एक वर्षअघि मेलम्चीको पानी काठमाडौंमा झर्ने भाका मन्त्रीदेखि सचिवसम्मले राखे।
त्यही आधारमा प्रधानमन्त्री केपी ओली शर्माले एक वर्षमा मेलम्चीको पानी काठमाडौंको धारामा खस्ने घोषणा गरे।
मेलम्चीबाट ठेकेदार बाहिरिएपछि आयोजना सकिने मिति अझै अन्यौलमा छ। आयोजना सम्पन्न हुने नयाँ भाका आए पनि प्रधानमन्त्रीले यसपाली कुनै घोषणा गरेका छैनन्।
प्रधानमन्त्रीदेखि आममानिससम्मलाई मेलम्ची आयोजनाले लामो समयदेखि झुक्याउँदै आएको छ।
ठीक यसैगरी काम सकिने भाका सारिरहने आयोजना बनेको छ- भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल।
गएको असारदेखि नै सञ्चालनमा आउने भनिएको उक्त आयोजनामा पछिल्लो समय फेरि समय थप गर्नुपर्ने अवस्था आएको छ।
यी दुई आयोजनाका प्रकृति पक्कै फरक छन्, तर केही समानता पनि छन्। यी दुबै आयोजनाको लगानीकर्ता एसियाली विकास बैंक हो। दुबैमा निर्माण कम्पनी विदेशी छन्।
एसियाली विकास बैंक, अर्थ मन्त्रालय र आयोजना कार्यान्वय पक्ष सम्मिलित समीक्षा कार्यक्रममा एडिबीका अधिकारीले अन्तिम अवस्थामा ठेकेदार कम्पनीले काम नै छोडेर जान सक्नेतर्फ संकेत गरेका छन्।
‘भौतिक प्रगति अहिलेसम्म ८४ प्रतिशत छ। यस्तो अवस्थामा ठेक्का सम्झौता रद्द गर्न पनि सकिँदैन। तर उसले बाँकी काम पनि समयमा सम्पन्न गर्छ भन्ने आधार देखिँदैन’ एडिबीका एक अधिकारीले भने।
उनको संकेत यस्तो अवस्थामा ठेकेदार भाग्नेतर्फ थियो।
पछिल्लो पटक थप गरिएको समयअनुसार विमानस्थलको सबै काम सन् २०२० को जनवरीसम्म सकिनु पर्ने थियो। तर अहिलेसम्म पनि कामको प्रगति ८४ प्रतिशत छ। अहिलेकै कामको गति भए सन् २०२० को मार्चसम्म सबै काम सकिने अवस्था रहेको एडिबीका ट्रान्सपोर्ट आयोजना विज्ञ नरेश प्रधानले दाबी गरे।
ठेकेदार कम्पनी र परामर्शदाताको रिपोर्टअनुसार जनवरीपछिका तीन महिनामा काम सकिने उनको विश्वास छ।
तर अवस्था उनले भनेजस्तो छैन। विमानस्थल निर्माणको जिम्मा पाएको चीनको नर्थ वेष्ट सिभिल एभिएसन कन्स्ट्रक्सन कम्पनीले आफूसँग रकम अभाव भएको भन्दै काम छिटो गर्न नसकेको बताउँदै आएको छ।
यस्तोमा उसले कामदारलाई भुक्तानी दिने पैसा अभाव देखाउँदै काम रोक्न सक्छ। त्यसपछि ठेक्का तोडिने अवस्था आएमा विमानस्थल आयोजना कम्तिममा १ वर्ष पछि धकेलिने छ।
भ्रमण वर्ष मनाउन लागेको सरकार सन् २०२०को सुरूतिरै विमानस्थल सञ्चालन गर्नसके ५० हजार थप पर्यटक ल्याउन सकिने आशमा छ। तर आयोजनामा राम्रो संकेत देखिएको छैन।
अहिले देखिएको समस्याबारे नागरिक उड्डयन प्राधिकरण र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारी बोल्न तयार छैनन्। मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले अहिलेकै निर्माण कम्पनीबाट छिटोभन्दा छिटो काम सम्पन्न गराइ छाड्ने बताउँछन्।
‘हामी यही कम्पनीबाट छिटोभन्दा छिटो काम सम्पन्न गराउँछौं,’ समीक्षा बैठकमा तामाङले भने।
विमानस्थलमा एयर नेभिगेसन तथा कम्युनिकेसन सिस्टम जडानको काम अझै बाँकी रहेको छ। थाइल्यान्डको एरो थाइले पाएको यो काम पनि सन् २०२० को मार्चसम्म सकिने एडिबीको अनुमान छ।
त्यस्तै टर्मिनल भवनको फिनिसिङदेखि धावनमार्गमा लाइट राख्ने काम पनि मार्चसम्मै लम्बिने बैंकको अनुमान रहेको छ। गएको साउनमा थपिएको समयअनुसार यी सबै काम यही पुषसम्म सकिनु पर्ने थियो।
२/४ महिना समय थप गरेर भए पनि आयोजना सम्पन्न गरी असारभित्रै सञ्चालनमा ल्याउने नागरिक उड्डयन प्राधिकरणले बताउँदै आएको छ।
यसका लागि केही गृहकार्य भइरहेको तर अन्तिम निर्णय नभएसम्म सार्वजनिक अभिव्यक्ति नदिने प्राधिकरणका एक उच्च अधिकारीले बताए।
‘अन्तिम समयमा आएर काम रोकिने अवस्था हामी आउन दिँदैनौं। यसका लागि उद्धार गर्ने कार्ययोजना हामीसँग तयार छ। सरकारले यसमा स्वीकृत दियो भने जस्तोसुकै अवस्थामा पनि काम सम्पन्न हुन्छ। केवल समय २/३ महिना बढी लाग्नसक्छ,’ प्राधिकरण सम्बद्ध उच्च अधिकारीले भने,‘हामी आवेगमा आएर ठेक्का तोडेर १ वर्षपछि धकेल्न चाहँदैनौं। अहिलेकै लागतमा काम सक्छौ। तर सरकारको निर्णय नभएसम्म बोल्नु अलि हतार हुन्छ।’
ठेकेदारले काम सम्पन्न गरेपछि परामर्शदाताको सिफारिसमा मात्र रकम भुक्तानी गरिदिन्छ एडिबीले। तर ठेकेदारले बीचमै रकम अभाव भयो भने परामर्शदाताबाट अध्ययन गराएर सोही आधारमा बीचमै भुक्तानीको व्यवस्था गर्ने प्राधिकरणको तयारी छ। यसका लागि अर्थ मन्त्रालयसम्मको अनुमति चाहिन्छ।
यो विमानस्थल समयमै सकिनु भ्रमण वर्षको सफलताका लागि मात्र महत्वपूर्ण छैन। ठूला योजना सम्पन्न गर्न सक्ने हाम्रो आत्मविश्वास बढाउन पनि महत्वपूर्ण छ। मेलम्ची सकिन लाग्यो भनेर अन्तिम समयमा जसरी अड्कियो यो आयोजना पनि त्यस्तै भयो भने त्यसले हाम्रो आत्मविश्वासमा ठूलो धक्का पुग्नेछ।