ओहो, काठको डुंगा। कस्तो कलात्मक! कस्तो बान्की परेको!
कोसीमा नौका सयर गर्न पाउने भएपछि मन दंग पर्ने भइहाल्यो। किनारको सानो कटेरोमा दुईजना मान्छे पर्खिबसेका थिए। सायद माझी हुन्। हामी नजिक पुगेपछि उनीहरू पनि आए।
डुंगामाथि बहना होइन, बाँस रहेछ। सात मिटरजति लामो।
'किन यति लामो बाँस लिनु भएको?'
प्रश्न सुनेर माझीदाइ अचम्म परे। हाँस्दै भने, 'किनार पो गहिरा छैन। ऊ त्यहाँ पर हेर्नुस् न, यो घारो सबै डुब्छ। पानी पेल्ने साधनै यही हो।'
पालैपालो डुंगातिर बढ्यौं। पाइला राख्नेबित्तिकै सन्तुलन बिग्रियो, डुंगा हल्लिन थाल्यो। पानी सतहभन्दा डुंगा थोरै मात्र उचाइमा थियो। डुंगामा काठका फल्याक टिमिक्क जोडिएका भए पनि घामपानीले बिगारेर छिद्र बनेछ। बसेका मात्रै थियौं, जोडाइबाट पानी पस्न थाल्यो। केही बेरमा कुर्कुच्चा भिज्नेगरी पानी जम्यो। डुंगा चढ्ने उत्साह निमेषभरमै कोसीमै मिसियो।
मेरो अनुहारको रङ उडेको देखेर सहकर्मी सबिना हाँसिन्। पालैपालो हाम्रा सहयात्री हरिओम, दीपक, राहुल, कन्हैया खितखिताउन थाले।
भयभित मनले सोच्न थाल्यो– डुंगा पल्टियो भने लुगा, झोला, खानेकुरा, मोबाइल डुब्छ। सम्पर्क डुब्छ। गोबरगाढा जाने सपना डुब्नेछ। र, अन्तिममा जीवन पनि!
गुमनाम मर्नुपर्ने भयो भनेर एकछिन अताल्लिएँ पनि। तर परिपक्व माझी साथ थिए। फेरि डुंगा नचढी हुँदैनथ्यो। कोसीको पल्लो किनार गोबरगाढाबासीको त झन् एकमात्र विकल्प यही डुंगा हो।
डर र कोसीको पानीको तरंग एकाकार भइरह्यो। नाउले पनि बाटो मोडेर किनार फेर्यो। अर्को किनार पुग्दा हामी आठजना भयौं। कोसीको यो सानो भँगालो पार गर्न हामीले हनुमाननगरबाट आधा घण्टाभन्दा धेरै लम्कियौं। पुग्नुपर्ने गन्तव्यको मेलोमेसै थिएन। पर क्षितिजसम्म हेर्दा पनि बलौटे बगर र काँसघारीमात्रै आँखामा आउँछन्। बाटोको नामोनिशान छैन। काँसघारी बीचबाट कसरी बाटो पत्ता लगाउनु।
डुंगाको डर सकिएकै थिएन। भिडमा कसैले थपिदियो–अगाडिको यात्रा झन् जोखिम छ।
शरीर डुब्ने काँसघारीमा बौलाहा कुकुर, जंगली हात्ती, बँदेल, अर्ना जे पनि हुनसक्छ। बर्खायाम हुँदो हो त सर्प गुडुल्किइरहेका हुन्थे। हिउँदमा पनि जंगली जनावरको भय त्योभन्दा कम्ता छैन।
डुंगा चढ्दा पो हामी निरीह थियौं, माझी दाइको भर थियो। अहिले समूहमा थियौं, हिम्मत यसै आउँथ्यो।
सप्तरी जाने योजना बनेसँगै दिमागमा कौतुहलता थियो– गोबरगाढा, कस्तो नाम हो यो? कसरी जुर्यो होला?
हनुमाननगरबाट पाँच किलोमिटर दक्षिणमा कोसीका आधा दर्जन बढी भँगालाका बीचमा रहेछ गोबरगाढा। यो हिउँदमा घटेर दुइटा भँगालामा सीमित छ। बर्खामा दर्जन पुग्छ र बर्खाभरि बेरिराख्छ गोबरगाढालाई। त्यसैले त यो ठाउँलाई नेपालको टापू भनिने रहेछ।
गोबरगाढा लम्किँदै गर्दा यत्ति थाहा थियो।
कोसीले वर्षैपिच्छे धार फेर्छ। आकार फेर्छ। मानिसले तोकेको ठाउँबाट हिँड्न मान्दैन। बरू बिगार्दिन्छ। यस वर्ष बर्खामा पनि कोसीले धेरै बाटो आफूमा समाहित गर्यो। बटुवाले नयाँ बाटो बनाए। जति बाटो बने पनि गन्तव्य उही। कोसीको त्रासदी उही।
हामी एकदिन आउनेलाई त यतिविघ्न त्रास छ, गोबरगाढाबासी दिनहुँ कसरी हिँड्दा हुन् यस्तो निर्जन बाटो। डराइ-डराइ कसरी काट्दा हुन् जीवन। उनीहरूको नियतिले मुटुको गति नियन्त्रण गर्यो।
हाम्रो समूहकालाई त्यो नयाँ बाटो थाहा थिएन। डुंगा तारिदिएका माझिदाइ बाटो देखाउन अघि सरे। कर्माको हाँगो काटेर एक-एकवटा लाठी पनि बनाइदिए।
साथीहरूले के सोचे कुन्नि? मलाई भने धेरै सुरक्षित महशुस भयो। लाग्यो– हात्ती नै आए पनि लखेट्छु।
बलौटे बाटोमा मान्छेका पैतालाका डोब देख्न मुश्किलै हुन्थ्यो। भएका पनि एकनासे थिएनन्। पाइलाका डोब बालुवाले तत्कालै छोपिदिन्थ्यो। काँसघारीबाट कुन दिशा हिँड्दा गाउँसँग जम्काभेट हुन्छ टुंगो थिएन। थाहा पाउन माझीदाइले नै सघाए। काँसघारीभित्र पसेपछि सानो गोरेटो आँखामा पर्यो।
समूहका मानिसलाई जानुपर्ने बाटो सम्झाएर माझीदाइ आएकै बाटो फर्किए।
फेरि कसैले सुनायो– 'यहाँ छलियो भने त बाहिर निस्कन गाह्रो छ!'
बाटामा काँस लतारिएका थिए। त्यान्द्रा छिरलिएका पनि। जंगली पशुले यतिमात्रै लतार्दैन। पक्कै मान्छे हिँड्ने बाटो हुनुपर्छ। यस्तै अन्दाज लगाउँदै मसिना धर्साजस्तो बाटो पछ्याइरह्यौं।
कात्तिके घाम भए पनि गर्मी जेठभन्दा चर्को थियो। बिहान दसै बजे बगरको बालुवा तातेर आउने तातो हावाले उकुसमुकुस बनाउँथ्यो।
भैपरी आउने आपतसँग हामी सचेत थियौं। सात जनाका चौध पाइला सक्दो छिटो चाल्यौं। सघन काँसघारी छिचोलेपछि कोसीको अर्को भँगालो भेटियो जुन पहिलेकोभन्दा ठूलो र फराकिलो थियो। त्यहाँ माझी थिएनन्। पारिपट्टि डुंगा भने तम्तयार थियो।
डुंगाका छेउछाउ केही मान्छे देखिए। केही यात्रु, साइकल, प्लास्टिकका ग्यालिन बोकेका नौका हामीतिर सोझियो। डुंगा किनार लागेपछि हामीले केहीबेर कुराकानी गर्यौं। गोबरगाढाका स्थानीय रहेछन्, हनुमाननगर हिँडेका रे धेरैजसो। बाँकी सदरमुकाम राजविराज।
त्यो दिन हनुमाननगरमा बिहीबारे हाट थियो। छठको चटारो सुरू भइसकेकाले मालसामान किन्नदेखि दूध बेच्नसम्म हिँडेका मान्छे थिए। छेउमा बसेका रामलखन रायको हतारो अर्कै थियो। उनी बैंकबाट पैसा लिन हिँडेका रे।
कोसीको भेलबाढीले सिध्याउनै लागेको किनारको भूभाग गोबरगाढा घुम्न विरलै आउँछन्। बरु मध्यबर्खामा डुब्दा समाचारमा आउँछ।
हामी घुम्न आएको भनेपछि रामलखन निकै खुसी भए।
'के गर्नु बजार जानुपर्यो। नभए स्वागत गर्थ्यौं,' आतिथ्यता दिन नपाएको गुनासो सुनाए उनले।
रामलखनसहितको टोली उत्रिएपछि हाम्रो पालो आयो। गोबरगाढाको डुंगासँग अघिनै परिचय भएकाले यसपालि डर कम लाग्यो। बारम्बार आउजाउ गर्दा त सामान्य लाग्छ होला। गोबरगाढाबासीलाई डुंगाको भन्दा कोसीको र कोसीकोभन्दा जीवनकै डर बढी लाग्दो हो।
दोश्रोपटक डुंगाबाट उत्रिएपछि उही काँसघारी आयो। यस्तो लाग्छ– काँसघारी र डुंगा गोबरगाढाबासीका हिस्सा हुन्। यिनले गोबरगाढाको नाम र परिचय दिएका छन्।
अघि बढ्दै गर्दा पछाडिबाट केही दौडिएको आवाज आयो। काँसघारी छिचोलेर हेर्न सकिएन। आवाज ठम्याउन सकेनौं। सोच्दासोच्दै थाहा भइहाल्यो- हामीतिर लम्कँदै गरेको अपरिचित आवाज घोडाको रहेछ।
घोडामा दुई युवक र दूधका ग्यालिन। हनुमाननगरमा दूध बेचेर फर्किएका रे। देख्नेबित्तिकै घोडा चढ्ने मन लागिहाल्यो। चढ्ने पो कसरी? उनीहरू अघि बढे।
काँसघारी कट्नै लाग्दा फराकिलो घाँसेमैदान देखियो। आधा दर्जन घोडा चरिरहेका थिए। गोबरगाढाबासीका सारथी थिए, सायद।
आकर्षक घाँसेमैदान छिचोलेर गाउँ पुग्नै आँट्दा एक बथान भैंसी चरनक्षेत्रतिरै जाँदै थिए। गोबरगाढाको महत्त्व सायद उनीहरूले पनि झल्काइरहेका थिए।
चउर कटेपछि बल्ल बस्ती देखियो, पातलो। फुसका छानाले गोबरगाढाको परिचय दिन्थ्यो। तराईको मौलिक बस्तीले हाम्रो स्वागत गरेझैं लाग्यो।
गाउँको एक छेउमा पक्की भवन पनि थियो। 'कोही नेताको घर रहेछ कि क्या हो', कसैले अनुमान लायो। शारदा आधारभूत विद्यालय लेखिएको बोर्डमा आँखा अडियो। अलिपर स्वास्थ्यचौकी पनि, तर नाम मात्रको।
गाउँ छिर्दाछिर्दै नाउँको रहस्य खुल्दै गयो। बाटैभरि थुप्रिएका गोबरका रासबाट हाम्रा खुट्टा जोगिएनन्।
नामको भेद छर्लंग भयो– गोबरगाढा अर्थात् गोबरमा गाडिनु।
नामको यस्तो अर्थ होला, हामीले सोच्नै भ्याएका थिएनौं। दूग्ध व्यवसाय यहाँको प्रमुख पेसा। कुनै बेला बरमझियाको पेडा गोबरगाढाकै दूधबाट बन्दो हो। अहिले पनि हरेक घरमा पाँच-सात भैंसी अनिवार्य।
परिस्थितिले कोल्टे फेर्दै गयो। बर्खाको भेलबाट पशु जोगाउन, व्यापार गर्नै मुश्किल भएपछि अरू कर्मतिर लाग्नु बाध्यताजस्तै बन्यो यहाँका बासिन्दालाई। साविक गोबरगाढा गाविस अहिले हनुमाननगर कंकालिनी नगरपालिकामा समेटिएको छ। समय र सरकार दुवैले कोसीले झैं किनार लगाएका यस्ता ठाउँ कति होलान् नेपालमा?
भर्खरै लिपिएको आँगनबाट आलो माटो बसाइरहेको थियो। यो घर प्रभु यादवको हो। आजभोलि यहाँ पनि गोबरमाटोको बासना मुस्किलले अनुभव गर्न पाइन्छ रे। यादव परिवारले हाम्रो स्वागत चियाबाट गरे। चिया खाएपछि थाहा भयो गोबर, दूध, चरनक्षेत्रका अतिरिक्त चियाको पनि अलग्गै विशेषता रहेछ गोबरगाढासँग।
चियामा चिनी निकै कम हालिने। भैंसीको शुद्ध दूध नै घोटेर गुलियो बनाइने रहेछ। रङ कडा हुनेगरी चियापत्ति मिसाएपछि तयार हुँदोरहेछ गोबरगाढाको स्वादिष्ट चिया। स्वाद बयान गरिसक्नु थिएन, पिउनेले मात्रै अनुभूति गर्लान्!
गाउँमा नौलो मान्छे देखेपछि केटाकेटी झुम्मिने नै भए। नजिक पर्न भने डराउँथे। आङ नढाकेको लुगाबाट उनीहरूको विपन्नता अनुमान गर्न सकिन्थ्यो।
हाम्रो अनुमान निमेषमै फेल खायो।
गाउँ घुमेर आउँदा उनीहरू नयाँ लुगा लगाएर बसिसकेका रहेछन्। फोटो खिच्छौं भनेर हो कि! कोसी किनार भएर के गर्नु, केटाकटीमा पनि सौन्दर्यचेत लोभलाग्दो थियो।
यति बेला त धान काटिसके होलान्। भकारीमा पनि पुगिसक्यो होला। नभए पनि मचानमा होला। हामी पुग्दा आँखाले देखुन्जेल सुनझैं बाला झुलेका लिए।
अझ रोचक, गोबरगाढामा पहाडमा जस्तो ब्याडमा धानको बिऊ छरेर समय पुगेपछि काढेर रोप्ने चलन रहेनछ। भए पनि निकै कम। पातलोगरी छरेको धान नै बीऊ र रोपो दुवै हुने रहेछ। त्यसरी छरिएको धान पनि कति लटरम्म फलेका, लहलह झुलेका? मधेसलाई अन्न भण्डार यसै भनिएको रहेनछ।
धानले वर्षभर खान पुग्छ तर भण्डार गर्ने ठाउँ छैन। बर्खामा बाढी पस्छ। आफूसँगै लिएर जान्छ। लैजान नदिन बेलैमा सस्तोमा बेच्नैपर्छ। वर्षको अन्तिममा फेरि महँगोमा किन्नुपर्छ। कस्तो बाध्यता मधेस–भूमिको?
सोच्छु, काठमाडौंमा हामीले किनेर खाने चामलमा गोबरगाढाबासीको पनि पसिना छ कि!
गाउँ एक चक्कर लगाएर फर्किँदा अँगेनामा भात भर्सिइसकेको थियो। खाँदा पनि गोबरगाढाकै नियम- सबैजना एकैपटक खान बस्नुपर्ने। खाइसकेपछि एक्लै उठ्न नपाइने! सँगै उठ्नुपर्ने!
कसैले चाँडै खाइसक्यो भने अनिवार्य थप्नुपर्ने। अरूलाई त बानी परेकै होला, सबिना र म चेपुवामा पर्यौं। भोकाएका हामीले कपाकप सकिहाल्यौं, प्रभु यादवले खाना अगाडि बढाए। नाइँ भन्न सकेनौं।
घरमा पाहुना आउँदा लजाएर थोरै खान्छन् भन्ने सोचेर जसरी पनि थपिदिने चलन रहेछ। पवित्र उद्देश्य– पाहुना भोको नरहून्।
'बफे सिस्टम' गाउँघरमै आइसके पनि मधेसी भान्सामा यस्तो आतिथ्य प्रशंसनीय छ। मौलिकता जोगाएर राखेकाले हामीले थप प्रशंसा गर्यौं। मधेसको भात–भान्छा, पारस्परिक सम्बन्ध र हार्दिकता विस्तारको मानक पनि!
पिँढीमा बसेर खाँदै गर्दा आँगनमा भर्खरै बनाएको चुलोमा आँखा पुग्यो। छठ बेला भएकाले नयाँ चुलो अनिवार्य थियो। चुलो मात्र होइन, घरभित्रको टाँडमा रहेको सानो ग्यास सिलिन्डर देखियो। चलनचल्तीमा नआएझैं लाग्थ्यो त्यो।
त्यस्ता ग्यास र स्टोभ पहिले-पहिले घरबाट पर पढ्न जानेहरूले बोक्थे। यो घरको कुन सदस्य पढ्न गएको होला?
ग्यासको रहस्य आफूबाट नखुलेपछि प्रभु यादवकी श्रीमती रेखादेवीलाई सोधेँ। 'अहिले पो पानी छैन, बर्खामा माटीको चुलो भिजाउँछ, अनि कसरी खाना बनाउने। ग्यास भए बोकेर लैजान, पकाउन सकिन्छ।'
अनुमान यहाँ पनि फेल!
यस्ता मिनीग्यास गाउँका सबै घरमा छ। भेलबाढी नपसे पनि जमेको पानी नै घुँडामाथि पुग्छ। आँगन, पिँढी र मझेरी एकै बन्छ। पानी आयो भनेर भोकै बस्न कहाँ सकिन्छ र! जुगाड गर्नैपर्यो।
आँगनबाट कोसी बग्छ तर बिजुली कस्तो हुन्छ गाउँलेले देखेका छैनन्। सोलारको भर। घाम नलागेका ओसिला वर्षाका दिन र शिशिरको तुषारोमा सोलारले खास काम दिँदैन, चार्ज पुग्दैन। गाउँ अँध्यारिन्छ। अँध्यारिने क्रम दोहोरिरन्छ।
धन्न लोडसेडिङको मार गाउँलेले भोग्न परेन। कुलमान घिसिङलाई भेट्न पाएँ भने सोध्नेछु– गोबरगाढाजस्ता देशका दूरदराजमा बिजुली पुर्याउन तपाईंले योजना बनाउनु भएको छैन?
बर्खामा गोबरगाढाबासीले भोग्ने त्रासको हिसाबै छैन। सिंगो गाउँ सम्पर्कविहीन हुन्छ। गाउँका कोही कोसीले आफूसँगै बगाउँछ। मान्छे नबगाए पनि अन्नपात, घरपालुवा बाँकी राख्दैन। तर राज्यले यहाँको विपद् व्यवस्थापनमा कुनै योजना तर्जुमा नगरेको स्थानीय सुनाउँछन्। बर्खामा राहतको पोका–पन्तुरा बोकेर जानेहरू टन्नै हुन्छन्। तर गोबरगाढाबासीलाई राहत होइन, बाढी रोकथामका लागि एकीकृत योजना चाहिएको छ।
आरक्षण क्षेत्रबाट निस्कने जंगली जनावरबाट पनि यहाँ उत्तिकै डर छ। हात्ती, बँदेल, अर्नासँग प्रायः आमनासामना भइरहन्छ। सर्पको विगविगी उत्तिकै। 'निषेधित क्षेत्रमा बसेर त हो' भनेर स्थानीय वेवास्तामा परेका छन्।
दुई दिनमा हामीले यति देख्दा रेखादेवीलाई भने वास्तै छैन। आफू बसेको ठाउँमै मन रमाउँछ उनको। छाडेर अन्त जाने योजना छँदै छैन।
झरीले जति चुटोस्, बाढीले डुबाओस्, खडेरीले सुकाओस्, उनीहरूलाई आफू बसेको भूमि प्यारो छ। सुरक्षित ठाउँमा जाने आश मरेर पनि होला। भरोसा टरेर पनि होला।
साँच्चै सप्तकोसीमा बग्ने नाउ जस्तै लाग्यो गोबरगाढा, जति बेला पनि कोसीको भेलमा डुबुल्की मार्न सक्छ। अधमरो हुनसक्छ। बर्खा लागे बाढी, हिउँद लागे जंगली जनावर। त्रासैत्रासको जीवन।
गोबरगाढाबासीको कहरसँग चिनापरिचय सिध्याएपछि हामी बिदा हुने भयौं। यादव परिवारले बस्न कर गरे।
रेखादेवीले भनिन्–'हामी राम्रो खातिरदारी गर्छौं। आज यतै बस्नुहोस्।'
स्वीकार्न नसक्दा नमज्जा लाग्यो। आउँदो २६ गते भोज रहेछ, जसरी पनि आउनुपर्ने उनको आग्रहमा हामीले झुटो बाचा गर्यौं।
जाने बेला टाटको प्वालबाट केटाकेटी हामीलाई नियालिरहेका थिए। आपसमा आँखा जुधे। उनीहरू खुल्न खोज्दै थिए, घुलमिल हुँदै थिए। हतारोले बिदाइको हात हल्लाउनु बाध्यता भयो।
काठमाडौंका घरमा आएका अपरिचित पाहुना देख्दा केटाकेटीलाई यति नै महत्त्व होला? तीन सय किलोमिटरको भौगोलिक दूरीमा कति भिन्नता?
प्रभु यादव हामीलाई पुर्याउन निस्किए। पारि क्षितिजमा घामले अपराह्न संकेत गर्दै थियो। काँसघारी बीचतिर पुग्दा स-साना पोका बोकेका धेरै बटुवा भेटिए, गोबरगाढावासी नै रहेछन्। हनुमाननगर हटियाबाट फर्किएका। अरू बेला पनि उनीहरूले हाटबाटै घरमा चाहिने मालसामान ल्याउने प्रभु यादवले बताए।
बेलुका भने डुंगा चढ्ने मान्छे पनि उत्तिकै थिए। सामान, साइकल सबै एउटै डुंगामा अटाएको। यो पुरानो डुंगाले आजसम्म कतिलाई तार्यो होला! के–के तार्यो होला! डुंगा नहुँदो हो त कुनै सम्बन्ध हुँदो हो कि नहुँदो हो, वारि र पारि किनाराको। गोबरगाढा र हनुमाननगरको। डुंगाले जोडेको जीवन!
पर पुगिसक्दा पनि प्रभु यादवले हामीलाई आँखा नबिसाइ हेरिरहेका थिए। कोसी बगर छिचोलेर गाउँ पुग्दा घाम पूरै डुब्यो।
बिहीबारे हाटमा मान्छे पातलिँदै थिए। गोबरगाढाका मान्छे पनि फर्किसके। अलिअलि भएकाहरू कोही किन्न, कोही बेच्न त कोही मोलतोल गर्न व्यस्त।
घर फिरेर साथीहरूलाई डुंगा चढ्दाको अनुभव दोहोर्याइ तेहेर्याइ सुनाएँ। डुंगाको कहर र रहर दुवै अनुभूत गरेँ।
केही सम्झिएझैं गरी सहयात्री हरिओम मेहेताले भने, 'हामी फर्किएपछि आज एउटा डुंगा डुबेछ नि, हनुमाननगरबाट गोबरगाढा जाँदै गरेको! धन्न मान्छेलाई केही भएनछ!'
झन् झसंग भएँ। के–के डुबायो होला। के–के बगायो होला। के–के समेट्न सके होलान् गोबरगाढाबासीले!
बर्सेनि बाढीले बगाउने, दिनै डुंगाले पल्टाउने, गोबरगाढाबासीको यो कहर सरकारलाई थाहा छ?