जम्मा २० जना शिक्षक, तैपनि नियमित आउने १० जना मात्र। आउने शिक्षकहरु पनि ११ बजेपछि मात्र आउने। शिक्षकभन्दा अगाडि विद्यालय पुगेका विद्यार्थीहरु भने खेल्नमै व्यस्त हुने।
चौकुने गाउँपालिका–२ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको यो गत आर्थिक वर्षसम्मको अवस्था हो।
हाल भने अवस्था फेरिएको छ। विद्युतीय हाजिरीको व्यवस्था गरिएपछि शिक्षकहरु नियमित समयमै उपस्थित हुन थालेका छन्। ‘विभिन्न वहानामा शिक्षकहरुले विदा नलिएरै घरमा बस्थे, ८/१० जना शिक्षकले पूरै विद्यालय धान्नुपथ्र्यो,’ सोही विद्यालयका शिक्षक पदम शाहीले भने, ‘यसै कारण शैक्षिक गुणस्तर सुधार्न सकिएको थिएन, तर अहिले विद्युतीय हाजिरी जडान गरेदेखि सबै शिक्षक नियमित र समयमै आउँछन्।’
विद्यालयले शिक्षक, कर्मचारीलाई नियमित समयमा उपस्थित गराउने उद्देश्यका साथ गत आर्थिक बर्षबाट विद्यालयले ई–हाजिरी जडान गरेको हो। यो प्रणाली जडान गरिएदेखि विद्यालयको कार्य पारदर्शी भएको विद्यालयका प्रधानाध्यापक लालबहादुर थापाले बताए।
शिक्षकहरु कार्यालय समयमा नआउँदा पठनपाठनमा समस्या देखिएकाले यो प्रणाली अपनाइएको उनले बताए। ‘पूरै शिक्षक नै नआउने, आएका पनि समयमा नआउने,’ थापाले भने, ‘यस्तो समस्याले पठनपाठन पनि अवरुद्ध हुन थाल्यो, यसकारण जडान गरिएको ई–हाजिरीले सुधार भएको छ।’
विद्युतीय हाजिरी सुरु भएपछि बिहान १० बजे नै उपस्थित भएका शिक्षक बेलुका विद्यालय बन्द नहुने बेलासम्म नै रहने गरेको व्यवस्थापन समितिका अध्यक्ष पदम जैसीले बताए।
‘ई–हाजिरी हुनुअघि शिक्षक कतिबेला आउँछ, आउँदैन थाह हुँदैनथ्यो’ जैसीले भने। उनका अनुसार ई–हाजिरी जडान गरिएपछि बिहान आउँदा र बेलुका जाँदा दुवैपटक हाजिरी गराउने गरिएको छ।
उक्त प्रणालीमार्फत लिइएको हाजिरी रेकर्ड प्रत्येक महिना प्रिन्ट गरेर राखिने अध्यक्ष जैसीले जानकारी दिए। उनका अनुसार नियमित र विद्यालय समयमै आउने शिक्षकलाई पुरस्कृत गर्ने गरिएको छ।
ई–हाजिरी सञ्चालन हुनुअघि महिनामा २० दिनजति पहिलो घण्टी नै पढाई नहुने गरेको छात्रा सिता बान्तोलाले बताइन्। ‘समयमै शिक्षक नआउँदा कैयौं दिन पहिलो घण्टी पढाइ नै हुँदैनथ्यो,’ उनले भनिन्, ‘विद्युतीय हाजिरी भएपछि राम्रो छ।’
शिक्षकहरु आफू बाहिर जाने, सट्टामा शिक्षक राख्ने, महिनामा केही दिन मात्र विद्यालयमा उपस्थित हुने अनि प्रधानाध्यापकको मिलेमतोमा पुरै महिनाको हाजिर लगाई तलब बुझ्ने जस्ता कार्य नियन्त्रण गर्न यो प्रणाली आवश्यक भएको शिक्षक अभिभावक संघका अध्यक्ष पदमबहादुर वान्तोलाले बताए।
सामुदायिक विद्यालयमा शिक्षकहरु समयमा नआउने, आए पनि अध्यापन नगराउने जस्ता क्रियाकलापका कारण शैक्षिक गुणस्तर खस्किँदै गरेका बेला विद्युतीय हाजिरीले सुधार ल्याएको जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख नारायण पौडेल बताउँछन् ।
‘सुर्खेतमा रहेका सबै सामुदायिक विद्यालयमा यस्तो प्रणालीको सदुपयोग गर्न स्थानीय तहसँग समन्वय गरेका छौं,’ उनले भने, ‘प्रायजसो ग्रामीण भेगका विद्यालयमा खासै अनुगमन नहुने भएका कारण शिक्षक, कर्मचारी मन लागे जाने नत्र नजाने गरेका छन्, ति ठाउँमा पनि यस्तो खालको प्रणाली अपनाउन जरुरी छ ।’