सहरमा 'चेन' रेस्टुरेन्टको जमाना छ। आकर्षक झकिझकाउ रेस्टुरेन्टमा देशी–विदेशी परिकारका स्वाद चाख्नु हाम्रो सोख नै भइसक्यो। तर 'चेन' रेस्टुरेन्ट नधाइ नयाँ स्वाद चाख्न चाहनुहुन्छ भने मध्यबानेश्वरको संगमचोकस्थित 'ठेट्नो मकैघर' तपाईंको गन्तव्य हुनसक्छ।
मकैका मात्र परिकार पाइने यो रेस्टुरेन्टको विशेषता मेसिनमा पोलेको मकै हो। नेपालमा दोस्रो मुख्यबाली मानिने मकै बाह्रैमासजसो उत्पादन हुन्छ। तर सीप र जाँगर अभावमा नेपालीले यसलाई स्वादिष्ट परिकारमा बदल्न सकेका छैनन्। यसैको पूर्ति गर्न लागि परेका छन् 'ठेट्नो मकैघर'का सञ्चालक विपीन कँडेल।
२७ वर्षीय विपीन पेसाले मेकानिकल इञ्जिनियर हुन्। नयाँ-नयाँ मेसिन आविष्कार गर्ने ज्ञान उनले मकैका परिकार बनाउन र सहरमा नयाँ पारखी जन्माउन पनि बाँडेका छन्। मेसिनका इञ्जिनियर अचेल स्वादको इञ्जिनियरिङ गर्दैछन्।
आफ्नै पेसामा अब्बल सावित हुने बाटामा हिँडेका विपीन कसरी मकैका परिकार बनाउन थाले त?
उनको 'टर्निङ प्वाइन्ट' रोचक छ।
पाल्पाका विपीनलाई मकै असाध्यै मनपर्ने, विशेषतः पोलेको–उसिनेको। काठमाडौंमा उनको तलतल बाटामा मकै पोल्ने आमाहरूले पूरा गर्थे। फुर्सद हुनेबित्तिकै उनी धुवैँधुवाँ भएर घामझरी नभनी मकै पोलिरहेका आमैछेउ जान्थे र मकै खान्थे। आगोमा हात पोल्दै, खोक्दै मकै पोलेको देख्दा उनी आफ्नो पेसा सम्झन्थे।
पोहोर साउनतिर मैतिदेवीमा उनले यस्तै सास्ती देखे।
'सडकपेटीमा एकजना आमैले मकै पोलिरहनुभएको थियो। छाता ओढ्नुभएको थियो तर झरी ओतिएको थिएन। कोइला बल्न नसकेको, धुवाँ आइरहेको। छाता ओढेर मकै किन्न आउने पनि थिए,' केही सम्झिएझैं गरी उनले भने। उनी र उनका मेकानिकल इञ्जिनियर साथी पर बसेर यो दृश्यको साक्षी भइरहेका थिए।
मकै किन्ने ग्राहक गएपछि उनीहरूले आपसमा कुरा गरे– मान्छेलाई यस्तो झरीमा पनि खान परेको छ। यसको मतलब मकैको बजार छ। तर बनाउन दुःख छ। यही काम व्यवस्थित रूपमा गर्न सकिँदैन?
आगाको कोइला हम्किएर मकै पोल्ने पुरानो तरिकालाई मेसिनमा ढाल्ने उपाय सोचिरहेका थिए उनीहरू।
'मकै मनपर्ने तर पोल्ने र खाने दुवैलाई सडकछेउको दुःख। आफैंलाई नमज्जा लाग्यो,' विपीन त्यो दिन सम्झन्छन्, 'त्यसपछि सोचेँ, सबै बनाउने, पकाउने मेसिन हुन्छ, मकै पोल्ने किन हुँदैन। कि मैले देखेकै छैन?'
मेसिन खोज्दै उनीहरूले बजार चहारे।
'सुखद् संयोग, मेसिन बनेकै रहेनछ। साथीहरूबीचको कुराकानी नै मकै पोल्ने मेसिन बनाउने वातावरण बन्यो,' मेसिन आविष्कारको पाटो सुनाउँछन्। इञ्जिनियरिङ पढ्दाको ज्ञान, सीप यता प्रयोगमा आयो। अध्ययन र कामसँगै ६ महिनामै उनीहरूले मकै पोल्ने मेसिन बनाए।
'बनाएपछि बेच्नुपर्ला भनेको सोचेको थिएँ। तर बेचिनँ,' उनी सुनाउँछन्।
मेसिन बने पनि त्यो बाटामा बसेर मकै पोल्नेका लागि काम नलाग्ने भयो। मेसिनले धेरै ठाउँ ओगट्थ्यो। सडक पेटी वा कुनामा नगर प्रहरीको आँखा छल्दै मकै पोल्नुपर्नेहरूले त्यत्रो ठूलो मेसिन कहाँ राखून्? फेरि बनाउनै लाखमाथि लागत लागेको मेसिन किन्ने सामर्थ्य उनीहरूसँग हुँदैन। जसका लागि लक्षित गरेर बनाइयो, उनीहरूलाई नै काम नलाग्ने भएपछि के त?
त्यही मेसिन प्रयोग गरेर व्यवसायमा हात हाल्ने निधो गरे विपीनले।
टिन र फलामको पाताबाट बनेको मेसिनमा एकैपटक दसवटा मकै पोल्न सकिन्छ। मेसिनको पुछारको भागमा हावा खेल्ने प्वाल छ। त्यसको माथिपट्टि कोइला (गोल) राखिन्छ। गोल राख्ने पातामाथि मकै राख्ने फलामे जाली छ। स्वीच अन गर्नेबित्तिकै हावा हम्कने र जाली घुम्ने काम एकैपटक हुन्छ र तापले मकै पोलिन्छ।
बाँसको ढुंग्री लिएर फु..फु.. गर्नुपर्ने झन्झट नहुँदा मकैमा धुँवा लाग्दैन, तीतो हुँदैन। स्वाद पनि मीठो हुने दाबी विपीनको छ।
सुरूमा उनले मेसिन मात्र बनाउने सोचेका थिए। मेसिनले 'ठेट्नो मकै घर' जन्मायो।
'डेढ लाख लगानीको मेसिन कसैले किन्दैन थियो। आफैंले बनाएपछि प्रयोग किन नगर्ने भनेर मकैघर खोलेको हुँ,' उनले भने।
खुलेको ६ महिना हुँदै गर्दा आफ्नो व्यवसायबाट विपीन निकै सन्तुष्ट देखिन्छन्। अहिले भुटेको–पोलेकोदेखि मकैको चटपटे, खीर लगायत १५ थरि परिकार उनीहरूले पस्कन्छन्।
मकै भने स्थानीय नै प्रयोग गरेको विपीन बताउँछन्।
'कतिपय किसानले हरियो मकै मात्र बेच्ने हिसाबले रोप्ने गरेको थाहा भयो,' उनले भने 'अफ सिजनमा नपाइएला भन्ने चिन्ता पनि रहेन। त्यसैले हामीले स्थानीय मकैमै जोड दियौं।'
ठेट्नोमा मकैसँगै गाउँघरको जस्तै मोही, मसला मोही, दही, लस्सीको स्वाद पनि चाख्न पाइन्छ।
विपीन भन्छन्, 'घरेलु प्रयोग वा परिकार राखिसकेपछि किन कोल्ड ड्रिंक्सको साटो दही-मोही नराख्ने त!'
सञ्चालक मात्र होइन भित्तामा टाँसिएका अनेक स्टिकरले ग्राहक पनि सन्तुष्ट भएका देखाउँछ। 'ठेट्नो मकै घर' का स्वाद चाखेर गएकाहरूले आफ्ना सुखद् अनुभूतिले सजिएका छन् भित्ता।
यहाँको अर्को विशेषता पनि छ। पुराना तथा काम लाग्दैन भनिएका सामान पुनः प्रयोगमा ल्याएर विपीनले आफ्नो ज्ञान र सीपको उदाहरण दिएका छन्। पुरानो साइकल रंगाएर, सामान जोडेर टेबल बनाइएको छ। थोत्रा टायरबाट कुर्सी त, मकैको खोस्टाबाट बनेका चकटी मकैघरमा आकर्षक देखिन्छन्।
विपीन भन्छन्, 'यहाँ आउने ग्राहकले पुनः प्रयोग र प्रशोधनसम्बन्धी पनि जानकारी राखून्, यहाँ देखेर आफैंले नयाँ आइडिया फुराऊन् भन्ने उद्देश्यले यी सामान राखिएको हो।'
विपीनको कार्यानुभवले अबका युवाले अलि फरक ढंगले सोच्नुपर्ने संकेत गर्छ। तर निराश भइहाल्नुपर्ने अवस्था नभएको उनको ठम्याइ छ।
उत्साहित हुँदै सुनाउँछन्, 'मैले मेरो समस्यालाई समाधानको बाटो दिएको छु। अरू युवाले पनि यसरी सोच्नुपर्यो।'