झट्ट हेर्दा एटिएम मेसिन जस्तो देखिन्छ। मेसिनको बीच भागमा डिस्प्ले बोर्ड छ। त्यही बोर्डमा आएर पाइलटले आफ्नो आइडी नम्बर लग इन गर्छन्।
त्यसपछि मेसिनको दाँया भागमा रहेको फिंगर प्रिन्ट चिन्हमा पाइलटले औंला दाबेपछि नाम लगायत विवरण डिस्प्ले बोर्डमा आउँछ। लगत्तै पाइलटले सानो प्लास्टिकको पाइप मुखमा च्यापेर ‘ब्लो हियर’ लेखेको प्वालमा कम्तिमा तीन सेकेन्ड फुक्नुपर्छ।
फुकेपछि मेसिनले नतिजा रिड गर्न थाल्छ। केहीबेरमा अल्कोहल लेभल सहितको सम्पूर्ण विवरण डिस्प्ले बोर्डमा देखा पर्छ। अल्कोहल लेभल शून्य प्रतिशत हुनुपर्छ। त्योभन्दा बढी आए मापसे गरेको मानिन्छ।
डिस्प्ले बोर्डमा आएको नतिजालाई तत्काल प्रिन्ट गर्न मिल्छ। साथै त्यहाँ भएको सम्पूर्ण गतिविधिलाई रेकर्ड गर्न मेसिनको बाँया भागमा सानो क्यामेरा जडान गरिएको छ।
यसरी नै पाइलट लगायत परिचारिकाहरुको मादक पदार्थ सेवन (मापसे) जाँच हुन्छ। मापसे गरिएको पाइएमा ‘नेपाल एयरलाइन्स ब्रेथलाइजर पोलिसी’ अनुरुप कारवाही हुने एयरलाइन्सका फ्लाइट अपरेसन निर्देशक दीपराज ज्वारचनले बताए।
‘पहिलो मापसेमा ३ महिना अफ, दोस्रो मापसेमा ६ महिना विना तलब अफ र तेस्रो मापसेमा कामबाटै बर्खास्तीको नीति छ,’ ज्वारचनले भने।
तर पहिलो जाँचमा मापसे गरिएको भेटिए पाइलटले पुन अर्कोपटक जाँच गर्ने मौका पाउँछ। दोस्रो जाँचमा पनि फेल भए एयरलाइन्सले नागरिक उड्ययन् प्राधिकरणलाई कारवाहीको लागि सिफारिस गर्छ।
‘काठमाडौंबाट छुट्ने र बाहिरबाट फर्किने विमानका चालकसहित सबै सदस्यले मापसे जाँच गर्नुपर्छ,’ ज्वारचनले भने।नेपाल एयरलाइन्सले आफ्नो विमान चालकसहित अन्य सदस्यको मापसे जाँच सुरु गरेको डेढ वर्ष मात्र भयो।
त्यसअघि एयरलाइन्समा मापसे जाँच गर्ने कुनै नियम थिएन। निजी एयरलाइन्सहरुले पनि आफ्नो विमान चालकसहित अन्य सदस्यहरुको मापसे जाँच गर्दै आएका छन्।
नेपाल एयरलाइन्सले प्रयोग गरेको पुरानो ब्रेथलाइजरलाई कतिपय चालकले विश्वास नगरेको ज्वारचनले बताए। ‘कतिपय क्रु सदस्यहरुले यसको भ्यालिडेसन, यसले सही रिडिङ दिइरहेको छ भन्ने आधार के भनेर कुरा राखेपछि अप्ठ्यारो पर्यो,’ ज्वारचनले भने।
डेढ महिना अघि मात्र नेपाल एयरलाइन्सले भारतबाट ४ लाख खर्च गरेर एटिएम जस्तो देखिने ब्रेथलाइजर मेसिन ल्याएको हो। सो मेसिन भारतको ‘इन्डियन रेलवे’ ले पनि प्रयोग गरेको ज्वारचनले जानकारी दिए।
नयाँ ब्रेथलाइजर मेसिनबाट औंपचारिक रुपमा मापसे जाँच मंसिर तेस्रो हप्ताबाट सुरु गर्ने एयरलाइन्सको तयारी छ।