरूलाई प्रअले नै प्रदर्शनमा जान भनेको बताए।
उक्त विद्यालयमा नौ कक्षामा पढ्ने दुई विद्यार्थीले भने- हामीलाई नचिनेको एकजना दाइ र हेडसरले आएर जुलुसमा जान भन्नुभयो। अनि आएका हौं।
तस्बिरहरू: नारायण महर्जन/सेतोपाटी