महेन्द्र संस्कृत विश्वविद्यालयका सह-प्राध्यापक जयन्त आचार्य केही वर्षयता विक्रम सम्वत् क्यालेन्डर सुधारको वकालत गरिरहेका छन्। क्यालेन्डर बिग्रँदा नेपालका चाडपर्वको समय बिग्रँदै गएको आचार्यको भनाइ छ।
करिब पन्ध्र सय वर्षदेखि सुधार नभएको विक्रम सम्वतको क्यालेन्डरबाट एउटा महिना नै हटाउनुपर्ने 'लबिङ' आचार्यले गरिरहेका छन्।
हिन्दू धर्मअनुसार चाडपर्व प्रकृतिसँग सामञ्जस्य भएको र तिनलाई मिलाउन क्यालेन्डरबाट एक महिना हटाउनुपर्ने आचार्य बताउँछन्।
'साउन १ गते हामी लुतो फ्याँक्छौं। लुतो फ्याँक्दा अगुल्टो दक्षिणतिर फाल्छौं,' आचार्य भन्छन्, 'सूर्यको प्रतीक रूपमा अगुल्टो दक्षिणतिर फाल्नुको अर्थ सूर्य उत्तरबाट दक्षिण लाग्यो भन्ने हो। तर अहिले असारको ६/७ गते नै सूर्य उत्तरबाट दक्षिण लाग्छ। हाम्रो पर्व भने अझै साउनमा छ।'
नेपाली क्यालेन्डर बनाउँदा तय गरिएका चार बिन्दुमध्ये एउटा महत्वपूर्ण बिन्दु साउन १ गते भएको आचार्य बताउँछन्। यस्ता बिन्दु सम्झन सजिलो पार्न सांस्कृतिक पर्व प्रयोग गरिएको उनको भनाइ छ।
'साउन १ गते पहिला-पहिला सबभन्दा लामो दिन हुन्थ्यो। क्यालेन्डर नछापिँदाको समयमा तिथीमिति सम्झिन हाम्रा संस्कृति बनेका हुन्,' आचार्य भन्छन्, 'सूर्य दक्षिणायण बिन्दुतिर लागेकाले अगुल्टो दक्षिण फाल्ने प्रचलन चलाइएको पाइन्छ।'
क्यालेन्डर निर्माण गर्दा तय गरिएको अर्को बिन्दु हो सबभन्दा छोटो दिन। त्यसमा समेत पर्व भएको आचार्य बताउँछन्- माघ १ गते।
'माघ १ गते हामी माघेसंक्रान्ति मनाउँछाैं। यो खासमा सबभन्दा छोटो दिन हो। त्योसँग सम्बन्धित भनाइ नै छ- 'पुसमा पाक्य, माघमा खाक्य', आचार्य भन्छन्, 'अर्थात् दिन यति छोटो हुन्छ, पुसमा पकाएर माघमा खाने दिन आउँछ। हाम्रो क्यालेन्डरअनुसार त्यो दिनबाट सूर्य उत्तरतिर लाग्छ। तर अहिले पुस ७ गते नै सूर्य उत्तर हुन थालेको छ। माघ १ गतेबाट हुनुपर्ने ठण्डी पुसमै हुन्छ। हामी भने अझै माघ १ गते मात्र सूर्य उत्तर लाग्छ भनेर पर्व मनाइरहेका छौं।'
विक्रम सम्वत क्यालेन्डर सूर्य, चन्द्र र पृथ्वीको चाललाई आधार मानेर तयार पारिएको उनी बताउँछन्। त्यसैले विज्ञानले तोक्ने समय र हाम्रो क्यालेन्डर बनाउँदा गरिने गणितले भनेको एउटै समयमा ग्रहण लाग्छ।
'सूर्य र चन्द्रमाको १२ डिग्री अन्तरका हिसाबले तिथीमिति तय हुन्छ,' आचार्यले भने। यही सूर्यचन्द्रको गति हिसाब गरेर सबभन्दा लामो दिन, छोटो दिन र दुइटा दिन र रात बराबर हुने दिन मिलाएर क्यालेन्डर बनाइएको उनको तर्क छ।
'वैशाख १ गते दिन र रात बराबर हुन्छ,' आचार्य भन्छन्, 'नेपालमा त्यो दिनलाई विषुवत मानेर स्नान गर्ने चलन छ। तर अचेल दिनरात बराबर चैतको ५/६ गते नै भइसक्छ। हामी वैशाखमा नुहाउँछौं।'
क्यालेन्डर मिलाउन गरिएको प्रयासलाई कतिपयले चाडपर्व बिगार्न खोजेको रूपमा बुझ्दा समस्या आएको आचार्य बताउँछन्।
'हामी खासमा प्रकृतिमा जान खोजेको हो। मनाउँदै गरेको चाडपर्व विज्ञानसम्मत भइराख्नुपर्छ भन्ने मान्यता हो,' उनले भने।
उनका अनुसार पन्ध्र सय वर्षदेखि सुधार नभएका कारण अहिले एक महिना नै क्यालेन्डरबाट हटाउनुपर्ने अवस्था आएको हो।
असार महिना काटेर साउन लेखिदिए समस्या समाधान हुन्छ, 'नभए पछिपछि असार-साउनमा जाडो र पुस-माघमा वर्षा हुन्छ।'
अंग्रेजी क्यालेन्डर भने निरन्तर सुधार भइरहेकाले समस्यामा नपरेको बताउँछन्। प्रत्येक वर्ष २० मिनेटका दरले समय मिलाइने र ४ वर्षमा एक दिन हटाएर 'लिप इयर' मनाउने भएकाले अंग्रेजीमा समस्या नभएको उनले जानकारी दिए। बेलायत र रसियाले पनि आफ्नो क्यालेन्डर सुधारिसकेको भन्दै नेपालले पनि सुधार्नुपर्ने उनको भनाइ छ।
'दसैंतिहार जुन ऋतुमा हुनुपर्ने हो, त्योभन्दा फरकमा पुगेको छ। त्यसैले क्यालेन्डर मिलाएर चाडपर्व सुधार गर्नैपर्छ,' आचार्य भन्छन्।
त्यसो त आचार्यलाई धेरैले महिना हटाउँदा जन्मदिन हराउने समस्या नदेखाएका हैनन्। कुनै महिना हटाउँदा त्यो महिनामा जन्मिएकाको मिति कसरी भेट्टाउने? यो प्रश्न धेरैले उनलाई सोधेका छन्।
क्यालेन्डर सुधारका क्रममा एक वर्षको जन्मदिनलाई ठूलो विषय मान्न नहुने उनी बताउँछन्। क्यालेन्डर मिलाउनुलाई घडीमा बिग्रिएको समय मिलाए जस्तोगरी बुझ्नुपर्ने उनको भनाइ छ। यसका जटिलताबारे भने उनी जानकार छन्।
नेपाल र भारत दुवैतिर मनाइने शिवरात्री लगायत पर्वका लागि सरकारी तवरबाट सामाञ्जस्यता आवश्यक हुने उनी बताउँछन्। 'नेपालले क्यालेन्डर परिवर्तन गर्दा भारतमा पनि परिवर्तनका लागि सहज हुनेछ,' आचार्य भन्छन्, 'हामीले नेतृत्व लिनुपर्छ।'
क्यालेन्डर मिलाउँदा विक्रम सम्वत हराएर इस्वी सम्वत् मान्य हुने अवस्था आउनसक्ने भन्दै कतिपयले आचार्यलगायत क्यालेन्डर परिवर्तन अभियानमा भएकालाई चुनौती देखाउने गरेका छन्। तर आचार्य विक्रम सम्वत् मान्य हुने अवस्था बनाउने जिम्मा राज्यको हुने बताउँछन्।
'विक्रम सम्वत र पञ्चांगको पात्रोमा वैज्ञानिकता पुष्टि हुन्छ। हाम्रो पात्रो त सूर्य र चन्द्र दुवैलाई समन्वय गरेको बनेको छ,' आचार्य भन्छन्, 'इस्वी सम्वत् लागू गर्ने कुचेष्टा भए हामी नै त्यसको विरोध गर्छौं।'