गत कत्तिक १२ गते सिसापाङ्मा हिमालको सफल आरोहणपछि म्याग्दीका निर्मल पुर्जा पुन ‘निम्स दाइ’को अन्तर्राष्ट्रिय स्तरमा चर्चा भयो।
‘प्रोजेक्ट पोसिभल’ नाम दिएर विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमाल सात महिनामा चढ्ने कीर्तिमान पुनले १ सय ९० दिनमा पुरा गरे।
निर्मलको प्रोजेक्टलाई सफल बनाउन सारथी थिए अर्का आरोही मिङ्मा डेभिड शेर्पा। मिङ्माले ९ वटा हिमाल निर्मलसँगै चढे।
निर्मललाई विश्व कीर्तिमान बनाउन सघाएका मिङ्मा आफैं पनि कीर्तिमानी आरोही हुन्। अघिल्लो वर्षमात्र उनले सगरमाथा र माउन्ट केटु ६१ दिनमा आरोहण गर्दै विश्व कीर्तिमान राखे।
३० वर्षीय मिङ्मा विश्वका ८ हजार मिटर माथिका १४ हिमाल चढ्ने सबैभन्दा कान्छा आरोही पनि हुन्।
मिङ्माले ‘लङ लाइन रेस्क्युअर’ को रेकर्ड पनि राखेका छन्। हेलिकप्टरमा डोरीको सहायताले झुण्डिएर उद्दार गर्नुलाई लङ लाइन रेस्क्यु भनिन्छ।
उनले सन् २०१३ को मे महिनामा धौलागिरीको ७ हजार ४ सय मिटरबाट एक नेपालीको जिवित उद्दार गरेका थिए भने एक स्पेनिसको शव निकालेका थिए। आफ्नो दुबै रेकर्ड प्रकृयामा रहेको उनले बताए।
उनले सिसापाङ्मा हिमालको आरोहण गरेर नयाँ कीर्तिमान कायम गर्दा निर्मल पनि सँगै थिए। सो आरोहणपछि नै निर्मल र मिङ्माले छुट्टाछुट्टै विश्व कीर्तिमान बनाए।
ताप्लेजुङको फक्तालुङमा जन्मिएका मिङ्मा हिमाल देखेर हुर्किए पनि आफूले हिमाल चढ्छु भन्ने कहिल्यै नसोचेको बताउँछन्।
गाउँमै नौं कक्षा पढ्दै गर्दा मिङ्मालाई पहिलो पटक काठमाडौं आउने मौका मिल्यो। तर केही समय घुम्ने सोचले आएका मिङ्मालाई समयले यहीँ सहरमा घुमायो।
भने अनुसार नै उनी गाउँ फर्किन पनि लागेका थिए। तर त्यहीबेला दोस्रो मधेस आन्दोलनले तनावग्रस्त बनेको तराईमा सवारीसाधन चल्न सकेको थिएन।
त्यसपछि मिङ्माले घर जान मन गरेनन्। काठमाडौंमै प्राइभेट स्कुल भर्ना भए। सहरमा बस्ने मेलो बनाउन उनले भरियाको काम सुरू गरे।
विदेशी पर्यटकको भारी बोकेर पहिलो पटक अन्नपूर्ण पुगेको याद उनले सम्झिए। नेपाल यति राम्रो छ भनेर कहिल्यै नसोचेका मिङ्माले हिमालको काखमा पुगेपछि सोच नै बदले। त्यसपछि पर्यटनमा केही छ भन्ने मेसो पाए।
तर भारी बोकेरमात्र जीन्दगी चल्दैन भन्नेमा उनी सतर्क थिए। त्यसैले आफूलाई अगाडि धकेल्नुपर्छ भन्ने उनलाई हुटहुटी भयो। दिनकै पर्यटनमा काम गर्ने अग्रजहरूलाई भेट्दै गए, नयाँ कुरा सिक्दै गए।
नयाँ सीप र ज्ञानले मिङ्मालाई भरियाबाट गाइडर बनायो। विदेशी टोलीलाई लिएर उनी कहिले सगरमाथा बेस क्याप पुग्थे, कहिले अन्नपूर्ण।
यतिले मात्र मिङ्माको धित मरेन। आरोहीसँगको दिनरातको उठबसले उनलाई चुचुरामा पुग्ने मात चढायो। लगत्तै उनले तीन पटक सगरमाथा चढेका आफ्ना अंकललाई भेटे। अंकलले सुझाएअनुसार तालिम लिए, सीप सिके।
२०६७ सालमा मिङ्मा एसएलसी दिँदै थिए।
‘परीक्षा चल्दै थियो। त्यहीँ बेला सगरमाथा चढ्ने अवसर आयो। परीक्षा दिने वा छोडेर हिमाल चढ्ने?’ त्यो दिनको कठिन निर्णय सम्झिँदै उनले भने, ‘मैले पढाइ हापेर हिमाल रोजें।’
चारवटा परीक्षा मात्र सकिएको थियो। बाँकी परीक्षा नदिई मिङ्मा हिमालतिर लागे। पहिलो मौकामै मिङ्माले सगरमाथाको चुचुरो चुमे।
शिखरबाट फर्किएका उनले अर्को वर्ष एसएलसी पास गरे। तर पढाइलाई त्यही ब्रेक लगाइदिएर मिङ्माले हिमालको यात्राको गियर बढाए।
त्यसपछि त मिङ्मालाई हिमाल चढ्ने लत नै लाग्यो। सन् २०१० बाट आरोहण क्षेत्रमा काम गर्न सुरु गरेका मिङ्माले अहिलेसम्म कतिलाई हिमालको चुचुरो चुमाए, त्यसको हिसाब उनी आफैंसँग छैन।
मिङ्मा आफैंले पनि यो अवधिमा ८ हजार मिटरमाथिका अग्ला हिमालको २३ पटक आरोहण गरिसके। उनको अबको योजना भनेको 'सेभेन समिट' अर्थात सातैवटा महादेशका अग्ला हिमाल चढ्ने हो। त्यसमा पनि एसिया, युरोप र दक्षिण अमेरिकाको हिमाल उनले चढिसकेका छन्।
हिमाल चढ्न डर हुँदैन?
जवाफमा मिङ्माले भने, 'यदि मलाई डरले रोक्ने भए म आज यो ठाउँमा हुन्न थिए। मुख्य कुरा आफूमा इच्छाशक्ति र साहस हुनुपर्छ।'