वीरेन्द्रनगरकी कल्पना (नाम परिवर्तन) को १३ वर्षको उमेरमा विवाह भयो। अहिले उनकी छोरी नै १३ वर्षकी भइन्। कल्पना भने श्रीमानदेखि अलग छिन्। श्रीमान् र घरपरिवारबाट हुने हिंसाकै कारण आफू अलग हुनुपरेको उनले बताइन्।
विवाह भएको केही समयपछि उनका श्रीमान् भारत गए। श्रीमान् भारत गएपछि घरपरिवारबाट ‘गरी खान नसक्ने’ भन्ने निहुँमा उनलाई बारम्बार हिंसा हुन थाल्यो। यो अवस्थामा कल्पनाले आफूलाई घरपरिवारसँग असहज महशुस गरेर माइती गइन्।
छोरी जन्मिएको डेढ वर्षपछि भारतबाट फर्किएका उनका श्रीमानले उनलाई घरमा लगे। फेरि पनि घरमा उनीमाथि विभिन्न समयमा हिंसा हुन थाल्यो। ‘भारतबाट श्रीमान् आएपछि घर गयौं, फेरि पनि टर्चर भइरहन थाल्यो,’ उनले भनिन्, ‘पछि श्रीमान् विदेश गए, म माइतीमै बसें।’
घरपरिवारबाट हुने हिंसा सहन नसकेपछि माइतीमा बसेकी उनलाई पछि श्रीमानबाटै हिंसा हुन थाल्यो। ‘विदेश गएपछि पनि उनी अर्कै केटीसँग लागेको थाहा पाएपछि मैले उनको वास्ता गर्न छोडेँ,’ कल्पनाले भनिन्, ‘श्रीमान् अर्कै केटीसँग हिँड्ने गरेपछि बारम्बार सँगै हुने प्रयास गर्दा पनि नसकेपछि अहिले हामी अलग छौं।’
अहिले पनि श्रीमानले आफूलाई बेलाबेला सताउने गरेको उनले बताइन्।
आफूलाई नभेटेर फोन र अरु मानिसमार्फत् आफूलाई विभिन्न आरोप लगाउने, सम्बन्धविच्छेद गर्ने जस्ता धम्की दिने गरेको उनले बताइन्।
यसरी हिंसामा परेकी कल्पनामात्र होइनन्। उनको कथाले घरेलु हिंसाबाट पीडित यस क्षेत्रका हजारौंको प्रतिनिधित्व गरेको छ। कर्णाली प्रदेशमा घरेलु हिंसा अहिले पनि बढ्दो क्रममा छ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो दुई वर्षयता १ कजार ९३० वटा घरेलु हिंसासम्बन्धी मुद्दा प्रहरीमा दर्ता भएका छन्।
तथ्यांक अनुसार आर्थिक वर्ष ०७४/७५ मा ८५५ घरेलु हिंसासम्बन्धी मुद्दा दर्ता भएका छन् भने ०७५/७६ मा ८५८ मुद्दा दर्ता भएका छन्।
चालू आर्थिक वर्षको चार महिनाभित्र मात्र २१७ मुद्दा प्रहरीमा दर्ता भएका छन्।
कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार चालू आर्थिक वर्षमा सुर्खेतबाट ११०, दैलेखबाट १९, जाजरकोटबाट १८, सल्यानबाट ७, रुकुमबाट १४, जुम्लाबाट १९, हुम्लाबाट ४, मुगुबाट २, डोल्पाबाट १ र कालिकोटबाट २३ वटा घरेलु हिंसासम्बन्धी मुद्दाहरू दर्ता भएका छन्।
कर्णाली प्रदेशको सन्दर्भमा मादक पदार्थ सेवन, पारिवारिक बेमेल, गरिबी, चेतनाको कमी जस्ता कारण घरेलु हिंसा हुने गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकनाथ तिमिल्सेनाले बताए।
प्रहरीमा समेत मुद्दा दर्ता हुने क्रम प्रत्येक वर्ष बढ्दो क्रममा रहेको उनले बताए।
प्रहरीमा भएको तथ्यांकलाई हेर्दा आर्थिक वर्ष ०७४/७५ भन्दा ०७५/७६ मा तीन वटा मुद्दा बढी छन्।
औषतमा अघिल्ला आर्थिक वर्षहरूको तुलनामा चालू आर्थिक वर्षको चार महिनामा प्रहरीमा दर्ता भएका मुद्दा बढी हुन्।
न्यायिक समितिमा पनि घरेलु हिंसासम्बन्धी उजुरी बढ्दो क्रममा आउने गरेका छन्।
न्यायिक समितिका संयोजक तथा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालका अनुसार न्यायिक समितिमा आउने उजुरीमध्ये धेरैजसो घरेलु हिंसासम्बन्धी नै छन्।
जन्मदर्ता नगराइदिएको, खानलाउन नदिएको, हेरचाह नगरेको जस्ता विषयमा घरेलु हिंसासँग सम्बन्धित मुद्दा आउने गरेको ढकालले जानकारी दिइन्।
गरिबी, बालविवाह जस्ता कारण घरेलु हिंसा हुने गरेको उनले बताइन्।
विभिन्न क्षेत्रमा हुने हिंसा अन्त्यका लागि कानुन कार्यान्वयन गर्न सबै सरोकारवाला निष्पक्ष रूपमा लाग्नुपर्ने कर्णाली प्रदेश सभा सदस्य कृष्णा शाह बताउँछिन्।
‘हिंसा हुन नदिन र अन्त्य गर्नका लागि नियम, कानुनहरू बनेका छन्,’ उनले भनिन्, ‘यी कानुनहरू कार्यान्वयनका लागि सबै निष्पक्ष भएर लागेमा र हिंसा खेप्न बाध्य नागरिकमा आत्मबल बढेमा हिंसा अन्त्य हुन्छ।’
महिलाहरूमा आत्मबल कमजोर हुँदा पनि हिंसा खेप्न बाध्य हुने गरेको महिला अधिकारकर्मी मधुरानी ढकालको भनाइ छ।
उनले सामाजिक परम्पराका कारण पनि महिलाहरू हिंसामा पर्ने गरेको उनी बताउँछिन्।
‘अहिले पनि देउताले राम्रो मान्दैनन् भनेर महिलाहरूलाई सुत्केरी हुन हस्पिटल लिइँदैन, यो सामाजिक परम्पराका कारण हुने हिंसा हो,’ ढकालले भनिन्।