तनहुँ भानु नगर क्षेत्रका बासिन्दाको दिनचर्या हिजोआज फेरिएको छ।
किन भन्नुहोला। किनकी यहाँ चितुवाको बिगबिगी छ।
साँझ परेपछि मानिसहरू घर बाहिर निस्कन पनि डराउँछन्। पछिल्लो डेढ वर्षमा चितुवाको आक्रमणबाट भानुका छ जना बालबालिकाको ज्यान गयो। चार जना घाइते छन्।
साँझ परेपछि चितुवा शिकार खोज्दै गाउँ पस्छ। पाएसम्म कुकुर, बाख्रा लैजान्छ। बुढो भइसकेको चितुवाको निशानामा भने बालबालिका पर्छन्। भोकाएको चितुवाले जे भेट्टाउँछ उसैलाई आक्रमण गर्छ।
चितुवाले सुरूमा २०७४ फागुन १ गते भानु -३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठलाई आक्रमण गरी मारेको थियो।
अर्को वर्ष २०७५ कात्तिक २९ मा भानु -४ जोखानेका ४ वर्षीया रञ्जता लम्सालको ज्यान लिएको चितुवाले एक महिनापछि मंसिर १५ गते भानु -२ ढल्केवरका १० वर्षीय अमृत गुरूङलाई आक्रमण गर्यो।
बालबालिकामाथिको चितुवा आक्रमण रोकिएन।
गत जेठमा भानु -२ भकुण्डथोकका ९ वर्षिया पुष्षा अधिकारीको ज्यान चितुवाकै आक्रमणबाट गयो। असोज २१ मा भानु-१ जामुनेगैह्राका चार वर्षीय आशिक बानियाँ र भानु-२ फुस्रेटारका ७ वर्षीय ऋतिक रोकालाई चितुवाले आक्रमण गरी मार्यो।
चितुवाले कोपारेर चार बालबालिका घाइते छन्।
मान्छे आक्रमण गर्ने नरभंक्षी चितुवा खोजी गर्ने मुख्य काममा तनहुँस्थित वन कार्यालयले काम गरिराखेको छ।
चितुवाको सम्भावित ओढार रहेको सामुदायिक वनमा एक दर्जन पासो थापिएको छ। चितुवा पासोमा पार्न जंगलमा बाख्रा छाडिएका छन्। चितुवा खोजीका लागि विज्ञ, सशस्त्र, नेपाल प्रहरी र वन कार्यालयका केही कर्मचारी परिचालन गरिएको छ।
चितुवा समात्न विज्ञ र सुरक्षाकर्मी परिचालन गर्नु परेपछि गण्डकी प्रदेश सरकारले ३० लाख रूपैंयाँ बजेट पनि पठाइदिएको छ।
‘अहिलेसम्म तीन वटा चितुवा (दुई भाले, एक पोथी) नियन्त्रणमा लिइयो,’ तनहुँस्थित वन कार्यालयका प्रमुख केदार बरालले सेतोपाटीसँग भने, ‘भानु-१ जामुनेगैह्रा जंगलमा थापेको पासोमा मंगलबार बिहान एक पोथी चितुवा पर्यो।’
चितुवा खोज्न राष्ट्रिय प्रकृति संरक्षण कोषबाट विज्ञसहित छ जनाको टोली परिचालन गरिएको छ। हरेक साँझ विज्ञहरू जंगलमा पुग्छन्। भानुको वडा नम्बर १, २, ३ र ४ मा चितुवाको बिगबिगी छ। घरवरपर झाडी र जंगलनजिक बस्ती भएकोले यहाँ चितुवाले धेरै आक्रमण गरेको हो।
‘बुढो भइसकेको र अति भोकाएको चितुवाले बालबालिका आक्रमण गर्छ,’ बराल भन्छन्, ‘प्रायगरी डमरू भएका पोथी चितुवाले बालबालिका आक्रमण गर्ने गरेको पाइएको छ।’
जंगलमा आहारा अभाव भएपछि चितुवा बस्ती पस्ने उनले बताए।
बरालका अनुसार यसअघि भानु-३ ढोरफाँटस्थित देउराली सामुदायिक वन र भानु २ नारेश्वरटारस्थित वन क्षेत्रमा थापिएको पासोमा चितुवा परेको थियो।
‘परम्परागत पासोमा चितुवा पर्छ,’ उनले भने। चितुवालाई नियन्त्रणमा लिन दुइटा फलामबाट बनेका पासो पनि जंगलमा राखिएका छन्।
चितुवाले बालबालिका आक्रमण गरेपछि त्रास फैलिएको छ।
गाउँलेहरूले देउवा रिसाएका हुन् कि भनेर पूजा पनि गरे। गत साता कालिकादेवी र भीमसेन थुम्की मन्दिरमा भेला भएर दुई सय भन्दा बढी घरधुरीका बासिन्दाले पूजा गरेका हुन्। यतिमात्र होइन, बोका काटेर बली पनि चढाइयो।
वन कार्यालयले चितुवा खोजीका लागि अझै विज्ञलाई जंगलमै परिचालन गरिराख्ने बताएको छ।
बरालका अनुसार कुन चितुवाले बालबालिका आक्रमण गरेको हो पहिचान भएको छैन। जंगलमा कतिवटा चितुवा छन् भन्ने पनि एकिन छैन।
‘चितुवाको आनिबानी पत्ता लगाएर नियन्त्रणमा लिन विज्ञहरू परिचालन गरिराखेका छौं,’ उनले सेतोपाटीसँग भने।
राष्ट्रिय निकुञ्ज ऐनले संरक्षित भनेका बाघ, गैंडा, हात्तिको गणना गरिए पनि चितुवाको गणना गर्ने प्रचलन नेपालमा छैन।
बरालका अनुसार चितुवाको आक्रमणबाट ज्यान गएकाहरूको र घाइतेका परिवारलाई राहत दिइएको छ।
‘मान्छेको ज्यान गएमा दश लाख रूपैंयासम्म र घाइतेलाई उपचार खर्च दुई लाख रूपैंयासम्म राहत दिएका छौं,’ उनले भने, ‘घरपालुवा जनावर गाईभैंसी मारेमा ३० हजार, भेडाबाख्रा मारेमा दश हजार रूपैंयासम्म राहत दिइन्छ।’
बन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिका-२०६९ अनुसार राहत दिने गरेको उनले जानकारी दिए।
जंगल झन् पहिलेभन्दा बृद्धि भइराख्दा पनि किन चितुवा बस्ती पसेर दु:ख दिइराखेको छ? भन्ने प्रश्नमा बरालको तर्क छ, ‘जंगल बढे पनि चितुवाले शिकार नभेट्न सक्छ। चितुवाको आहारा मानिसले चोरी गरिदिएर पनि जंगलमा आहारा नभेटेर चितुवा बस्ती पसेको हुनुपर्छ।’
उनले प्राकृतिक रूपमा जंगलमा लखेट्दै शिकार गर्न नसक्ने, बच्चा (डमरू) भएको पोथी चितुवाले मानिस आक्रमण गर्ने गरेको जानकारी दिए।