सर्वोच्च अदालतले बैतडीको पाटन बजारमा गेसपेपर किन्न आएकी पूजा बोहोरालाई बलात्कार गर्ने सागर भट्ट र अमर अवस्थीलाई साढे ११ वर्ष कैद सजाय तोकेको छ।
सर्वोच्चले दोषी र सरकार दुवैले गरी बोहोरालाई १० लाख क्षतिपूर्ति भर्नुपर्ने पनि फैसलामा उल्लेख छ।
न्यायाधीश सपना प्रधान मल्ल र हरि फुयाँलको इजलासले उच्च अदालत महेन्द्रनगरको फैसला उल्ट्याउँदै उनीहरूलाई ११ वर्ष कैद सजाय र बोहोरालाई क्षतिपूर्तिको फैसला गरेको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्रराज ढकालले बताए। उच्च अदालत महेन्द्र नगरले उनीहरूलाई सफाइ दिएको थियो।
भट्ट र अवस्थीबाट जनही साढे २ र सरकारले पाँच लाख क्षतिपूर्ति भराउन उक्त इजलासको फैसलामा उल्लेख छ। कैद भने बलात्कार गरेकोमा साढे ६ वर्ष र सामूहिक बलात्कार गरेकोमा पाँच वर्ष थपेर साढे ११ वर्ष पुर्याइएको हो।
जिल्ला अदालतले भने उनीहरूलाई बलात्कार गरेकोमा ८ वर्ष, सामूहिक बलात्कार गरेकोमा ५ वर्ष गरी १३ वर्ष जेल सजाय र ५० हजार क्षतिपूर्ति भराउने सुनाएको थियो।
२०६८ चैतमा एसएलसी परीक्षा दिन कैलापाल गाउँबाट पाटन बजारस्थित श्रीकृष्ण उच्च माध्यमिक विद्यालय पुगेकी बोहोरा गेसपेपर किन्न एक पसलमा गएकी थिइन्। त्यहीबेला भट्ट र अवस्थीले उनको बलात्कार गरेका थिए।
सर्वोच्च अदालतले आज गरेको फैसलामा क्षतिपूर्ति निर्धारण प्रतिवेदन बनाउने अधिकृत तोक्न पनि सरकारलाई आदेश गरेको छ। त्यतिमात्र होइन बलात्कार मुद्दाको अनुसन्धान गर्ने बेला देखि नै आरोपीको आर्थिक अवस्था र सम्पत्तिको विवरणहरू तयार पार्न परमादेश गरेको छ।
पिडितलाई पिडकबाटै क्षतिपूर्ति भराउनुपर्ने हुँदा उनीहरूको आर्थिक अवस्थाबारे जानकारी राख्न सर्वोच्चले भनेको हो।