वीरेन्द्रनगर नगरपालिकाकी उपमेयर मोहनमाया ढकाल मंगलबार बिहान गाग्रेतालमा रहेको नेपाल राष्ट्रिय चन्द्रगंगा माध्यमिक विद्यालयमा पुगिन्।
‘कक्षा कोठामा उपमेयर’ कार्यक्रम लिएर विद्यालय पुगेकी उपमेयर ढकालले कक्षा १० का विद्यार्थीसँग पुगेर विभिन्न विषयमा कुरा गरिन्।
एक घण्टा विद्यालयमा समय विताएकी ढकालको फर्किने सुरसार देखेपछि कक्षा ५ का विद्यार्थी आएर आफ्नो कक्षामा पनि आइदिन आग्रह गरे। उपमेयर ढकालले विद्यार्थीलाई भन्नुपर्ने कुरा आफूलाई लेखेर दिन आग्रह गरिन्।
उत्साहित हुँदै कक्षा कोठामा छिरेका विद्यार्थीले उपमेयरलाई भन्नुपर्ने कुरा कापीको पानामा लेखेर शिक्षकमार्फत पठाए। उक्त पानामा लेखिएको छ, ‘हाम्रो विद्यालयको टिन चुहिने भएकाले हामीलाई नयाँ भवन बनाइदिनुपर्यो। हामीलाई कम्प्युटरको माध्यमबाट पढाइदिनुपर्यो। खेलकुदको सामग्री चाहियो, कार्पेट चाहियो। हामीलाई चर्पीको व्यवस्था चाहियो। हाम्रो विद्यालयमा लाईब्रेरी चाहियो ।’
यति मात्र होइन उपमेयर ढकालसँग अन्य थुप्रै मागहरु विद्यार्थीहरुले गरेका छन्। सोही विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुले पुस्तकालय, कम्प्युटर ल्याव, स्वच्छ खानेपानी, स्वास्थ्य शिविर, विषयवस्तु बढाउनुपर्ने छात्रामैत्री संरचना हुनुनपर्ने लगायत माग गरेका छन्।
‘कक्षा कोठामा उपमेयर’ कार्यक्रम बनाएर उपमेयर विद्यालय पुग्दा विद्यार्थीहरु समेत उत्साहित भए। उपमेयर आफ्नै कक्षामा आएर आवश्यकताका बारेमा सोध्दा खुशी लागेको कक्षा १० की छात्रा कृष्णा बुढाले बताइन्।
‘उपमेयर आउनुभयो र धेरै कुरा पनि सिकाउनुभयो, यो हाम्रो लागि राम्रो अवसर हो,’ कृष्णाले भनिन्, ‘उपमेयरले नै सोधेपछि हामीले हाम्रो र विद्यालयको समस्याबारे जानकारी गरायौं, उहाँले समाधान गर्नुहोला भन्ने आशा छ।’
उपमेयर ढकालले विद्यार्थीहरुले आफूसँग राखेका मागहरु पूरा गर्न स्थानीय सरकारका तर्फबाट भरपूर भूमिका खेल्ने प्रतिबद्धता विद्यार्थीमाझ जनाएकी छन् ।
उपमेयर ढकालले उक्त विद्यालयमा पुगेर विद्यार्थीहरुसँग नगरपालिकाबाट हुन सक्ने आवश्यक सहयोग तथा विद्यार्थीहरुले स्थानीय सरकारसँग गरेका अपेक्षाका बारेमा जानकारी लिएकी थिइन्। उनले विद्यालयमा के गर्दा पठनपाठनमा सहज हुन्छ, पाठ्यक्रम कस्ता खालका बनाउन आवश्यक छ, अध्यापन गराउँदा सरले गर्ने व्यवहार लगायतका विषयमा पनि विद्यार्थीहरुसँग बुझेकी छन्।
यस्तै बालविवाह, बालविवाहबाट हुने नकारात्मक प्रभाव, निर्वाचन प्रणाली, सरकार गठनका प्रक्रिया, तीन तहका सरकार र सरकारका अन्य अंगहरुका काम, कर्तव्य, विकासका आधार तथा प्रकार जस्ता विषयमा उपमेयर ढकालले विद्यार्थीलाई जानकारी गराएकी छन् ।
समस्या बुझ्न ‘कक्षा कोठामा उपमेयर’
वीरेन्द्रनगर नगरपालिकाकी उपमेयर ढकालले विद्यालय र विद्यार्थीका समस्या बुझ्न र जनप्रतिधि तथा स्थानीय सरकारका बारेमा जानकारी गराउन ‘कक्षा कोठामा उपमेयर’ कार्यक्रम सुरुवात गरेको बताएकी छन्।
‘जनप्रतिनिधी, सरकार भनेपछि फरक खालको बुझाई अहिले पनि अभिभावक विद्यार्थीमा छ,’ उनले भनिन्, ‘यस्तो खालको बुझाईलाई हटाउन, कक्षाकोठामा उपमेयर कार्यकम ल्याएकी हुँ ।’ कार्यक्रमअन्तर्गत विद्यालयमा पुगेर जनप्रतिनिधी, स्थानीय सरकारका बारेमा विद्यार्थीको बुझाई, स्थानीय सरकारसँग विद्यार्थीका अपेक्षा जस्ता विषयमा छलफल गरिने ढकालले बताइन् ।
मंगलबारदेखि सुरु भएको यो कार्यक्रमअन्तर्गत प्रत्येक महिनाको एक दिन निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीसँग पुग्ने योजना रहेको उनले जानकारी दिइन्।