सडक सुरक्षा अभियानअन्तर्गत सुर्खेतको वीरेन्द्रनगर बजारलाई वैशाख २५ गतेदेखि हर्न निषेधित क्षेत्र घोषणा गरियो। जिल्ला ट्राफिक कार्यालय र वीरेन्द्रनगर नगरपालिकाले संयुक्त रुपमा ‘नो हर्न’ क्षेत्रका रुपमा वीरेन्द्रनगर बजारलाई घोषणा गरे।
तर हर्न निषेधित वीरेन्द्रनगर घोषणामा मात्र सिमित भएको छ। कार्यान्वयनको पाटो बलियो नहुँदा सवारी चालकले विना रोकावट जस्तै हर्न बजाउने गरेका छन्। सुरुका केही दिनमा हर्न बजाएको कम सुनिए पनि पछिल्लो समय अवस्था पुरानै दोहोरिएको छ।
कर्णाली प्रदेशको राजधानीका रुपमा रहेको वीरेन्द्रनगरमा गुड्ने सवारी साधनको संख्या २० हजार बढी रहेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार यीमध्ये वीरेन्द्रनगरमा मोटरसाइकलको संख्या धेरै छ।
वीरेन्द्रनगरमा मोटरसाइकल १७ हजार ३ सय ५८ संचालनमा रहेको कार्यालयले जनाएको छ। यस्तै १९४ कार तथा जीपको संख्या छ भने ३३२ वटा ट्रक तथा टिप्पर छन्। ट्राफिक कार्यालयका अनुसार १६५ वटा पावल ट्रेलर, २३ वटा जेसिवी, ५२८ बस तथा मिनीबस छन् भने ४७४ वटा ट्याक्टर, १ हजार १०० अटोरिक्सा छन्।
यति धेरै सवारी साधन गुड्ने बजारमा ‘हर्न निषेध’ लेखिएका बोर्ड र जेब्रा क्रसिङ भने छैनन्। आवश्यकता अनुसार ‘नो हर्न’ सम्बन्धी बोर्ड र जेब्रा क्रसिङको व्यवस्था नहुँदा पनि कार्यान्वयनको अवस्था फितलो रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उदय सिजापति बताउँछन् ।
‘जेब्रा क्रसिङ र सबै ठाउँमा बोर्ड राखिएको भए यो व्यवस्था कार्यान्वयन गर्न धेरै सजिलो हुनेथियो,’ प्रहरी निरीक्षक थापाले भने, ‘यसका लागि रकमको अभाव हुने गर्छ, हामीले नगरपालिका, सडक विभागसँग आग्रह गरिरहेका छौं। अब होला की भन्ने आशा छ।’
बोर्ड र जेब्रा क्रसिङ लाईनका लागि सम्बन्धित सरोकारवालासँग आग्रह गर्दा पनि कुनै वास्ता नगरिदिँदा समस्या भएको थापाले गुनासो गरे। ‘वीरेन्द्रनगर नगरपालिकामै पनि मैले चार/पाँच पटक आग्रह गरिसकेँ,’ उनले भने, ‘यस्तै आग्रह सडक विभागलगायतका अन्य
सरकोकारवालाहरुसँग गरेका छौं, तर अहिलेसम्म केही रेस्पोन्स भएको छैन।’ वीरेन्द्रनगरका कुनै पनि सडकमा जेब्रा क्रसिङ बनाइएको छैन। स्थानीय वासिन्दा तथा केही सरोकारवालाको पहलमा बनाइएका केही जेब्रा क्रसिङ पनि मेटिएका छन्।
हर्न निषेधित घोषणा गरिएको ६ महिनासम्म पनि कार्यान्वयन हुन नसक्नुको प्रमुख कारण जनचेतनाको कमी भएको कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादव बताउँछन्। ‘पहिलो कुरा त यो कार्यान्वयन हुन नसक्नुमा जनचेतनाको कमी हो, अर्को कुरा मानिसको स्वभावले गर्दा पनि हो’ एसपी यादवले भने।
प्रमुख यादवले ‘नो हर्न’ सम्बन्धी जनचेतनामूलक कार्यक्रममा जोड दिएर छिट्टै पूर्ण रुपमा कार्यान्वयन गर्ने तयारी भईरहेको बताए । विभिन्न क्षेत्रमा जानकारीमूलक पर्चा वितरण गर्ने, विद्यालयहरुमा पनि हर्न निषेधसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिए।
मानिसको आफ्नो स्वभावका कारण हर्न निषेधसम्बन्धी व्यवस्था कार्यान्वयनमा समस्या पर्ने गरेकोले यसमा कारबाही आवश्यक रहेको उनले बताए। ‘जहाँ प्रहरी हुन्छ, त्यहाँ चालकले हर्न बजाउँदैनन्,’ एसपी यादवले भने, ‘प्रहरी नभएको ठाउँमा मनपरी हर्न बजाउने गरेको पाइन्छ। यो आफ्नै फाइदाका लागि गरिएको व्यवस्था हो भन्ने मानिसमा बुझाई नभएसम्म गाह्रो छ ।’