काभ्रेको बनेपा नगरपालिका-९ ठकुरी गाउँका स्थानीय अहिले आन्दोलनमा छन्।
सोमबार उनीहरूले सिठी जुलुस निकाले। सिठी फुक्दै स्थानीयवासी नगरपालिका कार्यालयसम्म आए।
एक साताअघि ठकुरी गाउँको एक भिडिओको सामाजिक सञ्जालमा चर्चा थियो। उक्त भिडिओमा स्थानीय बासिन्दाले डोजर लखेटेको थियो।
नगरपालिकाको फोहोर फाल्न आफ्नो गाउँमा ल्याएपछि ठकुरी गाउँका स्थानीय आन्दोलित भएका हुन्।
अहिले नगरपालिकाको फोहोर भक्तपुर, काठमाडौं हुँदै नुवाकोटको सिसडोलमा पुर्याउनुपर्छ।
६२ किलोमिटर टाढाको सिसडोलमा फोहोर पुर्याउँदा नगरपालिकाको दैनिक ६० हजार रूपैयाँ खर्च हुन्छ। बाँकी व्यवस्थापकीय झन्झट त छँदैछ।
यसअघि बनेपाको फोहोर आइटी पार्कनजिकै व्यवस्थापन गरिन्थ्यो। बस्ती बाक्लिएपछि फोहोर फाल्न दिइएन। त्यसपछि नगरपालिकाले फोहोर व्यवस्थापन गर्ने नयाँ ठाउँ खोज्यो।
तर ठकुरी गाउँका स्थानीयले नगरपालिकाले घर नजिकै दुर्गन्धित फोहोर जलाउन लागेको भन्दै विरोध गरे। प्रहरी र आन्दोलनकारीबीच झडप भयो, अश्रृग्यास हानियो। स्थानीयले डोजरलाई ढुंगा हान्दै लखेटे।
मेयर लक्ष्मीनरसिंह बादेका अनुसार फोहोर व्यवस्थापनका लागि जापानी प्रविधिमा आधारित रहेको इन्सिनेटर मेसिन राख्ने तयारी छ।
‘यो मेसिन राखे कुहिने/नकुहिने फोहोर व्यवस्थापन गर्न सकिन्छ,’ बादेले सेतोपाटीसँग भने, ‘फोहोर व्यवस्थापन गर्दा धुवाँधुलो, गन्ध केही निस्कँदैन। यो प्रविधि डब्लुएचओले नै प्रमाणित गरेको हो।’
वातावरण प्रदुषण नहुने मेसिन ल्याएको बताए पनि नगरले फोहोर व्यवस्थापनको कार्यलाई अघि बढाउन भने सकेको छैन।
नगरपालिकाको फोहोर व्यवस्थापनबारे सर्वसाधारणमात्र होइन वडा नम्बर ९ का अध्यक्ष शेरबहादुर सुवाललाई पनि शंका छ।
त्यही भएर वडाध्यक्ष सुवालसहितले सोमबार डोजर लखेटेका हुन्।
यसअघि कात्तिक ४ गते पनि मेसिन राख्ने जमीन सम्याउन खोज्दा विवाद भयो। मेसिन वातावरणमैत्री नहुने स्थानीयको भनाइ छ।
आन्दोलनलाई साथ दिएका नेपाली कांग्रेसका नेता कञ्चन बादे श्रेष्ठ आफूहरूले फोहोर व्यवस्थापनमा भाँझो हाल्ने काम नगरेको दाबी गर्छन्।
‘हामी विकास विरोधी होइनौं,’ बादेले भने,‘फोहोर व्यवस्थापनका लागि राखिने मेसिन वातावरणमैत्री छैन भन्ने छ। फोहोर जलाउँदा मानव स्वास्थ्यलाई असर गर्छ। असर गर्दैन भन्ने प्रमाणित हुन्छ भने राख्न दिन्छौं।’
स्थानीय बासिन्दासँग समन्वय नगरी फोहोर व्यवस्थापनको काम नगरपालिकाले सुरू गर्न खोज्दा समस्या आइपरेको उनले बताए। बनेपामा दिनहुँ ६ टन फोहोर संकलन हुन्छ। प्रतिघन्टा चार किलोग्राम मात्रै फोहोर व्यवस्थापन गर्ने मेसिनले दीर्घकालीन रूपमा फोहोर व्यवस्थापन गर्न नसक्ने बादे तर्क गर्छन्।
‘नगरपालिकाले फोहोर व्यवस्थापनका लागि छुट्टै जग्गा किनेको छ। किन कृषि प्रयोजनका लागि किनेको जग्गामा फोहोर व्यवस्थापन गर्नु पर्यो?’ उनले प्रश्न गरे।
नगरपालिकाले विकल्पमा अन्य ठाउँ पहिचान गरे पनि बजेट धेरै लाग्ने मेयर बादे बताउँछन्।
‘वडा नम्बर १४ साँगा नजिक चतुरेमा फोहोर व्यवस्थापन गर्न खोजेका थियौं, सडक खन्न नै २५/३० करोड रूपैयाँ लाग्ने भएपछि पछि हट्यौं,’ उनले भने, ‘तत्कालका लागि ठकुरी गाउँ नै उपयुक्त छ।’
कृषि प्रयोजनका लागि जग्गा किनिएको भए पनि नगरभित्रको जग्गा नगरको आवश्यकताअनुसार नै प्रयोग गर्न सकिने उनले बताए।