नक्कली प्रहरी बनेर मोटरसाइकल तस्करी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी जवानको नक्कली परिचयपत्र बनाएर चोरीका मोटरसाइकल तस्कर गर्ने दैलेख स्थित चामुण्डा विन्द्रासैनी नगरपालिकाका प्रशान्त शाही पक्राउ परेका हुन्।
सुर्खेतबाट मोटरसाइकल चोरी गरी बाहिरी जिल्लामा पुर्याउने र बाहिरबाट ल्याएर सुर्खेतमा विक्री गर्ने काममा उनी संलग्न रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।
‘प्रहरी जवानको नक्कली परिचयपत्र बनाई मोटरसाइकल चोरेर तस्करी गर्दै आएको खुलेको छ,’ जिल्ला प्रहरी कार्यालयका एसपी दिल्लीराज पन्तले भने, ‘हालसम्म दुईवटा चोरीका मोटरसाइकल बरामद गरेका छौं, अरु सुराक पनि पत्ता लागेको छ।’
एसपी पन्तका अनुसार मंसिर १ गते कर्णाली प्रदेश अस्पतालबाट चोरी भएको २२० सिसीको पल्सर मोटरसाइकल खोज्ने क्रममा शाही पक्राउ परेका थिए।
खानतलास गर्दा शाहीबाट प्रहरी जवानको परिचयपत्र, प्रहरी पोशाकमा खिचेका पासपोर्ट साइजका फोटोहरु भेटिएका छन्। यस घटनामा अरु पनि संलग्न हुन सक्ने आशंका गरिएको छ।
पक्राउ परेका शाहीमाथि चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।