गुर्भाकोट नगरपालिका–१० घुमखहरेका ६५ वर्षीय शशी विश्वकर्मा अहिले १० मिनेटमै बोटेचौर बजार पुग्छन्।
आफ्नो घरनजिकैको त्यही बजार जान केही दिनअघिसम्म उनी कम्तीमा एक घण्टा पैदल हिँड्नुपर्थ्यो। यो सहजता भोग्न सशिले थोरै समयमा भने पाएनन्।
आफ्नो जीवनका करिब ६० वर्ष घरनजिकैको बजार पुग्न घण्टौं हिँड्न बाध्य उनको यात्रा भेरी नदीमा भर्खरै बनेको झोलुङ्गे पुलले छोट्याएको हो।
सशिका छिमेकी लालबहादुर बुढा उमेरले ८२ वर्षका भए। यो उमेरमा पनि उनी बढीमा १५ मिनेट हिँड्दा बजार पुग्छन्। घुमाउरो बाटो घण्टौं हिँड्दै आएका उनी छेवैमा जोडिएको पुल देखेपछि दंग छन्।
‘यतिका वर्ष भइसक्यो तलसम्म हिँडेर फेरि माथि आउनुपरेको,’ लालबहादुरले भने, ‘स्कुल जाने नातीनातिना पनि तल गएर माथि आउँदा एक घण्टा त कम्तिमा लाग्थ्यो, अब सजिलो भयो।’
यसअघि लालबहादुर र सशिजस्ता साविकको घुमखहरेका मानिस गाउँनजिकैको बजारमा पुग्न गाउँभन्दा करिब दुई किलोमिटर तलको भेडाबारीको झोलुङ्गे पुल पुग्नुपर्थ्यो। बीचमा पर्ने भेरी नदीमा पुल नहुँदा उनीहरु भेडाबारीमा बनेको पुल तर्न बाध्य थिए। अहिले साविकको घुमखहरे र बोटेचौर गाविसलाई जोड्न आँपसोतीमा झोलुङ्गे पुल बनेको छ। यी ठाउँ अहिले गुर्भाकोट नगरपालिकामा पर्छन्।
‘घरमा पालेका भैंसीको दुध बेचेर लत्ताकपडा गर्नुपर्ने, यही दुध बेच्न पनि तलसम्म हिँडेर पुल तरेपछि फेरि माथि नै आउनुपर्ने,’ पुल बनेको हेर्न पुगेका सशि विश्वकर्माले भने, ‘झिसमिसे हुन लाग्यो भनेर बाटो लाग्नुपर्ने अवस्था अब रहेन।’
पुल बनेपछि आवतजावत, आफन्त भेटघाट, आफूसँग भएको सामान विक्री गर्न सहज हुने उनले बताए। ‘उतिबेला कोही आफन्त आएको घरबाट प्रष्टै पारिपट्टि देखिने, तर घर पुग्नलाई एक घण्टा जति कुर्नुपथ्र्यो,’ सशिले भने, ‘अब त यो अवस्था रहेन।’
गुर्भाकोट नगरपालिकाका मेयर हस्त बहादुर पुनका अनुसार यो पुल बनेपछि नगरपालिकाभित्रका ९, १० र ११ नम्बर वडाका ४०० भन्दा बढी घरधुरी लाभान्वित भएका छन्। आँपसोतीमा बनेको पुलले धेरैको समस्या समाधान गर्ने उनले बताए।
आर्थिक बर्ष २०७२/७३ मा ठेक्का सम्झौता भएको पुल यो वर्ष निर्माण भइसकेको छ। यसअघि नै निर्माण हुनुपर्ने पुल सम्बन्धित विभिन्न कार्यालयहरु खारेज हुँदा केही समय ढिलाई भएको निर्माण जिम्मा लिएको थिम निर्माण सेवा प्रालिका प्रतिनिधी पूर्ण विष्टले जानकारी दिए।
१७९.८० मिटर लम्बाई रहेको झोलुङ्गे पुल करिब डेढ करोड लागतमा बनेको विष्टले बताए। पुलको समान्य केही काम बाँकी रहेकोले अब बढीमा एक हप्तामा पूरा गरिने उनले बताए।